१५ बैशाख २०८१, शनिबार

 

हाम्रो पालामै सम्भव छ विकसित र सुन्दर बागलुङ नगरपालिका

बागलुङ – सामाजिक एवं व्यावसायिक सङ्घसंस्थालाई सफल नेतृत्व दिएर राजनीतिमा उदाएका बसन्तकुमार श्रेष्ठ आसन्न स्थानीय तह चुनावमा बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार हुन् । सत्ता गठबन्धन (लोकतान्त्रिक–वाम) का तर्फबाट साझा उम्मेदवार रहेका उनी नेपाली काँग्रेसका युवा नेता हुन् ।

( नेपाली काँग्रेस, गण्डकी प्रदेश समितिका कोषाध्यक्षसमेत रहेका श्रेष्ठसँग नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले गरेको कुराकानीको सम्पादित अंश । )

धेरै जनप्रतिनिधिलाई के लागेको छ भने जनता भनेका लोकतन्त्रमा भोट हाल्नलाई मात्र हुन् । त्यसैले जति पनि विकासका परियोजना छन्, तीमध्ये केहीलाई छाडेर धेरैजसो नगरवासीको चाहनाभन्दा लाभहानिमा केन्द्रित भएको जनगुनासो छ । ०६२ को जनआन्दोलन यसका लागि थिएन ।

हामीले जनसहभागितामा आधारित लोकतन्त्र, पारदर्शिता, जवाफदेहिता र दिगो विकासको मुद्दा उठाएका थियौं । जुन २००७ सालको राजनीतिक उपलब्धिले पनि नेपाली समाजलाई दिन सकेको थिएन ।

बीपीले किसानलाई दिएको महत्व र ग्रामीण विकास

त्यसैले बीपीले विकासको कुरा गर्दा किसान, उसको जमिन र उसका बस्तुभाउको विषयलाई जोड दिनुभएको हो । एउटा किसानका लागि भैंसी, गोरु र सानो खेत नै उसको संसार हो ।नेपालमा ६० प्रतिशत जनताहरु कृषिमा निर्भर छन् । तर अहिले चामल,गहुँ,मकै,कोदो लगाएतका सामानहरु हामीले विदेशबाट आयात गरी रहेका छौ ।

जबसम्म कृषिलाई व्यवसायीककरण र आधुनिककरण गर्दैनौ तबसम्म हाम्रो किसानको आर्थिक जिवनमा परिवर्तन हुँदैन । साना किसानलाई धनी बनाउनको लागि कृषिमा सरकारको लगानी, बजारसम्म पहुँच र किसानले वस्तुको सहि मूल्य पाउने वातावरण स्थानीय पालिकाहरुले गर्नु पर्दछ । तब मात्र नयाँ पुस्ता कृषि प्रति आकर्षित हुन्छन् ।

जनता मेहनती छन्

एक युवकका लागि पढ्ने अधिकार र उसको जागिरको पारिश्रमिक नै ठूलो हो । त्यस्तै एक व्यवसायीलाई उसको व्यापार र उसको सानो पसल नै ठूलो हो ।त्यो अरूसँग तुलना हुन सक्दैन । बागलुङ नगरपालिका प्रत्येक वडा र गाउँ जाँदा मलाई के लाग्यो भने जनता मेहनती छन् । आफ्नै मेहनत र परिश्रमको बलमा परिवारको वर्तमान र भविष्य बनाउन लागिपरेका छन् ।

उनीहरूको खासै ठूलो माग केही छैन । जनता चाहन्छन्– सरकारी कार्यालयमा छिटो सुविधा पाइयोस, अस्पताल र स्वास्थ्य–चौकीहरूमा गुणस्तरीय सेवा पाइयोस् । बजारमा वस्तु सहज र उपयुक्त मूल्यमा पाइयोस् । बाटो राम्रो होस् ।आफ्नो उत्पादनको बजारमा सही मूल्य पाइयोस् । विद्यालय र क्याम्पसमा राम्रो पढाइ होस् । युवा चाहन्छन्– उनीहरूको योग्यताअनुसार काम पाइयोस् । शुद्ध पिउने पानी, सफा र सुन्दर नगर ।

यी सबै माग र आवाज आधारभूत खालका छन् । इच्छाशक्ति राख्ने र आफ्नो जिम्मेवारीका सबै काम इमानदार भएर गर्ने हो भने हामीले गर्न सक्ने धेरै छ । हामीले मोटरबाटो आएको ३० वर्ष हुँदा पनि सुविधासम्पन्न बसपार्क दिन सकेका छैनौं । हाम्रो नगर, समग्रमा बागलुङकै सडकको अवस्था हेर्दा सन्तोष गर्ने ठाउँ छैन ।

तत्कालीन मेयर ऋषिरामले ल्याएको रिंगरोडको काम अझ सम्पन्न गर्न सकेका छैनौं । बागलुङ नगरपालिका बेथिति, अनियमितता, अराजकता र भ्रष्टाचारले आक्रान्त हुँदा नगरबासीलाई घोर निराशाले छोपेको छ ।जुन घोषणापत्र लिएर जनतामाझ गयौं, त्यसलाई हामीले भुलेकै हौं ? जनताका नाममा हामीलाई जे गर्ने पनि छुट छ ? के हामीले कल्पना गरेको संघीयता र विकेन्द्रीकरण यही हो ?

बागलुङको विकासले बागलुङ नगरलाई मात्र होइन, जिल्लाका सबै स्थानीय तहदेखि रुकुम हुँदै दाङ अनि तराईसम्म छु्न्छ । हामीले रात्माटादेखि बिहुँसम्म सडक पिच गर्न सरोकारवालासँग समन्वय नगर्दा त्यसको प्रभाव बागलुङ बजारको व्यापार, स्वास्थ्यलगायत क्षेत्रमा प्रभाव परेको छ । गलकोटमा बुटवलदेखि सामान आउँछ । बागलुङ नगरको व्यापार धेरै खुम्चिएको छ ।

जनप्रतिनिधि र विकास रणनीति

जनप्रतिनिधिको काम र कर्मचारीको काममा फरक छ । जनप्रतिनिधिको काम जनअपेक्षा साकार पार्ने विकासको सही रणनीति, आधुनिक विकास प्रशासनको खाका बनाउने, रोजगारी सिर्जना हुने खालको आर्थिक योजना बनाउने, जनताको माग र गुनासो सुन्ने हो ।

हामी आफैं अनुशासनमा बसेनौं भने को बस्छ, अनुशासन र नियम–कानुनमा ? हामीले अहिलेसम्म बागलुङ बजारमा सिटी हल, भूमिगत ढल, उपयुक्त पार्किङ, र फराकिलो सडक र पर्यटकीय गन्तव्यसम्म पुग्ने राम्रो पूर्वाधार बनाउन सकेका छैनौं । यसमा हामीले ध्यान दिनुपर्ने कुरा गाउँ र सहरबीचको सन्तुलन हो ।

हामीले सबै वडा कार्यालयहरुलाई सुविधा सम्पन्न बनाएर जनताको धेरैं माग वडा कार्यालयबाटै सम्बोधन हुने खालको बनाउँनु पर्छ ।वडालाई भौतिक पूर्वाधार र विकासको हिसाबले विशेष महत्व दिएर जनताको आधारभुत आवश्यकताहरु वडामै पुृरा हुने खालको नगरविकासको दिगो योजना ल्याएर लागु गर्नु पर्छ ।सबै वडा कार्यालयसम्म पुग्न पक्कि बाटो निर्माण गर्ने हाम्रो विकास योजना हुनु जरुरी छ ।

हाम्रो मुख्य लक्ष्य विकास मात्र होइन, गरिबी निवारण पनि हो

हाम्रो मुख्य लक्ष्य विकास मात्र होइन, गरिबी निवारण पनि हो । हामी सधैं माग्ने मात्र होइन, दिने हैसियतमा पुग्नुपर्छ । सहरी विकास र ग्रामीण विकास अलग तर एकअर्कासँग जोडिएका विषय पनि हुन् । हाम्रो नगर विकास, मेलमिलापमा मात्र होइन, संस्कृति र बौद्धिक जागरणको केन्द्र पनि बन्नुपर्छ ।

