२१ असार २०८३, आईतवार

 

लायन्स क्लबद्वारा मधुमेह सचेतना कार्यक्रम, ८१ जना लाभान्वित

बागलुङ । अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ बागलुङ सिटी र लायन्स क्लब अफ बागलुङ युनियनको संयुक्त आयोजनामा मधुमेह (डायबिटिज) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के (एमडी ३२५०) नेपालको साप्ताहिक कार्यक्रमअन्तर्गत सोमबार बागलुङस्थित कालिका भगवती मन्दिर परिसरमा आयोजित ‘डायबिटिज अवेयरनेस’ कार्यक्रममा मधुमेह रोगका कारण, लक्षण, रोकथामका उपाय, स्वस्थ जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षणको महत्वबारे जानकारी प्रदान गरिएको हो।

लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष सन्ध्या राजभण्डारीले पछिल्लो समय मधुमेहका बिरामीको संख्या बढ्दै गइरहेको अवस्थामा यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले मधुमेह रोगको जोखिम, यसको असर तथा समयमै परीक्षण र उपचारको आवश्यकताबारे जानकारी दिँदै सचेतनामूलक कार्यक्रमले नागरिकमा स्वास्थ्यप्रति जिम्मेवारीबोध बढाउन सहयोग पुग्ने बताए।

कार्यक्रममार्फत समुदायमा मधुमेहप्रति जनचेतना अभिवृद्धि गर्दै समयमै परीक्षण र उपचारका लागि नागरिकलाई प्रेरित गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

कालिका भगवती मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी तथा सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा ८१ जनाको रक्तमा चिनी (सुगर) र रक्तचाप (ब्लड प्रेसर) परीक्षण गरिएको थियो।

साथै सहभागीलाई मधुमेह रोगबाट बच्ने उपाय र स्वस्थ जीवनशैली अपनाउने विषयमा जानकारीसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी भई स्वास्थ्यसम्बन्धी उपयोगी जानकारी लिने स्थानीयवासीप्रति आयोजक संस्थाहरूले धन्यवाद व्यक्त गरेका छन्।

लायन्स क्लबहरूले सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्।

लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष सन्ध्या राजभण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ केका एक्जुकेटिभ डाइरेक्टर दुर्गा कुँवरले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन लायन नारायण आचार्यले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung