बागलुङ । बागलुङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेपछि शनिबार आयोजित जिल्ला स्तरीय समारोहमा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले बागलुङलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन्।
घोषणा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सबै नागरिकलाई स्वस्थ राख्न नियमित रूपमा खोप कार्यक्रम सञ्चालन गरी यसको दिगोपना कायम राख्नुपर्नेमा जोड दिए। उनले अभियान सफल बनाउन योगदान पुर्याएका स्थानीय तहका प्रमुख, स्वास्थ्य शाखाका प्रमुख तथा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसमेत गरे।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्मा का अनुसार जन्मेदेखि १५ महिनाभित्रका ३ हजार २ सय ७८ जना र १६ महिनादेखि पाँच वर्ष उमेर समूहका १० हजार ९ सय ७९ जना गरी कुल १४ हजार २ सय ५७ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोप प्राप्त गरेका छन्। सोही उपलब्धिका आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको हो।
तथ्याङ्कअनुसार यस वर्ष सबैभन्दा धेरै बालबालिकाले ढोरपाटन नगरपालिकामा खोप लगाएका छन्। त्यहाँ १५ महिनाभित्रका ६ सय २२ जना र १६ महिनादेखि ५९ महिनासम्मका २ हजार १६ जना गरी २ हजार ६ सय ३८ जना बालबालिकाले खोप लगाएका छन्। सबैभन्दा कम ताराखोला गाउँपालिका मा ४५ जना बालबालिकाले खोप लगाएका छन्।
गण्डकी प्रदेशका स्वास्थ्य सचिव युवानीधि बसौला ले हालै जैमिनी नगरपालिका बालमैत्री नगरपालिका र बडिगाड गाउँपालिका पोषणमैत्री गाउँपालिका घोषणा भएकाले स्थानीय तहमा बालस्वास्थ्य र नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बताए।
खोप कार्यक्रमलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधि वडा–वडामा पुगेर अभियान सञ्चालन गरेका थिए। कार्यालय प्रमुख शर्माले समयमै खोप लगाउने अभियान प्रभावकारी बन्दा सरुवा रोगको जोखिम उल्लेखनीय रूपमा घटेको, बालस्वास्थ्यमा सुधार आएको तथा राज्यको ठूलो आर्थिक लगानीसमेत सुरक्षित भएको बताए।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष अमर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, बडिगाड गाउँपालिका की अध्यक्ष गण्डकी थापा, बागलुङ नगरपालिका का प्रमुख बसन्तकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन जनस्वास्थ्य कार्यालयका क्षयरोग तथा कुष्ठरोग निरीक्षक देवप्रकाश घिमिरेले गरेका थिए।
नेपाल सरकारले २०३४ सालमै बिफर रोग उन्मूलन गरेपछि खोप कार्यक्रमलाई निरन्तर विस्तार गर्दै आएको छ। खोप अभियानकै कारण बालमृत्युदरमा कमी आएको, मातृ तथा नवशिशु धनुष्टंकार उन्मूलन, पोलियो रोग शून्यमा झार्ने, रुबेला तथा जन्मजात रुबेला सिन्ड्रोम नियन्त्रण गर्ने जस्ता महत्वपूर्ण उपलब्धि हासिल भएका छन्।
हाल दादुरा निवारण अभियान सञ्चालन भइरहेको छ भने हेपाटाइटिस ‘बी’ र महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोपसमेत नियमित रूपमा सञ्चालन हुँदै आएको छ।













































































































































































