मेरो विचारमा विकास आधुनिक तर संस्कृतिमा आफ्नैपन हुनुपर्छ । पुरानो बजार र नयाँ बजारको व्यवस्थापन फरक ढंगले गर्नुपर्छ । बजारलाई व्यवसायको केन्द्र बनाएर आवासीय क्षेत्र फरक ठाउँमा व्यवस्था गर्नुपर्छ ।लमगाउँ, कुँडुले, रात्माटा, ओढारचौर, लामाचौर, तीनतले, सिगाना, मूलपानी, भकुन्डे, तित्याङलगायतलाई व्यवस्थित आवास क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।

हाम्रा खोला र नदीमा पर्यटकिय संम्भावना छ

हाम्रा खोला र नदीलाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाउन हामीले तिनका किनारमा रिसोर्ट, रेस्टुरेन्ट, कफी सप, ग्यालरी, पुस्तक पसल राख्न सक्छौं । धेरै धनी राष्ट्रहरूमा हामी जाँदा यसरी नै विकास अगाडि बढाएको देखेका छौं । मालढुंगाको पुल र अरू झोलुंगे पुलहरूमा हामीले यही सम्भावना खोज्नुपर्छ ।

देउराली चोकदेखि खहरेसम्मको बाटोलाई फराकिलो बनाउनुपर्छ । सार्वजनिक यातायात, निजी यातायात र मालवाहक सवारी गुड्न बाटो फरक हुनुपर्छ । मालवाहक सवारी गुड्ने बाटो नगरको मुख्य भाग र अरू सवारीसाधनलाई सहायक र भित्री बाटोबाट गुडाउने व्यवस्था गर्नुपर्छ । ट्राफिक सेवा र व्यवस्थापन उच्च प्रविधिमा आधारित हुनुपर्छ ।

किसानहरुको अनुभव र अभ्यास योजना बनाउदा हामीलाई काम लाग्छ

रायडाँडा,भकुण्डे,तित्याङ,सिगाना गाउँलाई कृषि,फलफूल,शिक्षा,ग्रामीण पर्यटन र पशुपालन क्षेत्रको रुपमा अगाडि बढाउन सक्छौ । त्यसको लागि ।यसको लागि गाउँ गाउँमा गएर जनता, महिला दिदी बैनीहरु र युवाहरुको चाहाना, सपना र आवश्यकताको बारेमा सुक्ष्म ढंगले अध्ययन र छलफल आवश्यक छ ।अरु गाउँहरुको पनि यस्तै संम्भावना र अवसर खोज्नु पर्छ ।

शैक्षिक पाठ्यक्रममा स्थानीय इतिहास र सभ्यता

हाम्रो पुर्खाको इतिहास र कालीगण्डकी सभ्यतालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्छ । शिक्षालाई पेसा–व्यवसायमा ढालेर त्यसलाई आजको आवश्यकता र चुनौती सामना गर्दै श्रम गरेर खान सक्ने उपयोगी र नैतिक रूपमा पूर्ण संस्कारयुक्त बनाउन सक्नुपर्छ ।

काम गरेर खाने वातावरण बनाउँछौ

विद्यालयको शिक्षा बालविकासदेखि नै सृजनशील र श्रमप्रति उपयोगी बनाउनुपर्छ ताकि विद्यालय र क्याम्पस छोडेका विद्यार्थीले पनि काम गरेर खाने वातावरण बनोस् ।हाम्रो नगरमा पञ्चायती व्यवस्थादेखिकै धेरै सरकारी भवन र जग्गा अव्यवस्थित रूपमा छन् । रातमाटामा रहेको भवन त्यतिकै खाली बसेको छ । राज्यको ठूलो धनराशि लगानी भएको भवन विनाप्रयोजन राखिनु ज्यादै दुःखद छ । त्यसको उपयोग गर्न सकेको भए राज्यको धेरै रकम जोगाउन सक्छौं ।

हामी किन मितव्ययी हुन सकेनौं ? हामी आफूलाई कम्युनिस्ट–ؘकांग्रेस भन्ने गर्छौं तर हामीमा सामान्य देशभक्तको जत्तिको चरित्र पनि देखिएन । यसरी हामी कसरी समाजवादमा पुग्छौं ? हाम्रो नेतृत्वले संविधानमा त समाजवाद–उन्मुख समाजको कल्पना गरेको छ ।

