बागलुङ । विकास निर्माणका काममा हुने ढिलासुस्तीका उदाहरणबीच बागलुङ नगरपालिका–६ लहरेपिपलमा निर्माणाधीन स्वास्थ्य चौकी भवन भने निर्धारित समयभन्दा करिब तीन महिना अगावै सम्पन्न भएको छ।
उपभोक्ता समितिको सक्रियता, स्थानीयको श्रमदान र जग्गा दानका कारण ८१ दिनमै भवन निर्माण सम्पन्न भएको हो।
संघीय सरकारको ७४ लाख रुपैयाँ बजेट तथा स्थानीयवासीको करिब ५ लाख रुपैयाँ बराबरको श्रमदानबाट निर्माण गरिएको स्वास्थ्य चौकी भवनको शुक्रबार बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो।
अपाङ्गमैत्री एकतले सात कोठे भवनमा ओपीडी, आकस्मिक उपचार कक्ष, परिवार नियोजन तथा मातृ–शिशु सेवा कक्ष, स्वास्थ्यकर्मी कक्ष, भान्साकोठा, अपाङ्गमैत्री शौचालय तथा सुरक्षित खानेपानीको व्यवस्था गरिएको छ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले ८१ दिनमै भवन निर्माण सम्पन्न हुनु अनुकरणीय उपलब्धि भएको बताउँदै नागरिकको स्वास्थ्यसँग जोडिएका पूर्वाधारलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।
स्वास्थ्य चौकी प्रमुख विष्णुनाथ सापकोटाले पुरानो जीर्ण भवनका कारण सेवा प्रवाहमा समस्या हुँदै आएको उल्लेख गर्दै नयाँ भवन सञ्चालनमा आएपछि स्वास्थ्य सेवा थप सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
भवन निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर कार्कीका अनुसार संघीय सरकारको ७४ लाख रुपैयाँबाहेक स्थानीयवासीले करिब ५ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन्।
स्थानीयको सक्रिय सहभागिताकै कारण छोटो अवधिमा भवन निर्माण सम्पन्न गर्न सम्भव भएको उहाँले बताउनुभयो।
स्वास्थ्य चौकीका लागि स्थानीयवासीले दुई रोपनीभन्दा बढी जग्गा निःशुल्क दान गरेका थिए। वडा अध्यक्ष रुद्रबहादुर केसीले समयमै निर्माण सम्पन्न गर्ने उपभोक्ता समिति, जग्गादाता तथा सहयोगीलाई सम्मान गरिएको जानकारी दिँदै मुख्य सडकदेखि स्वास्थ्य चौकीसम्म एम्बुलेन्स र अन्य सवारी साधन सहजै पुग्ने गरी सडक ढलान गर्ने योजना रहेको बताउनुभयो।
स्वर्गीय नरबहादुर कार्कीको स्मृतिमा उहाँकी पत्नी हिमा कार्की, छोरा–बुहारी नन्दबहादुर र पवित्रा कार्कीले जग्गा दान गर्नुभएको हो।
त्यस्तै अर्का स्वर्गीय नरबहादुर कार्कीको स्मृतिमा पत्नी कुमारी कार्की, छोरा–बुहारी रमेश र देवी कार्की तथा छोरी सरस्वती कार्कीले जग्गा उपलब्ध गराउनुभएको छ। स्वर्गीय पहलमान कार्कीको स्मृतिमा पत्नी लिलामती कार्की र छोरी कोपिला कार्की तथा स्वर्गीय गोविन्द कार्कीको स्मृतिमा आमा विष्णु कार्की र भाइहरू ठगबहादुर र प्रताप कार्कीले पनि स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दान गर्नुभएको हो।













































































































































































































