२६ बैशाख २०८१, बुधबार

 

मुस्ताङका बस्ती–बस्तीमा माेबाइल र इन्टरनेट, सेवा थप बढाउँदै टेलिकम

नेपाल टेलिकमले हिमाली जिल्ला मुस्ताङमा पनि आफ्नो सेवा विस्तार तीव्र पारेको छ । यसबाट स्थानीय बासिन्दादेखि पर्यटकसम्मले सहज महसुस गरेका छन् ।

समुद्री सतहदेखि २८००–४६०० मिटर उचाइको बीचमा रहेको हिमालपारिको जिल्ला सञ्चारकै कारणले पनि थप सुगम बन्दै छ । नेपाल टेलिकमले स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर भ्वाइस तथा डाटा सर्भिस उपलब्ध गराएको छ ।

वि.सं. २०६०–०६१ तिर टेलिकमले जिल्लाका केही स्थानमा भी–स्याट प्रविधिको टुजी मोबाइल सेवा पुर्‍याएको थियो । उक्त प्रविधिमार्फत सीमित मानिसले भ्वाइस सेवा उपयोग गर्न पाएका थिए ।

सीमित कल सुविधा रहेको उक्त सेवालाई टेलिकमले वि। सं। २०७४–०७५ साल देखि विस्थापन गरी अहिले जिल्लाका अधिकांश भूभागमा माइक्रोवेब रेडियो लिङ्कमार्फत अत्याधुनिक प्रविधिको सेवा प्रवाह गरिरहेको नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर तथा बागलुङका कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।

‘भौगोलिक विकटता, सडकको पहुँच नहुँदानहुँदै निकै मेहनत र परिश्रमका साथ अग्ला डाँडाहरूमा रिपिटर टावर, रेडियो लिङ्क निर्माण गरी प्राविधिक हिसाबले उपयुक्त स्थानमा बीटीएस टावर स्थापना गरेर सेवा दिइरहेका छौं,’उनले भने, ‘सुरुमा हामीले टुजी सेवामार्फत भ्वाइस सेवा उपलब्ध गराएका थियौं । अहिले क्रमशः बीटीएस टावरमार्फत पहिला उच्च गतिको डाटा सर्भिस थ्रिजी र त्यसपछि फोरजी मार्फत उच्च गतिको इन्टरनेट र भ्वाइस सेवा उपलब्ध गराएका छौं ।’

रिपिटर टावर र बीटीएस टावर निर्माणका सुरुवाती दिनमा डाँडाहरूमा विद्युत् सेवा पुगेको थिएन । त्यति बेलैदेखि अधिकांश टावर सोलार सेटमार्फत सञ्चालनमा रहेको नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।

सडकदेखि ३–४ घण्टाको उकालो बाटोमा मानिस, घोडा, खच्चडमार्फत टेलिकमले उपकरणहरू पुर्‍याएको थियो ।

स्थानीय जनप्रतिनिधि, समाजसेवी र स्थानीयले निकै उत्साहजनक सहभागिता जनाउँदै टेलिकमलाई सेवा सञ्चालनमा निरन्तर सहयोग गर्दै आइरहेको लोघेकेर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए ।

‘मुस्ताङमा मध्याह्नदेखि निकै हावा चल्ने गर्दछ । अग्ला स्थान, डाँडाकाँडामा हावा चल्दा टावरमा चढेर काम गर्न निकै कठिन हुने गरे पनि टेलिकमले निरन्तर सेवा प्रदान गरेकोमा हामी खुसी छौं,’ उनले भने । त्यहाँ चल्ने तेज हावाहुरीले कहिलेकाहीँ विभिन्न टावरमा रहेका रेडियो लिङ्क, एन्टेना र सोलार सेटहरू उडाइदिने गरेको छ ।