हामीले स्वास्थ्य, सञ्चार, सडक, खानेपानी, सिँचाइ, पशुपालन, फलफूल, जडीबुटी, कृषि, सहकारी, वनलगायत सबै क्षेत्रलाई जनताको आवश्यकताअनुसार आधुनिक बनाउनुपर्छ । जनताको जीवनस्तर माथि उठ्ने खालको नगर–योजना चाहिन्छ ।

हामीले जेष्ठ नागरिक,शारीरिकरुपमा कमजोर,दिर्ध रोगी, आर्थिक रुपमा कमजोर नागरिकहरुलाई धौलागिरि अंचल अस्पतालसम्म निशुल्क यातायात सेवा दिनेछौं । आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई छात्रवृत्ति दिनेछौं । मलाई राज्यले दिने भत्ताको रकमबाट गरिबी विरामीहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा दिनेछौं ।

कोरोना चुनौती र पर्यटकीय सम्भावना

कोरोनाको कहर हाम्रो देशमा पनि लामै रहलाजस्तो छ । यस्तो महामारीसँग जुध्न हामीले एउटै हेडक्वाटर बनाई अध्ययन–अनुसन्धान अगाडि बढाउनुपर्छ ।यसका विज्ञ, वैज्ञानिक, निको भएका बिरामी र चिकित्सक–स्वास्थ्यकर्मीको अनुभव हामीलाई काम लाग्न सक्छ । भविष्यमा पनि यस्ता महामारीबाट मानव सभ्यतालाई बचाउन यस क्षेत्रमा ठूलो लगानी आवश्यक छ । म यस बेला ज्यान जोखिममा राखेर खटिने चिकित्सक,स्वाथ्यकर्मी र सरसफाईकर्मीहरुप्रति उच्च सम्मान प्रकट गर्छु । उहाँहरू नहुँदा कोरोना रोकथाम र नियन्त्रण सम्भव छैन ।

चिकित्सक,स्वाथ्यकर्मी र सरसफाईकर्मीहरु प्रतिको सम्मान भाव र उनीहरुको सेवा सुविधामा हामीले विशेष ध्यान दिनु पर्छ । धौलागिरि अस्पताल र स्वास्थ्य चौकीहरुमा हामीले चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई बस्ने वातावरण बनाउनु पर्छ । नगरको स्वास्थ्य नीति र कार्यक्रममा व्यापक फेरबदल गरेर विज्ञ,स्वास्थ्य शाखाका कार्यरत स्वास्थ्यकर्मी र अनुभवि चिकित्सकहरुको सुझाव,अभ्यास र सल्लाह अनुसार आधुनिक स्वास्थ्य रणनीति बनाउनु जरुरी छ ।

बागलुङको कला,साहित्य,धर्म र संस्कृति हाम्रो गौरव हो

यससँगै खेलकुद, साहित्य, कला, विज्ञान, संगीत र धर्मलाई हामीले नगरको विकास, उन्नति, प्रतिष्ठा र गौरवसँग जोड्नु पर्छ । हाम्रो नगरमा धेरै मन्दिर, कोट–धुरी र अन्य गन्तव्य छन् ।यिनको सही उपयोग हुन सकेको छैन । पर्यटन क्षेत्रका साथीहरूले खाका बनाउन लगाई सबै गन्तव्यस्थलको दिगो विकास र प्रचारप्रसार गर्नुपर्छ । त्यसो भएमात्र त्यसको प्रतिफल सबैले पाउँछन् ।

कालिका भगवती,भैरवस्थान,कुँडुलेको सालिग्राम संग्रालय,भकुण्डेको बराह ताल र पञ्चकोटजस्ता धेरै सम्भावना बोकेका स्थलहरू छन् । यिनको जगमा ग्रामीण पर्यटन र होमस्टेले आफूलाई विकास साझेदारका रूपमा पाउनेछन् । व्यावसायिक संस्थाहरूसँग नगरले सार्वजनिक–निजी साझेदारीको कार्यक्रम ल्याएर उद्योग, व्यापार, वित्तीय अवस्था फस्टाउने वातावरण बनाउनुपर्छ । सीसी क्यामराको व्यवस्थापनदेखि वित्तीय सुरक्षाको अवधारणा ल्याउनुपर्छ ।

