२६ बैशाख २०८१, बुधबार

 

मुस्ताङको न्यानोलमा टेलिकमको मोबाइल सेवा

बागलुङ नेपाल टेलिकमले हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्यानोलमा बीटीएस टावर बनाई थ्रिजी सेवा सञ्चालनमा ल्याएको छ ।

पर्यटक र स्थानीयलाई ध्यानमा राखी टेलिकमले एकसाथ भ्वाइस र डाटामार्फत सेवा सञ्चालनमा ल्याएको हो । टेलिकमको मोबाइल सेवाले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयको दैनिकी सहज बनाउने अपेक्षा गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले बताए ।

‘यसभन्दा अगाडि त्यस स्थानमा कुनै पनि मोबाइल सेवा थिएन, स्थानीय बासिन्दा सञ्चारको पहुँचमा नहुँदा उहाँहरूले कठिनाइ भोग्दै आउनुभएको थियो,’ उनले भने । भौगोलिक विकटताका कारण उपकरण पुर्याउन कठिन भए पनि स्थानीय बासिन्दाको समन्वयमा सेवा विस्तार गर्न सकिएको उनको भनाइ छ ।

टेलिकमले निकट भविष्यमै त्यहाँ चौथो पुस्ताको उच्च गतिको इन्टरनेटसहित गुणस्तरीय आवाज उपलब्ध हुने फोरजी मोबाइल सेवा पुर्याउने गृहकार्य गरिरहेको छ ।

यसअघि उक्त क्षेत्रमा कुनै पनि मोबाइल सेवा नरहेकाले फोन गर्न लोमान्थाङ बजार पुग्नु पर्ने बाध्यता रहेको र यसले गाउँपालिकाका कामकाज सञ्चालनमा समेत मुस्किल परेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्ण विष्टले बताए ।

‘न्यानोलमा रहेको मोबाइल टावरमा अहिले पनि विद्युत् सेवा छैन, टेलिकमले सोलार सेट जडान गरेर सेवा सञ्चालन गरेको छ, हामीले नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक समन्वय गरेर विद्युत लाइन विस्तार गरिरहेका छौं, छिट्टै गाउँपालिकामा रहेका सबै मोबाइल टावरमा केन्द्रीय विद्युत् पुर्याउँदै छौं,’ उनले भने ।

भौगोलिक विकटतासहितका समस्याका बाबजुद टेलिकमले स्थानीय तह, नागरिकसँगको सहकार्यमा सेवा सञ्चालन गरेको लोमान्थाङ–२ का वडाध्यक्ष नगवाङ छेतु गुरुङले बताए । उनका अनुसार यसबाट वडा नं १ का ६० र वडा नं २ का ९० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।

‘योसँगै कालीगण्डकी करिडोर हुँदै उत्तरी छिमेकी देश चीनसँग जोडिएको कोरला नाका पुग्ने नागरिक भ्वाइस र थ्रीजी मोबाइल डाटामार्फत सहजै इन्टरनेटको पहुँचमा जोडिएका छन्,’ उनले भने ।

समुद्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा टावर बनाइएसँगै नामछिउ, धारसा, आरका, धिउक, सैतङ, ढाक्या, झोङकेप, मिठु गाउँ मोबाइल सेवाको पहुँचमा आएका हुन्। यसबाट पर्यटकीय गन्तव्यहरू झोङ गुफा, छोसेर गुफा र न्यानोल भएर जाने पर्यटकलाई समेत सहज हुने स्थानीय सोनाम टाई गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्