१५ बैशाख २०८१, शनिबार

 

बागलुङमा पर्यटनको सम्भावना र अवसर

पर्यटनको परिचय- अतीतदेखि वर्तमानसम्म मानिस आफ्नो आवश्यकता, राम्रो मौसम र आहारा भएको स्थानको खोज, बहुमुल्य बस्तुहरुको खोजी, शिक्षा, उपचार, विवाह, अनुसन्धान, व्यापार, तीर्थस्थल, राज्य विस्तार, साम्राज्य विस्तार र राजनीतिक परिवर्तनको लागि यात्रा (Travel) मा निस्केको पाइन्छ ।

अतीतमा मानिसहरुले उपयुक्त वासस्थान र खानाको लागि हिँडेर यात्रा गरे, त्यसपछि जनावर, डुँगा, बग्गी, रेल, हवाईजहाज, मोटरसाइकल, मोटरगाडी र रकेटद्वारा मानिसहरु पृथ्वीभित्र र ब्रह्माण्डमा विभिन्न खाले यात्रामा निस्के ।

कम्प्यूटर, मोवाइल र इन्टरनेटले विश्वलाई एउटा गाउँमा परिणत गरिदियो र हाम्रो उत्पत्तिदेखिको यात्रा अझ सहज बनाइदियो । त्यो यात्रा आज पनि जारी छ ।

१४ अर्ब वर्षअगाडि ब्रह्माण्डको उत्पत्ति भएको मानिन्छ । ४ अर्ब ६० करोड वर्षअघि पृथ्वी अस्तित्वमा आएको भनाइ छ । यी कुरालाई आधार मान्दा आजभन्दा १ अर्ब ५० करोड वर्ष अघि ब्याक्टेरियाको जन्म भयो । यसैगरी १ करोड ९३ वर्षअगाडि एक कोषीय जीवको जन्म भयो ।

त्यसैगरी १ करोड ३२ लाख वर्षअगाडि होमोनिज मानवको अस्तित्व देखा प¥यो । हामी मान्छे झण्डै १ करोड ३२ लाख वर्षदेखि यात्रामा छौं । मानवीय स्वभाव (Human nature) साह्रै अनौठो छ ।
ऊ आफ्नो कल्पना र सपनाको प्यास मेटाउन विभिन्न प्रकृतिको पर्यटकीय भ्रमणमा निस्कने गर्दछ, जुन क्षेत्रलाई पर्यटन क्षेत्र र त्यससम्बन्धी आर्थिक क्रियाकलापलाई पर्यटन उद्योग भन्ने गर्छाैं, आज हामी ।
सुरुमा यात्रा मानिसको दैनिक आवश्यकता थियो होला । सभ्यताको विकाससँगै मानवीय आवश्यकता बढ्न थाल्यो । १८ र १९ औं शताब्दीदेखि मान्छेहरु बिदा मनाउन, मनोरञ्जन गर्न, दृश्यावलोकन गर्न, भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र वैज्ञानिक खोजको लागि पनि व्यापक रुपमा यात्रा अनिवार्य भयो ।
सन् १८६० को दशकमा बेलायतमा थोमस कुक (Thomas Cook) ले Travel agent को काम शुरु गरे, जसले यसलाई व्यवसायकै रुप प्रदान गरेपछि अमेरिका र युरोपमा व्यापक रुपमा फैलियो ।
त्यसैबेलादेखि बस, हवाई टिकट र होटलहरुको Booking हुन थाल्यो । द्रुतगतिमा उड्ने हवाईजहाजको विकासँगसँगै एकजना मान्छे सबै चीज Bookingगरेर लण्डनमा ब्रेकफास्ट लिएर, न्यूयोर्कमा लञ्च खाएर, डिनरको लागि टोकियो पुग्न सक्ने वातावरण बनेको छ ।
(A man can have breakfast in London, Lunch in New York and dinner in Tokyo.) यात्राको बहुआयामिक विकासले यात्रालाई पर्यटन व्यवसायको रुपमा विकास ग¥यो, जुन धुवाँरहित उद्योग पनि हो ।