यद्यपि टेलिकमले टावरहरूमा बलियो संरचना निर्माण गरी सेवाप्रवाहलाई निरन्तरता भने दिइरहेको छ । टेलिकमले स्थानीय तहसँगको समन्वय र सहकार्यमा अहिले सम्भव हुने रिपिटर र बीटीएस टावरमा केन्द्रीय विद्युत लाइन विस्तार कार्यलाई तीव्रतासाथ अगाडि बढाएको छ ।

धौलागिरिका अन्य जिल्लाको तुलनामा मुस्ताङमा जनसंख्या निकै न्यून छ । सदरमुकाम जोमसोम बजारमा जनघनत्व अलि बढी रहे पनि अन्य गाउँपालिकामा बस्ती निकै पातलो छ । हिमालपारिको जिल्लामा टेलिकमको भ्वाइस र उच्च गतिको इन्टरनेट डाटा सर्भिस उपयोग गर्न पाउँदा गाउँले हर्षित भएको लोघेकर दामोदरकुण्ड गाउँकार्यपालिका सदस्य धम्जुघुटी गुरुङले बताइन् ।

आर्थिक रूपले भन्दा पनि यहाँका नागरिकलाई राज्य र टेलिकमको सञ्चार सेवा उपलब्ध गराउने लक्ष्यअनुरूप गृहकार्य भइरहेको टेलिकमले जनाएको छ । टेलिकमले म्याग्दी सदरमुकाम बेनी बजारदेखि मुस्ताङको जोसमसोम हुँदै प्रसिद्व धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ मन्दिरसम्म फाइबर लाइनसमेत बिछ्याएको छ ।

अहिले चिबाङ, छेयरो, मार्फा, स्याङ, जोमसोम बजार, ठिमी, कैस्याङ क्याम्प, ढाल्के, कागबेनी, खिंगा, झारकोट, रानीपौवा बजार र मुक्तिनाथ मन्दिरमा फाइबर टु द होममार्फत उच्च गतिको इन्टरनेट सेवा लगिएको छ । फाइबर तारमार्फत सेवा प्रवाह हुँदा टेलिकमको नमस्ते मोबाइलमा गुणस्तरीय भ्वाइस र डाटा सर्भिस उपलब्ध हुने गरेको छ ।

बेलाबेला पोखरा–बागलुङ, बागलुङ–बेनी र बेनी–जोमसोम खण्डमा सडक निर्माणका क्रममा र बाढीपहिरो आउँदा फाइबर चुँडिएर सेवा अवरुद्व हुने समस्या भने छ । टेलिकमले फाइबरमा समस्या नआओस् भनेर प्राविधिक टोलीलाई ‘स्ट्यान्ड बाई’ राख्ने गरिएको जनाएको छ ।

फाइबरमा समस्या आउँदाको बखत आफ्नो सेवालाई पूर्ण रूपमा बन्द हुन नदिन जीएसएम सेवाको भ्वाइस सर्भिस मात्र वैकल्पिक रेडियो लिङ्कमार्फत सेवा दिने गरिएको छ । बागलुङदेखि पोखरासम्मको रेडियो लिङ्क स्तरोन्नत गर्नका लागि गृहकार्य भइरहेको टेलिकमले जानकारी दिएको छ । भौगोलिक विकटता, न्यून स्रोतसाधनलाई उपयोग गर्दै जतिसक्दो छिटो सेवा दिन आफूहरू निरन्तर लागिपरेको टेलिकमले जनाएको छ ।

मुस्ताङमा हिउँदमा भारी हिमपात हुने भएकाले यसै कारण टेलिकमको सेवा अवरुद्ध हुन नदिन टेलिकमले रिपिटर टावर रेखदेख तथा मर्मत एवं हिउँ सफा गर्न कामदारसमेत खटाएको छ ।

टेलिकमले अहिले जिल्लाको घासा, मार्फा, जोमसोम बजार, कागबेनी, स्याङ्बोचे, घमी, चराङ लोमानथाङ हुँदै सीमानाका कोरालानजिकको छोसेर डाँडामा २५ मिटर अग्लो बीटीएस टावर र पक्की संरचना निर्माण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्