२६ बैशाख २०८१, बुधबार

 

गण्डकी प्रदेशका ८५ स्थानीय तहमा फोर जी सेवा

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका सह–प्रवक्ता रञ्जित लौहियाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेशका ८५ वटा स्थानीय तहमा ५०३ वटा फोरजीका टावर राखिएको जानकारी दिए । उनले सेवा विस्तारको क्रममा कतिपय स्थानमा नेटवर्क समस्या देखिएको गुनासो आएको जनाउँदै त्यसको पहिचान गरेर समाधान गरिने बताए ।

‘हामी सहज र प्रभावकारी रुपबाट सेवा विस्तारमा जुटेका छौं, प्रदेशका ४८ वटा ठाउँमा नेटवर्क नपुगेको पहिचान भएको छ, ती ठाउँमा चाँडै टावर राख्ने योजनामा छौ’ उनले भने ।

उनले बागलुङलगायत केही जिल्लामा पूर्ण फाइबर सेवा विस्तार भइरहेको जनाए ।
उनका अनुसार टेलिकम फाइबर टु दि होम सर्भिसका लागि ११ लाख ७४ हजार सीम तयारी अवस्थामा रहेको छ । तीमध्ये पाँच लाख ६४ हजार वितरण गर्न योग्य रहेको र एक लाख ८३ हजार वितरण गरिसकेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमले नाफा मात्र नहेरी सेवामुखी काम गरेको बताए । उनले मनाङको बाढीपहिरामा हेलिकप्टरबाट सामान लगेर पनि सेवा सुचारु गरिएको तथा राज्य र नागरिकप्रति उत्तरदायी बन्दै प्रभावकारी सेवामा जोड दिएको बताए । उनले सेवाग्राहीका गुनासोलाई सम्बोधन गर्दै आगामी दिनमा अझै प्रभावकारी सेवा दिने प्रतिबद्धता व्यक्त गरे । विद्यार्थीको अनलाईन कक्षाका लागि पनि सर्वसुलभ प्याकेज तयार गरेको उनको भनाइ छ ।

नेपाल टेलिकमले पछिल्लो पटक ‘नमस्ते–पे’ सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमको ६२ प्रतिशत र नेपाल राष्ट्रबैंकको ३८ प्रतिशत लगानीमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर डिजिटल पे ‘नेपाल–पे’ सञ्चालनमा आएको सहप्रवक्ता लौहियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्