यसले बेरोजगारी समस्या हल गर्न मद्दत मात्र गरेको छैन, स्थानीय उत्पादन, हस्तकला उद्योग र घरेलु उद्योगलाई पनि विस्तार गर्न मद्दत गरेको छ ।
(क) पर्यटनको अन्तर्राष्ट्रिय पक्ष
मुद्राको विकासपछि मान्छेहरुको यात्रामा आश्चर्यजनक रुपले विकास भयो । विशेष गरेर प्राचीन बेविलोन वा इजिप्टमा तत्कालीन राजा सुत्गीले इजिप्टमा बाटो चौडा, बगैचा र आरामगृह बनाएको वाइवलमा समेत उल्लेख छ ।
त्यसपछि विशेष गरी ग्रीकहरुले व्यापारिक उद्देश्यले स–साना डुंगाहरुको सहायताले यात्रा गर्न थाले । होमरको ओडिसी (Homer’s Odyssey) का लागि आधार मान्ने हो भने ठूलो पानीजहाजको मद्दतले फोनिसियनहरु पहिलो यात्रु भए ।
फोनिसिया, इजिप्ट, ग्रीसलगायतका देशहरु बाहिरी संसारसँग परिचित भए । थेल्स, पेथागोरस र प्लेटोले इजिप्टको भ्रमण गरे । मानिस चीनदेखि मध्यपूर्वसम्म व्यापारिक सिलसिलामा यात्रामा निस्कन थाले ।
क्राइष्ट जन्मेको बेला चीन, भारत र जापानसम्म मानिसहरु आउन थाले । मध्यपूर्वबाट अफगानिस्तान हुँदै आर्यहरु व्यापार, बसोवास र राज्य विस्तारका लागि सिन्धुघाटीमा आएर बस्न थाले ।
यात्रालाई आधुनिकीकरण र चर्चित बनाउने काम मार्काेपोलो (Marcopolo) र अलेक्जेन्डर (Alexander the Great) ले गरे । पुर्नजागरण काल (Renaissance) औद्योगिक र सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिले पर्यटनलाई कायापलट ग¥यो ।
विश्व पर्यटन संगठन (WTO) का अनुसार सन् २००४ मा अन्तर्राष्ट्रिय पर्यटन आगमन ७६ करोड ६० लाख रहेकोमा सो सङ्ख्यामा ५.६ प्रतिशतले बृद्धि भएर पर्यटन आगमन सन् २००५ मा ८० करोड पुग्यो ।
विगत ६० वर्षदेखि विश्वमा सबैभन्दा द्रुतगतिमा वृद्धि भएको उद्योग पर्यटन उद्योग हो । सन् २०१० मा अन्तर्राष्ट्रिय पर्यटन आगमन ९८ करोड पुगेको छ, जसले गर्दा यस उद्योगबाट विश्व पर्यटन बजारले ९१९ विलियन डलरको आर्थिक आर्जन गर्न सफल भएको छ ।
(ख) पर्यटनको राष्ट्रिय पक्ष
नेपाल भाषिक, सांस्कृतिक र प्राकृतिक विविधता भएको मुलुक हो । पर्यटकहरुलाई हाम्रो देशको हिमाल, पहाड र तराईलगायतको भौगोलिक स्वरुप, प्राकृतिक विविधता, धार्मिक सांस्कृतिक चालचलन, प्रगाढ सामाजिक सम्बन्ध आदिले आकर्षित गर्दछ ।
प्रचुर पर्यटकीय सम्भावना बोकेको हाम्रो देशमा हिमाल आरोहण पदयात्रा चराचुरुङगी हेर्ने चट्टानोरोहण जलयात्रा , बञ्जी खेल प्याराग्लाइडिङ साइकल यात्रा जंगल यात्रा धार्मिक पर्यटन, सांस्कृतिक विविधता र रहनसहन आदि प्रचलनमा रहेका छन् ।
