बागलुङ । बागलुङ नगरपालिका क्षेत्रका बालबालिका तथा किशोरकिशोरीमा कुपोषण र रक्तअल्पताको समस्या देखिएको छ।
नगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य तथा पोषण कार्यक्रममार्फत गरिएको परीक्षणमा उल्लेख्य संख्यामा विद्यार्थीमा रक्तअल्पता र बालबालिकामा कुपोषण भेटिएको हो।
नगरपालिकाले विभिन्न विद्यालयका ६ हजार १९२ जना किशोरकिशोरीको हेमोग्लोबिन परीक्षण गर्दा ४ हजार ८३० जनाको अवस्था सामान्य रहेको पाइएको छ। परीक्षणमा १ हजार ३३४ जनामा मध्यम रक्तअल्पता र २८ जनामा गम्भीर रक्तअल्पता देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ।
नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालका अनुसार मध्यम तथा गम्भीर रक्तअल्पता भएका विद्यार्थीलाई आइरन–फोलिक एसिड ट्याब्लेट वितरण, पोषणसम्बन्धी परामर्श, स्वास्थ्य शिक्षा, आवश्यक रेफरल तथा नियमित फलोअपको व्यवस्था गरिएको छ।
त्यस्तै, नगरपालिकामा २ हजार २२० जना बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गर्दा १० जनामा गम्भीर सिघ्र कुपोषण र ५१ जनामा मध्यम सिघ्र कुपोषण भेटिएको छ। कुपोषित बालबालिकालाई आवश्यक उपचार, पोषण परामर्श, रेफरल तथा नियमित अनुगमनको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।
सोमबार बागलुङमा आयोजित ‘स्वस्थ र सुखी परिवार’ विषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत ९ वटा विद्यालयका १ हजार ३४५ जना विद्यार्थीको आँखा परीक्षण तथा ८ वटा विद्यालयका १ हजार ४७ जना विद्यार्थीको दन्त परीक्षण, उपचार, स्वास्थ्य परामर्श र आवश्यक रेफरल सेवा प्रदान गरिएको जानकारी दिएको छ।
महिला स्वास्थ्यतर्फ नगरपालिकाले विभिन्न स्थानमा सञ्चालन गरेका प्रजनन स्वास्थ्य शिविरबाट सयौं महिलाले सेवा लिएका छन्। शिविरमा पाठेघर खस्ने समस्या, पाठेघरको मुखसम्बन्धी रोगलगायत विभिन्न स्वास्थ्य समस्याको परीक्षण, उपचार, स्वास्थ्य शिक्षा तथा परामर्श प्रदान गरिएको जनाइएको छ।
यस्तै, सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रमअन्तर्गत २५० जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य शाखाले जनाएको छ।














































































































































































































