२३ बैशाख २०८१, आईतवार

 

चन्द्रमाबाट ल्याएको माटो माओको गृहनगर शाओशानमा

शाओशान, २६ डिसेम्बर (ग्लोबल टाइम्स) । चीन र सिङ्गो संसारले एक शताब्दीमा नदेखेका ठूलठूला परिवर्तन अनुभव गरिरहेका बेला आइतबार दिवङ्गत चिनियाँ नेता माओ त्सेतुङको १२८ औँ जन्म दिवसको अवसरमा आइतबार चिनियाँ जनताले उहाँप्रति दर्शाएको सम्मान विशेष उल्लेखनीय रह्यो ।
धेरै चिनियाँ जनता दिवङ्गत नेताका विचारले अझै समकालीन चीनलाई चहकिलो बनाइरहेको सोच्छन् । यो वर्षको जुलाईमा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो १०० औँ स्थापना दिवस बनाइरहँदा माओ धेरै चिनियाँ युवाका प्रेरणाका स्रोत बने ।

बितेको सप्ताहन्तदेखि चीनको मध्य तथा दक्षिणी भागभरि बाक्लो हिउँ परिरहेको छ । तथापि, माओको १२८ औँ जन्म दिवसमा उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न दसौँ हजार चिनियाँ जनता माओको गृहनगर शाओशानमा माओ त्सेतुङको ढलौटको प्रतिमाअघि पुगे ।

अत्यधिक जाडो र चीनका विभिन्न भागमा अझै कोभिड–१९ पुनः देखिन थालेकोले अघिल्लो वर्षको तुलनामा यो वर्ष माओको गृहनगर पुग्ने मान्छे कम भए ।

तर, मानिसहरू माओप्रति श्रद्धाञ्जली अर्पण गर्न बिहान सखारैबाट माओको प्रतिमासामु पुगेका थिए ।माओको जन्म दिनको एक दिनअघि शनिबार शाओशानमा निकै विशेष उपहार आइपुग्यो ।

सन् २०२० मा चीनको चाङ्ह–५ अन्तरीक्ष यान चन्द्रमा पुगेर फर्केको थियो । चाङह्ले पृथ्वीमा फर्किंदा आफूसँगै ल्याएको चन्द्रमाको धुलो र माटो माओ दिवसको अघिल्लो दिन शाओशान पु¥याइएको थियो । भविष्यमा चीनले चन्द्रमामा गर्ने थप यात्राको लागि आवश्यक माटो र धुलो शाओशानमा सुरक्षित राखिनेछ ।

माओ दिवस समारोहमा बोल्दै चिनियाँ राष्ट्रिय अन्तरीक्ष एजेन्सीका प्रमुख चाङ किचियानले शाओशानमा चन्द्रमाको माटो सङ्ग्रह गर्नु चीनका नेता माओ, चिनियाँ जनता र सिङ्गो संसारको निम्ति माओले हासिल गर्नुभएको उपलब्धिप्रतिको गहिरो सम्मान भएको बताए ।

चन्द्रको माटो शाओशानमा पु¥याइनु ‘हामीले नवौं स्वर्गबाट चन्द्रमा ल्याउन सक्छौँ’ भन्ने अध्यक्ष माओको महान विचारप्रति अन्तरीक्षमा चीनको सफलतामार्फत व्यक्त गरिएको सम्मान भएको चाङले बताए ।

सन् २०२० अर्थात् अघिल्लो वर्षको माओ दिवसको दिन शाओशानमा चीनको पहिलो मानवसहितको अन्तरीक्षयान शेनचाओ–१० को पृथ्वी फर्केको हिस्सा पु¥याइएको थियो ।

हाल सो भाग माओ त्सेतुङ स्मृति सङ्ग्रहालयमा राखिएको छ ।माओ दिवसमा शाओशान पुग्न नसकेका मानिसहरू माओको पार्थिक शरीर अझै सुरक्षित राखिएको राजधानी पेइचिङको तेनआनमेन चोकस्थित अध्यक्ष माओ स्मृति हलमा ओइरिएका थिए ।

“स्मृति हलमा आज आउने आगन्तुकहरू निकै धेरै छन् । हरेक वर्षको माओ दिवसमा यसरी नै मानिसको घुइचो लाग्ने गर्छ । धेरै अघि नै सो दिनको लागि टिकट बुक भइसकेको हुन्छ”, अध्यक्ष माओ स्मृति हलका कर्मचारीले आइतबार भने ।

“अध्यक्ष माओको सम्मानमा म हरेक वर्ष यही दिन तेनआनमेन चोकमा पुग्ने गरेको छु”, स्मृति हलमा भेटिएका एक जना आगन्तुकले भने । “सन् २०२१ चिनियाँ कम्युनिस्ट पार्टीको १०० औँ स्थापना दिवस पनि हो । हामीले माओले सिकाउनुभएको भावना भुल्नु हुन्न र उहाँले छोड्नुभएको पदचापलाई बिर्सनु हुन्न ।”

“स्मृति हलमा आउँदा मेरो हृदय सधैँ देशभक्ति भावनाले ओतप्रोत हुन्छ”, उनले भनिन् ।स्वतःस्फुर्त रूपमा माओको सम्मानमा भएका कार्यक्रमबाहेक शनिबार शाओशानमा माओको हुर्काई र क्रान्तिकारी गतिविधि झल्काउने दबु नाटक ‘स्मरणीय शाओशान चोङ’ प्रदर्शन गरिएको थियो ।