नेपालको भूगोल, भाषा, धर्म, संस्कृति, प्राकृतिक र सांस्कृतिक विविधता नेपालको पर्यटन विकासका मुख्य श्रोत हुन् । प्राचीन नेपालको इतिहास पल्टाउने हो भने गोपालवंशी, महिषपाल, किराँत र लिच्छवीहरुले विभिन्न कालखण्डमा नेपालमा शासन गरे ।
यसै समय गौतम बुद्धले आफ्नो ज्ञानको प्रचार गरेको, सम्राट अशोक नेपाल आएको उल्लेख छ । मध्यकालसम्म नेपालको कला र संस्कृतिको विकास उल्लेखनीय रह्यो ।
नेवार मल्लहरुले उपत्यकामा राज्य चलाउँदा कर्णाली क्षेत्रमा २२ राज्य, गण्डक क्षेत्रमा २४ राज्य र पूर्वी तराईमा सेन राज्य थियो । यही समय गोर्खा राज्यको विस्तार भयो र त्यसले नेपाल राज्यको रुप लियो ।
यही समय व्यापार, तीर्थ यात्रा, राज्य विस्तार, वैवाहिक सम्बन्ध, भ्रमण र अनुसन्धानका लागि मान्छेहरु विभिन्न स्थानहरुमा गएको पाइन्छ । नेपालकी छोरी भृकुटीको स्रोङचङ गम्पोसँगको विवाह र कलाकार अरनिकोको चीन भ्रमण उल्लेखनीय छन् ।
यस बेला नेपाल चीन, तिब्बत, भारत र तेस्रो मुलुक बेलायतसँग परिचित भयो । जंगबहादुरको बेलायत भ्रमणपश्चात्् नेपाल उपत्यका र बाहिर बेलायती शैलीका दरबार र घरहरु बन्न थाले ।
कर्कप्याट्रिक, डा. एफ बी हेमिल्टन, टोनी हेगन र सिल्भा लेभीले आफ्नो नेपालसम्बन्धी रचनामार्फत् विदेशीलाई नेपालबारे परिचित गराए । नेपाल र भारतबीच सन् १८१६ मा भएको सुगौली सन्धीपश्चात् विदेशी पर्यटक नेपाल आउने क्रम बढ्यो ।
सन् १८५० मा ५० जनाको समूहमा जंगबहादुर राणा स्वेज नहर पार गर्दै इजिप्ट, कायरो, अलेक्जेन्ड्रिया, माल्टा र जिब्राल्टर हुँदै बेलायत पुगेको घटनाले नेपालको पर्यटन इतिहासमा विशेष महत्व राख्छ ।
ब्रिटिश सरकारले आफ्नो साम्राज्य रक्षाको लागि सेनामा नेपालीलाई भर्ना गर्न शुरु गरेपछि आम नेपालीहरु बाहिरी संसारसँग परिचित भए । तत्कालीन राणा शासक र ब्रिटिश शासकबीच गहिरो सम्बन्धले भ्रमणलाई अझ अगाडि बढायो ।
सन् १८९२ मा भारतका तत्कालीन प्रधान सेनापति लर्ड रोबर्ट्स औपचारिक रुपमा नेपाल भ्रमणमा आए । सन् १८९३ बीर शमसेर भारतको भ्रमणमा गए र वीर शमशेरकै पालामा केही नेपाली विद्यार्थीहरु इञ्जिनियरिङ् अध्ययनको लागि जापान गए ।
देव शमशेरको पालामा टुँडिखेलमा सिनेमा देखाउने र गोरखापत्रको प्रकाशन सुरु गरे । सन् १९०८ चन्द्र शमशेरले मुम्बई हुँदै ब्रिटेनको भ्रमण गरे ।
त्यो भ्रमणले नेपालको परम्परा, कला, संस्कृति, संस्कार र सौर्यलाई व्यापक रुपमा प्रचार गर्न मद्दत ग¥यो । प्रथम र द्वितीय विश्वयुद्धले नेपालको बहादुरीको चर्चा बढेर गयो । नेपालका डोरबहादुर विष्ट, डा. हर्कबहादुर गुरmङलगायतका अनुसन्धाताहरुको यस क्षेत्रमा भएको योगदानको चर्चा नगरी रहन सकिँदैन ।
