६ जेष्ठ २०८१, आईतवार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको अध्यक्ष श्रेष्ठलाई मंका खलद्वारा सम्मान

नेपाल भाषा मंका खल बागलुङले बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौकी अध्यक्ष रसुमिला श्रेष्ठले बागलुङको शिक्षा, भाषा, कला, साहित्य, जात्रा, संस्कृतिको संरक्षण र विकासका लागि समाजले बागलुङका सघसंस्थासँग सहकार्य गर्नेे बताइन् ।

शिक्षा र संस्कृतिले समाजलाई विकसित र सभ्य बनाउने भएकाले यस क्षेत्रको विकासमा सबैले योगदान गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा रोटरी क्लबका एसिस्टेन्ट प्रेसिडेन्ट भरतकुमार श्रेष्ठले रोटरी क्लबमार्फत बागलुङको शैक्षिक र सामाजिक विकासमा सहकार्य गर्ने बताए । सर्वसाधारण नागरिकका छोराछोरीलाई आर्थिक र सामाजिक रूपमा माथि उठाउन शिक्षामा लगानी बढाउनुपर्ने उनले जोड दिए ।

कार्यक्रममा नेपाल भाषा मंका खल बागलुङका पूर्वअध्यक्ष महेशचन्द्र प्रधान, नेपाल भाषा मंका खलका उपाध्यक्ष काजी रोशन राजभण्डारी, नेपाल भाषा मंका खल बागलुङका सल्लाहकार देवबहादुर श्रेष्ठ, धवलागिरि बचत तथा ऋण सहकारीका अध्यक्ष युक्तप्रसाद शाक्य, नेपाल

परिवार नियोजन संघ बागलुङका अध्यक्ष निर्माणकुमार श्रेष्ठ, विद्यामन्दिर माविका प्रधानाध्यापक शान्तामणि ढकाल, विद्यामन्दिर

पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले पनि मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल भाषा मंका खल बागलुङका कोषाध्यक्ष विदेशकुमार श्रेष्ठको स्वागत र अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले बागलुङको संस्कृति संरक्षणका लागि नेपाल भाषा मंका खल बागलुङको अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाई २५ हजार सहयोग प्रदान गरेकी छिन् ।

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको २९ र ३० औं संयुक्त वार्षिक साधारणसभाले इतिहासकै पहिलो महिला अध्यक्षका रूपमा रसुमिला श्रेष्ठलाई चुनेको थियो । बागलुङ जन्मघर भई काठमाडौंमा बसोबास तथा व्यवसाय गर्दै आएकाहरूले २०३९ सालमा बागलुङ समाज कल्याण केन्द्रको स्थापना गरेका थिए । संस्थाले शैक्षिक, सामाजिक, धार्मिक एवम् स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्