ज्यादै मार्मिक सो नाटक चीनका सबभन्दा चर्चित निर्देशकहरूमध्ये गनिने चाङ यिमोले गरेका छन् । नाटकमा लाल (क्रान्तिकारी) गीत र माओका कविताहरू पनि समावेश छन् ।माओलाई भौतिकरूपमा आदर व्यक्त गर्न नसकेकाहरूले अनलाइनमार्फत सम्मान व्यक्त गरे ।

चीनमा निकै लोकप्रिय सामाजिक सञ्जाल सिना वेइपोमा यो समाचार तयार गर्दासम्म (आइतबार चिनियाँ समयअनुसार ९ः०८ सम्म) ह्याट्याग ‘अध्यक्ष माओको १२८ औँ जन्म दिवस’ मा माओप्रति श्रद्धाञ्जली व्यक्त गर्नेको सङ्ख्या १२ करोड पुगिसकेको थियो ।

सिना वेइपोको आफ्नो पृष्ठमा चिनियाँ कम्युनिस्ट युवा लिगले माओ दिवसको सन्दर्भमा एउटा कविता प्रकाशित गरेको छ । कविता यस्तो छ, ‘उनले सबभन्दा कठिन पर्वतमाथि विजय पाए,उनले सबभन्दा गहिरा नदीहरू तरे,उनले सबभन्दा भयानक शत्रुको सामना गरे,उनले सबभन्दा अद्भूत चमत्कार गरे ।’

कवितालाई वेइपोका ४ लाख ३ हजार प्रयोगकर्ताहरूले लाइक गरेका छन् ।धेरै नेट प्रयोगकर्ताहरूले भनेका छन्,“समय बितेसँगै चीनले आज तीव्र परिवर्तन र चुनौती अनुभव गरिरहेको छ ।

त्यस्ता परिवर्तन र चुनौती न देशभित्र न देशबाहिर यसअघि देखिएको थियो । यतिबेला हामी माओका विचार र सिद्धान्तलाई अझ गहिरो गरी बुझ्दै छौँ । तिनको सान्दर्भिकता अझ बुझ्न थालेका छौँ ।”

माओलाई धेरै युवा चिनियाँहरू शिक्षकको रूपमा मान्छन् । माओले जीवनमा केही समय शिक्षकको रूपमा पनि काम गर्नुभएको थियो । त्यसकारण पनि उहाँलाई शिक्षक भनिएको हो ।

त्योभन्दा पनि महत्वपूर्ण पाटो समकालीन चीनलाई अझै चहकिलो बनाउन उहाँका सिद्धान्त सान्दर्भिक भएकोले पनि शिक्षक भनिएको हो ।
माओको एउटा भनाइ छ,“देशभित्र र बाहिरका ती प्रतिक्रियावादीहरूलाई हाम्रोसामु (रिसले) काम्न दिऔँ ।

हामीले उनीहरूलाई यो वा त्यो कुरामा विरोध गर्न दिऔँ । चिनियाँ जनताले हाम्रो लक्ष्य लगातारको लगनशीलताबाट हासिल गर्नसक्नेछन् ।” यो भनाइ अनलाइनमा धेरै पटक उद्धरण गरिएको छ ।

विशेषतः केही पश्चिमा देशहरूले चीनविरुद्ध हमला गरिरहेको र बदनाम गरिरहेको सन्दर्भमा माओको यो भनाइ अनलाइनमा निकै चर्चित बनेको छ ।

दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको छेन्दुमा एउटा कम्पनीमा काम गर्ने २९ वर्षका चेङ छियानले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको समयावधितिरको चीनको इतिहास आफूलाई अपमानजनक लागेको र त्यही भर पढ्न असजिलो अनुभव भएको बताइन् ।

तर जसै चिनियाँ इतिहास अघि बढ्दै जान्छ, उनलाई इतिहास पढ्न सजिलो हुने गरेको बताइन् । उनले भनिन्, “आज हेर्नोस् संसार कसरी परिवर्तन भइरहेको छ ।

आज हेर्नोस् पश्चिमा देशहरूले आफ्ना कमजोरी कसरी देखाइरहेका छन् र उनीहरू चीनको उदयबाट कसरी तिरमिराएका छन् । माओका पुस्तक पढ्दा तपाईंलाई उहाँका भाषण आफ्नै लागि लेखिएको जस्तो अनुभव हुन्छ ।

आज तपाईंको मनमा उठिरहेका प्रश्नको उत्तर दसकौँअघि नै दिइएको पाउनुहुनेछ ।”“बाहिरबाट हमला भइरहेको बेला हामीले भ्रम त्यागेर लड्न तयार हुुनुपर्छ”, उनले भनिन् ।

चीनलाई पेल्न संरा अमेरिकाले आफ्ना सहयोगी देशहरूलाई निर्देशन दिइरहेको सन्दर्भमा केही इन्टरनेट प्रयोगकर्ताहरूले चीनले आत्मविश्वासका साथ यो अवस्थाको सामना गर्नुपर्ने र माओको भनाइ–‘उनीहरूले हामीलाई रोकून् । दसकौँ पछि हामीले सबै कुरा प्राप्त गर्नेछौँ’ सम्झनुपर्छ ।

अनलाइन मजदुरबाट

प्रतिक्रिया दिनुहोस्