विभिन्न देशसँगको कुटनीतिक सम्बन्धले नेपालमा पर्यटकको आगमन विस्तारै बढेर गएको छ । सन् १९५१ देखि नेपालमा पर्यटन क्षेत्रमा जनसमुदाय र निजीस्तरमा पनि सहभागिता सुरु भई पर्यटन उद्योगको संस्थागत विकासक्रमको थालनी भएको देखिन्छ ।
सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेपछि नेपाली हिम श्रृंखलाको र नेपालबारे छुट्टै परिचय विश्वभर फैलाउन ठूलो मद्दत ग¥यो ।
नेपालको प्राकृतिक सौन्दर्यले धेरै पर्यटकलाई आजसम्म पनि लोभ्याइरहेको छ । सन् १९५५ मा थोमस कुक एण्ड ट्राभल्स एजेन्सीले पहिलो पटक नेपाल सरकारसँग अनुमति लिई ६० जना पर्यटकलाई हवाईमार्गद्वारा नेपाल भित्र्याएको तथ्यलाई हामीले कहिल्यै बिर्सनु हुँदैन ।
सन् १९५७ मा उद्योग वाणिज्य मन्त्रालय अन्तर्गत पर्यटन बोर्ड गठन भयो । सन् १९५८ मा नेपाल वायु सेवाको स्थापनाले पर्यटन उद्योगलाई विस्तार गर्न महत्वपूर्ण पाइला चाल्यो ।
सन् १९६२ मा स्थापना भएको पर्यटन विभागले नेपालमा कसरी पर्यटकलाई आकर्षित गर्न के कस्तो सुविधाहरु चाहिन्छ भन्नेबारे कार्य ग¥यो । त्यसपछि पर्यटकीय स्थलको विकासको लागि पोखरा, ककनी, दामन र नगरकोटलाई छनौट गरियो । सन् १९७० पछि मात्र नेपालको पर्यटन क्षेत्रमा व्यवसायीहरुको लगानी बृद्धि भएको पाइन्छ ।
यसैबेला काठमाडौं, पोखरा, चितवन र सगरमाथा क्षेत्र २० वटा भन्दा बढी होटल खुलिसकेको थिए । नेपालमा सन् १९७७ मा पर्यटन क्षेत्रमा विकास गर्ने उद्देश्यले पर्यटन मन्त्रालय स्थापना गरियो ।
नेपालमा पर्यटन विकासको पूर्वाधार तयार गर्न एशियाली विकास बैंक र विश्व बैंकको सहयोग महत्वपूर्ण रह्यो । त्यसपछि पर्यटनसंग सम्बन्धित विभिन्न संस्थाहरु पनि स्थापना हुँदै गए ।
यस क्षेत्रलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्न पनि विभिन्न विषयका तालिम केन्द्र पनि स्थापना गरियो । नेपालमा आउने धेरै पर्यटक टे«किङमा आकर्षित भएको देखिन्छ ।
अन्नपूर्ण पदमार्ग र सगरमाथाको खुम्बु क्षेत्र विशेष उल्लेखनीय क्षेत्रका रुपमा रहेका छन् । झण्डै ३० प्रतिशत टे«किङको लागि आएको पर्यटक त्यस क्षेत्रमा गएको पाइन्छ ।
त्यसैले यस क्षेत्रका प्राकृतिक र मानव निर्मित सम्पदाहरु र पदमार्ग संरक्षण गरेर मात्र पर्यटन क्षेत्रको विकास सम्भव छ । प्रकृतिले हामीलाई दिएको हिमाल, पहाड, जंगल, ताल, नदी र मानव निर्मित मन्दिर, गुम्बा, झोलुङ्गे पुल, संस्कृति, स्थानीय परम्परागत उत्पादन र खानाका परिकारहरु र रहन–सहनलाई संरक्षण गर्नसके यसले पर्यटन उद्योगलाई प्रचुर मात्रामा सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।