युवाहरुको सृजनशिलतालाई हामीले  शहर र गाउँको विकासमा सदुपयोग गर्नु पर्छ 

बलेवा विमानस्थल र त्यस क्षेत्रलाई हामीले पर्यटन,शिक्षा, कृषि, पशुपालन र विभिन्न जिल्ला जोड्ने मार्गको रुपमा विकास गर्न सक्छौ । त्यसको लागि जनताको मेहनत,अपनत्व र युवाहरुको सृजनशिलतालाई हामीले  शहर र गाउँको विकासमा सदुपयोग गर्नु पर्छ ।

रोजगारी सृजना गर्न बागलुङ नगरमा ठूलो लगानी भित्राउनु पर्छ

यी सबैको योगफलबाट मात्र हामीले आधुनिक र सभ्य बागलुङ नगरपालिका नयाँ पुस्तालाई दिन सक्छौं । हाम्रो देश विकसित र समृद्ध बन्ने यसै गरी हो ।हामीले नगरको बजेटको आकार बढाएर, भएका व्यवसायीक लगानीलाई संरक्षण गर्ने,आर्थिक बजारलाई चलायमान बनाउने,व्यापारी र उद्योगीको मनोबल उच्च हुने आर्थिक र व्यवसायीक कार्यक्रम ल्याउने र ठूला लगानी बागलुङ नगरपालिकामा भित्राउन सके मात्र राजस्वमा वृद्धि गर्न सकिन्छ ।

यसले धेरै रोजगारी सृजना गर्न सकिन्छ ।यसरी संकलित कर र राजस्वलाई जनताको हितमा प्रयोग गर्न सकिन्छ । यसरी नै केजरीवालले दिल्लीमा जनतालाई शिक्षा,स्वास्थ्य,सडक,संचार,विद्युत,पानीमा निशुल्क,सहुलियत र राहत दिएको हो ।अहिले केजरीवालको शासनमा सरकारी शिक्षामा आमुल परिवर्तन भएको छ भने उनले चलाएको टोलकेन्द्रीत स्वास्थ्य क्लिनिकले विश्वव्यापी चर्चा पाएको छ ।

हाम्रो आर्थिक विकासमा बैंक,फाइनान्स,लघुवित्त र सहकारीको ठूलो भूमिका छ । वित्तिय संस्थाहरुले दिने साना,मझौला र ठूलो कर्जाले हाम्रो नगरको व्यवसायीक विकासमा विशेष महत्व राख्छ । व्यापार व्यवसायमा आउन चाहाने युवाहरुलाई छुट सहितको युवा उद्यमी कर्जा प्रवाह गर्न हामी लागि पर्नेछौं ।नगरको आर्थिक बजारलाई बलियो बनाउन वित्तिय संस्थाहरुसँग हाम्रो नजिको सहकार्य हुनेछ र वित्तिय सुरक्षामा हामीले ध्यान दिनेछौं ।

लोकतन्त्रको मूल मन्त्र जनताको सेवा र जनतासँगको संवाद हो

हाम्रो सपना अनि हरेक सरकारको लक्ष्य पनि यही हो ।लोकतन्त्रको मूल मन्त्र जनताको सेवा अनि जनतासँगको संवाद हो । यति बेला हाम्रो दैनिक जीवनमा यो पद्धति कमजोर र निष्क्रिय अवस्थामा छ । अब मैले यसलाई तोडेर अगाडि बढ्ने कार्यक्रम ल्याएको छु ।

जनता र नगरवासीसँग हातेमालो गरेर सपना साकार पार्न लाग्नेछु । कुनै जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम नगरी गलत बाटोमा हिँड्छ भने त्यसको खबरदारी गर्ने र जनताको विकासको सपना पूरा गर्ने जिम्मा हामीले आफ्नो काँधमा लिनुपर्छ ।

( बसन्तकुमार श्रेष्ठ बागलुङका कांग्रेस पूर्वजिल्ला समिति सदस्य, बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, धौलागिरि बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका पूर्वसभापति, लायन्स क्लब अफ धौलागिरि बागलुङका पूर्वअध्यक्ष, बागलुङ जेसीजका पूर्वअध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्