बागलुङ । धौलागिरि अस्पतालले ४० लाख रुपैयाँ खर्चेर डायलाइसिस सेवा विस्तार गरेपछि मिर्गौला रोगीलाई राहत मिल्ने भएको छ।
अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याउँदै सेवा क्षमता विस्तार गरेको हो।
यसअघि ६ वटा उपकरणमार्फत ६१ जना मिर्गौला रोगीलाई सेवा दिँदै आएको अस्पतालले थप चार उपकरण सञ्चालनमा ल्याएपछि अब ७१ जनालाई नियमित डायलाइसिस सेवा दिन सक्ने भएको छ। सेवा विस्तारसँगै अस्पतालमा डायलाइसिस उपकरणको संख्या १२ पुगेको छ।
मिर्गौला रोगीको चाप बढ्दै गएपछि डायलाइसिस सेवाको क्षमता विस्तार गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.किरण तिवारीले जानकारी दिनुभयो।
डायलाइसिसका लागि पालो कुर्ने बिरामीको संख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा भवनको क्षमता विस्तार गरी सेवा थप गरिएको डायलाइसिस शाखाप्रमुख तथा वरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले बताउनुभयो।

उहाँका अनुसार सरुवा रोग भएका मिर्गौला रोगीका लागि छुट्टै शय्याको समेत व्यवस्था गरिएको छ। यसअघि छुट्टै शय्या नहुँदा अन्य बिरामीमा समेत संक्रमण फैलिन सक्ने जोखिम रहेको थियो।
मिर्गौलाले काम गर्न छाडेका बिरामीले स्वास्थ्य अवस्थाअनुसार सातामा दुईदेखि तीन पटकसम्म डायलाइसिस गर्नुपर्ने हिताङले बताउनुभयो।
सेवा लिन आउने बिरामीको संख्या बढ्दै गएपछि क्षमता विस्तार चुनौतीपूर्ण बनेको भए पनि अस्पतालको अर्को भवनमा सेवा स्थानान्तरण गरी पाँच महिनाको अवधिमा भवन विस्तारको काम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो।
डायलाइसिस सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको २० लाख रुपैयाँ र अस्पताल व्यवस्थापन समितिको २० लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिनुभयो।
उक्त रकमबाट भवनमा एक तला थप गर्नुका साथै आवश्यक चार वटा डायलाइसिस उपकरण खरिद गरिएको हो। प्रदेश सरकारबाट प्राप्त बजेट भवन तथा पूर्वाधार निर्माणमा र अस्पताल व्यवस्थापन समितिको बजेट उपकरण खरिदमा खर्च गरिएको शर्माले बताउनुभयो।
सेवा विस्तारपछि बागलुङसहित आसपासका जिल्लाका मिर्गौला रोगीलाई नियमित डायलाइसिसका लागि पोखरा र काठमाडौं जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

















































































































































