नेपालमा सन् २०११ मा ७ लाख ३५ हजार ९ सय ३२ जना विदेशी पर्यटक आएको तथ्याङ्क छ । यो सन् २०१० को तुलनामा २२.१ प्रतिशतले बढी हो । विश्व पर्यटन बजारमा अन्तर्राष्ट्रिय पर्यटनको वृद्धि दर जम्मा ४ प्रतिशतले दक्षिण एसियामा करिब १२ प्रतिशत र नेपालमा २३.१ प्रतिशतले रहेको छ, जुन तथ्याङ्क नेपालको सन्दर्भमा धेरै देखिन्छ ।
विशाल जनसंख्या रहेको चीन र भारतको नागरिकलाई बुद्ध जन्मेको स्थल लुम्बिनी र हिन्दू धर्मका शक्तिपीठहरुको मात्र भ्रमणमा ल्याउन सके यस धार्मिक पर्यटनले नेपालको पर्यटन बजारमा पार्ने प्रभाव ज्यादै ठूलो हुनेछ ।
आर्थिक हिसाबले हेर्ने हो भने नेपाल विश्वको अति कम विकसित मुलुक हो । नेपालको कुल जनसंख्याको ५० लाख भन्दा बढी जनताहरु अति गरिबीको घेरामुनि छन् जसको दैनिक आम्दानी ५० रुपैयाभन्दा कम छ ।
पुरुष जनसंख्याको हाराहारीमा भएको ५७ प्रतिशत महिलाहरु निर्वाहमुखी ग्रामिण कृषि क्षेत्रमा निर्भर छन् । ५० लाख भन्दा बढी जनताहरु भारतको श्रम बजारमा छ ।
सरकारी विद्यालय र विश्व विद्यालयबाट बाहिरिएका विद्यार्थीहरु विना तालिम मलेसिया र अरेबियन मुलुकहरुमा सस्तो श्रममा कठिन कामहरु गरिरहेका छन् ।
प्रत्येक वर्ष ७, ८ लाख युवाहरु नेपाली श्रम बजारमा आउँछन् जसको लागि रोजगारीको धेरै न्यून अवसरहरु मात्रै छ । उर्जाको अभाव र लोडसेडिङका कारण भएको उद्योग, कलकारखानाहरु पनि क्रमश बन्द हुने क्रममा छ ।
जसले गर्दा आयातमा नेपाली बजार बढी निर्भर भैरहेको छ । जसले गर्दा नेपालको व्यापार असन्तुलनमा व्यापक बृद्धि भएको छ । कुनै जमानामा चामल, दाल, तोरीको तेल लगायतका सामानहरु निर्यात गर्ने मुलुक नेपाल अहिले यी सामान लगायत धेरै सामानहरु आयातमा निर्भर हुँदैछ । जसले गर्दा प्रति व्यक्ति कुल राष्ट्रिय आय र कुल ग्राहस्थ उत्पादनमा नकरात्मक असर पारिरहेको छ ।
(ग) पर्यटनको सम्भावनामा बागलुङ जिल्ला
नेपालमा हामी आज पनि Mass Tourism कै अवधारणाअनुसार चलिराखेका छौं । नेपालले २०२० Visionको घोषणा अनुसार सन् २०२० सम्म २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको बेला पर्यटनको क्षेत्रमा बागलुङलाई कसरी समायोजन गर्ने र त्यसको प्रतिफल यस भेगको जनताले कसरी लिने भन्ने विषयमा गम्भीर चिन्तन, छलफल र बहसमा केन्द्रित हुनुपर्ने बेला आएको छ ।
यसप्रकार यस क्षेत्रलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न स्थानीय निकाय, राजनीतिक दल, व्यवसायी, उद्योग वाणिज्य संघ, ग्रामीण जनता, सामाजिक संघ संस्था, नागरिक समाज र सञ्चारजगत्ले के गर्नुपर्ने हो भन्नेबारे स्पष्ट हुन जरुरी छ । बागलुङ जिल्लाभित्र पर्यटन मैत्री वातावरण सिर्जना गर्न र नयाँ लगानी भित्र्याउन हामी सबैले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
