२६ बैशाख २०८१, बुधबार

 

साकार होला मेटाभर्सको सोच ?

प्रविधि कम्पनी र विश्लेषकहरूले मेटाभर्सलाई अबको इन्टरनेटको परिवर्तनकारी सोच मानेका छन्। फेसबुकका मार्क जकरबर्ग र इपिक गेम्समा टिम स्वेनेजस्ता प्रविधिका चर्चित व्यक्तित्वले मेटाभर्समा लगानी गरेका छन्।

आम मानिसका लागि मेटाभर्स भर्चुअल रियालिटीको एउटा स्वरूपजस्तो लाग्न सक्छ तर प्रविधिका केही व्यक्तिका लागि मेटाभर्स इन्टरनेटको भविष्य हो।

सन् १९८० दशकको बोक्नै गाह्रो मोबाइल फोन जसरी अहिलेको सानो स्मार्टफोनको प्रारम्भिक रूप थियो, त्यस्तै भर्चुअल रियालिटीलाई मेटाभर्सको प्रारम्भिक रूप मान्न सकिन्छ।

सबैखाले डिजिटल प्रविधिको दुनियाँमा छिर्न अहिले कम्प्युटरको प्रयोग गरिन्छ तर मेटाभर्समा त्यही दुनियाँमा छिर्न टाउकोमा लगाउने एउटा उपकरणको प्रयोग गर्न सकिन्छ।

अहिले भर्चुअल रियालिटी धेरैजसो कम्प्युटर गेम खेल्न प्रयोग गरिन्छ तर मेटाभर्समा त्यो उपकरण काम, खेल, कार्यक्रम, चलचित्र वा गफगाफ सबैका लागि प्रयोग गर्न सकिन्छ।

धेरै मानिसले यसलाई आफ्नै त्रिआयामिक प्रतिनिधित्व हुने मान्छन्। तर मेटाभर्स अहिलेसम्म सोच मात्रै रहेका कारण यसको एउटा कुनै सर्वमान्य परिभाषा वा व्याख्या छैन।

प्रविधिमा समय–समयमा कुनै नयाँ सोचहरू चर्चित बन्छन् र केही समयपछि बिलाएर पनि जान्छन्। तर मेटाभर्सका बारेमा धनी लगानीकर्ता र ठूला प्रविधि कम्पनीले रुचि देखाएका छन् र यो कतै इन्टरनेटको भविष्य बनिहाल्यो भने पछाडि पर्न कोही चाहँदैनन्।

र अहिले सोच मात्रै भए पनि भर्चुअल रियालिटी र इन्टरनेटको गतिको विकासका कारण यो छिट्टै प्रविधिका रूपमा आउन सक्ने सम्भावना पनि छ।

फेसबुकले मेटाभर्सको विकास आफ्नो ठूलो प्राथमिकता रहेको बताएको छ। भर्चुअल रियालिटीमा ओकुलस उपकरणमा ठूलो लगानी गरेको फेसबुकले उक्त टाउकोमा लगाउने उपकरण प्रतिस्पर्धीहरूभन्दा सस्तोमा बेचिरहेको छ।

प्रतिस्पर्धी कम्पनीहरू नै किन्ने इतिहास रहेको फेसबुकले मेटाभर्स छिट्टै र कुनै एक कम्पनीले निर्माण गर्न नसक्ने जनाउँदै अन्य प्रविधि कम्पनीसँग समन्वय गर्ने बताएको छ।

फेसबुकले हालै मेटाभर्स जिम्मेवारीपूर्ण तरिकाले विकास गर्न सहयोग गर्न गैरनाफामूलक समूहहरूलाई पाँच करोड अमेरिकी डलर लगानी गरेको छ।

फेसबुकले मेटाभर्सको विकास गर्न अर्को १० देखि १५ वर्ष लाग्ने बताएको छ। फोर्टनाइट गेम बनाउने इपिक गेममा टिम स्वानेले पनि लामो समयदेखि मेटाभर्समा रुचि व्यक्त गरिरहेका छन्।

धेरै जनाले खेल्न मिल्ने अनलाइन गेममा केही अंशहरू मेटाभर्सकै सोचअनुरूपका छन्। हालै फोर्टनाइटले आफ्नो उत्पादनभित्रै सांगीतिक र अन्य कार्यक्रमहरू प्रवर्धन गरेको छ जसले धेरैलाई के कुरा सम्भव छ भन्ने संकेत दिएको छ र स्वानेको मेटाभर्सप्रतिको मोह देखाएको छ। रोबलक्सजस्ता अन्य गेमहरू पनि मेटाभर्सको सोचको वरपर रहेका छन्।

त्रिआयामिक प्रविधि निर्माता युनिटीले हाम्रो विश्वको डिजिटल नक्कल बनाउन लगानी गरेको छ भने एनभिडिया नामक ग्राफिक्स कम्पनीले ओम्नीभर्स नामक त्रिआयामिक विश्वहरू जोड्ने प्रविधि विकास गरिरहेको बताएको छ।

कम्प्युटर गेमसँग धेरै कुरा मिल्ने भए पनि मेटाभर्सको मूल कुरा मानवको सामाजिक अन्तरक्रिया नै हो। फेसबुकले भर्चुअल रियालिटी भेटघाट एप वर्कप्लेस र सामाजिक भेटघाट स्थल होराइजन्सलाई परीक्षण गरिरहेको छ जसमा व्यक्तिको भर्चुअल रूप प्रयोग हुन्छ।

अर्को भीआरच्यान नामक एप साथीहरूसँग भेटघाट र गफ गर्न प्रयोग भइरहेको छ। उदाहरणका लागि मेटाभर्स प्रविधिमा तपाईँ अनलाइनमा लुगा किनमेल गर्नभन्दा पहिले त्यो लुगाको डिजिटल प्रारूपलाई लगाएर हेर्न सक्नुहुन्छ वा कार किन्नुभन्दा पहिले त्यो कारलाई भर्चुअल विश्वमा चलाएर हेर्न सक्नुहुन्छ।

हालैका वर्ष भर्चुअल रियालिटीको राम्रो विकास भएको छ। यसका उपकरणहरू परिष्कृत मात्रै भएका छैनन्, ती बिस्तारै आम मानिसले प्रयोग पनि गर्न थालेका छन्।

त्यस्तै फाइभजी प्रविधिको विकासले भर्चुअल विश्वहरू अझै परिष्कृत र पहुँचयोग्य हुन सक्छन्। तर अहिलेका लागि मेटाभर्स सुरुआती अवस्थामै छ। तर मेटाभर्स कुनै तरिकाले विकास भयो भने अर्को दशक वा त्योभन्दा लामो समय ठूला प्रविधि कम्पनीहरूले यसका लागि ठूलो खर्च र प्रतिस्पर्धा गर्ने पक्का छ।

प्रतिक्रिया दिनुहोस्