बागलुङको संक्षिप्त परिचय
धौलागिरी अञ्चलको चार जिल्लाको अञ्चल सदरमुकाम रहेको बागलुङ जिल्लाको पूर्वमा पर्वत, पश्चिममा रुकुम र रोल्पा, उत्तरमा मुस्ताङ र म्याग्दी र दक्षिणमा रोल्पा, प्यूठान र गुल्मी जिल्ला रहेका छन् ।
बागलुङ जिल्ला समुद्री सतहदेखि १ हजार फिटदेखि ७२४४ फिटसम्मको उचाईमा अवस्थित छ । बागलुङ जिल्लाको जलवायु समशीतोष्ण प्रकृतिको छ भने यस जिल्लाको कुल क्षेत्रफल २१५३ वर्ग कि.मी. रहेको छ । विश्व मानचित्रमा हेर्दा बागलुङ २८० ५ु देखि २८० ५१ु उत्तरी अक्षांश र ८२० ४५ु देखि ८३० ३६ु पूर्वी देशान्तरभित्र पर्दछ ।
यहाँको अत्यधिक तापक्रम ३४.४ सेन्टिग्रेड र वार्षिक रुपमा २३÷३२ मिलिमिटर वर्षाको रेकर्ड उपलब्ध छ । बागलुङको नामकरणको सम्बन्धमा लुङगाउँ र बउलुङ गाउँको नजिकै रहेको बागलुङ बजारको सेरोफेरोको ठाउँबाट बागलुङ शब्दको उत्पत्ति भएको हुनसक्छ । भोटे भाषाका अनुसार बाङ्को अर्थ केही उच्च र लुङ्को अर्थ केही समथर भन्ने बुझिन्छ ।
मगर भाषामा बाङको अर्थ पहरा र लुङको अर्थ ढुंगा भन्ने हुन्छ । यहाँ मगरजातिले वि. सं. १५९१ मा प्रसिद्ध कालिका भगवतीको मुर्ति डोलामा राखेर ल्याएका थिए ।
उक्त मूर्ति पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी विसुवा देवीले पर्वते राजा प्रतापीनारायण मल्लसँगकोे विवाहमा दाइजोस्वरmप ल्याएकी थिइन् ।
भगवतीको डोला हाल स्थापित मन्दिरस्थलबाट अगाडि नबढेपछि उक्त मूर्तिलाई सोही स्थानमा स्थापित गरिएको सुन्नमा आएको छ । खड्काहरुले भगवतीको खड्क लिएर आएको थियो । खड्क लिएर आएको खड्काहरु यहीं बसोवास गरे ।
बागलुङमा बसोवास गरिरहेका नेवारहरु वि.सं. १७६८ पछि कोही व्यापारका सिलसिलामा त कोही विवाहका सन्दर्भमा र कोही उपत्यकामा पृथ्वीनारायण शाहको आक्रमणबाट जोगिन भक्तपुर, बनेपा, पनौती र धुलिखेलदेखि बसाईँ सराई गरी आएको पाइन्छ । ब्राह्मण क्षेत्रीहरु पनि कर्णाली क्षेत्र र भारतको विभिन्न प्रदेशबाट आएको पाइन्छ ।
थकालीहरु मुस्ताङ थाकखोलाबाट बागलुङमा व्यापारको सिलसिलामा आएको देखिन्छ । वि.सं. १८२० मा भक्तपुर पराजय पश्चात् भागेर आएका रणजीत मल्लका छोरा अवधुत सिंहलाई पर्वतमा वि.सं. १८२० मा शरण दिनुका साथै बागलुङ बजारको उपल्लाचौरमा जमिन विर्ता दिएका थिए ।
बागलुङ क्षेत्र बहादुर शाहको नायवीकालमा चौबीसे राज्यको विजय अभियानको क्रममा खटिएका दामोदर पाण्डेको नेतृत्व संचालित फौजले वि.सं. १८४३ मा आफ्नो नियन्त्रणमा लिएको थियो । बागलुङ र यस वरपरका क्षेत्र नेपाल राज्य विस्तारमा गाभिनुपूर्व यो क्षेत्रमा मगर, थापा, क्षेत्री र मल्लहरुले राज्य गरेका थिए ।
बागलुङमा पर्यटनको सम्भावना
बागलुङ जिल्ला शालिग्राम पाइने कालीगण्डकी नदी, हिमश्रृंखला हेर्न मिल्ने उच्च पहाडी भूभाग, एकमात्र नेपालको शिकार आरक्ष ढोरपाटन शिकार क्षेत्र, पदयात्राको लागि उपयुक्त भूगोल, पौराणिक मन्दिर, झोलुङ्गे पुल, गुफा, ताल, सांस्कृतिक विविधता, धर्म, जात्रा, मेला, पर्व, महोत्सव, रहन सहन, भेषभुषा भएको जिल्ला हो । यहाँको खानामा पनि विविधता छ । यहाँ पौराणिक भगवतीको मन्दिर, भगवतीको माइली बहिनी मालिका भगवतीको मन्दिर, भैरवस्थान मन्दिरदेखि जंगबहादुरले बनाउन लगाएको जंगेश्वर महादेवको मन्दिरलगायतका धार्मिक मठमन्दिरहरु छन् । बागलुङ नगरपालिकाभित्र मात्र ३२ भन्दा बढी मठ, मन्दिर, पौवा, बिहार रहेका छन् । अमलाचौर, बिहुँ, बोबाङ, देवीस्थान, घुृम्टेको लेक, गाजाको धुरी, भकुण्डेलगायतका अग्लो पहाडी भूभागबाट धौलागिरी र अन्नपूर्ण हिमश्रृंखलाहरु अवलोकन गर्न सकिन्छ । ढोरपाटन शिकार आरक्षमा नाउर, घोरल, झारल, कस्तुरी, बाघ, चितुवा, भालु, दुर्लभ रेड पाण्डा लगायतका जंगली जनावरहरु पाईन्छन् ।
संस्कृतिको हिसाबले पनि बागलुङ विविधताले युक्त छ । मगर, छन्त्याल, गौचन, गुरुङ, नेवार, ब्राह्मण, क्षेत्री, मुस्लिमलगायतका आदिवासी जनजाति र जातिहरु यहाँ रहेका छन् । यिनीहरुको रहनसहन, खानपान, धर्म, संस्कार, चाडपर्व, जात्रामा पनि विविधता छ । सोरठी, मारुनी नाँच, सती घाँटु, गोपी, धान नाच, भुस पोल्ने मेला, हनुमान नाच, जोगी नाच, रोपाई नाच, बास्सा नाच, लाखे नाच, तरबार नाच, तीज गीत र मेला, यानी माया लोक दोहोरी तथा नाच आदि बागलुङमा लोकप्रिय रहेका छन् । यसैगरी यो जिल्ला झ्याउरे लोकलयको उद्गम स्थलका रुपमा पनि चिनिन्छ । वि.सं. २०१७ वैशाखको ३१ (सन् १९६० १३ मे) मा ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमाल अष्ट्रियाका नागरिक ःच। Mr. Kurt Diemberger लगायतको समूहले प्रथम आरोहण गरेको घटना विशेष उल्लेखनीय रहेको छ । यो क्षेत्रमा उत्पादन हुने भाँगो, मुलाको धजरा, आलु, सिस्नोको धुलो, गुन्द्रुक, धान, मकै, लसुन, भट्ट, केराउ आदि सबै ठाउँमा मन पराइएका उत्पादन हुन् । नेपाली कागज, कुचो, बुट्टे नली, राडीपाखी, काइयो, डोको, ठेकी, डालो, नाम्लो, नाङ्लो स्थानीय उत्पादन जसले राम्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार लिएको छ । राणाकालमा खुलेको विद्यामन्दिर मा. वि. र विद्यामन्दिर पुस्तकालयलगायतका शैक्षिक संस्थाहरु पनि यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्व राख्ने गन्तव्यस्थल हुन् ।
सन् २०१० मा नेपाल भित्रिएका पर्यटकमध्ये २० प्रतिशत पर्यटकहरु पोखरा आउने गरेका छन् । विदेशी पर्यटकले दुई दिनभन्दा बढी समय पोखरामा बिताउने र प्रतिदिन ३८ डलर खर्च गर्ने गर्छन् । पर्यटनको आगमन बसाई अवधि, पर्यटकले गर्ने खर्चले नेपाली अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावलाई मध्यनजर राखेर पोखरालाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरेर गण्डकी, धौलागिरी र नारायणी क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको लागि अझ बढी गन्तव्यस्थलको रुपमा विकास गर्न स्थानीय निकाय, राजनीतिक दल, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी र ग्रामीण जनताले मिलेर काम गर्नुपर्ने बेला आएको छ । ४, ५ जना पर्यटक पदयात्रामा निस्कँदा ८, १० जना नेपालीले अस्थायी रुपमा रोजगार पाउने सरकारी अनुमान छ । खुम्बु क्षेत्रले पदयात्रा क्षेत्रको संरक्षण गरेको हुँदा आज पनि त्यस क्षेत्रको बासिन्दाको प्रतिव्यक्ति आय १७ सय डलर रहेको छ । गण्डकी, धौलागिरी र नारायणीको पर्यटकीय क्षेत्रको प्रस्थान बिन्दु पोखरा भएकोले पोखराका पर्यटन क्षेत्रसँग समन्वय गरेर पोखरामा आउने पर्यटकलाई यो क्षेत्रमा ल्याउन सके यस क्षेत्रलाई गन्तव्यस्थलको रुपमा विकास गर्न सकिन्छ । त्यसको लागि गर्नुपर्ने पूर्वाधारको काम, गुणस्तरीय होटल, रिसोर्ट, रेष्टुरेण्ट, ग्रामीण पर्यटन लागि चाहिने तत्वहरु पूरा गर्न र प्रचार प्रसार, तालिम र उपयुक्त पर्यटन नीति र योजना बन्नु जरुरी छ । यसैगरी पर्यटन प्रवद्र्धनका लागि पर्यटक बस संचालनको आवश्यकता पनि रहेको छ । यी कुरालाई कार्यान्वयन गर्न बागलुङ नगरस्तरीय र जिल्लास्तरीय सरकारी तथा गैरसरकारी पर्यटकीय संस्थाहरु निर्माण गर्नु अहिलेको मुख्य कार्यभार हो । बागलुङ जिल्ला पर्यटकीय सम्भावना भएको जिल्ला हो । त्यसलाई अवसरको रुपमा परिणत गर्न सही पर्यटन नीति र कार्यक्रम लागू गर्नसके पर्यटन क्षेत्रमा पनि नयाँ लगानी भित्र्याउन सकिन्छ ।
यो क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नसके त्यसको प्रतिफल सबैले पाउने थिए । ग्रामीण उत्पादनले बजार पाउने थियो । रोजगारीका अवसरहरु सिर्जना हुने थिए । सरकारले राजश्व र करको नयाँ क्षेत्र पाउने थियो र जनताको क्रय शक्तिमा वृद्धि भयो भने त्यसको सकारात्मक लाभ सबै क्षेत्र र अन्ततः मुलुकले नै प्राप्त गर्ने थियो । त्यसैले पर्यटनको यो प्रचुर सम्भावना भएको क्षेत्रमा हाम्रो सचेत पहलकदमीको लागि यो क्षेत्र प्रतिक्षारत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्