बागलुङ – बागलुङ नगरपालिकाले सेवाग्राहीको सहजताका लागि ‘फ्रण्ट डेक्स’ संचालन गर्ने भएको छ । नगरकार्यपालिकाको शुक्रबार बसेको तेस्रो कार्यपालिका बैठकले आम नागरिकको सहजताका निम्ति ‘फण्ट डेक्स’ संचालन गर्ने निर्णय गरको हो ।
‘फ्रण्ट डेक्स’ स्थापनासँगै नगरपालिका भित्र छिर्ने वित्तिकै कहाँ के गर्ने भनेर अब सेवाग्राही अलमलिनुपर्ने अवस्थाको अन्त्य हुने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।नगरपालिकाबाट प्रदान हुने हरेक सेवालाई चुस्त दुरुस्त र यहाँ हुने बेथितिको अन्त्यका लागि ‘फ्रण्ट डेक्स’ संचालन गरिने श्रेष्ठको भनाई छ ।
‘फ्रण्ट डेक्स’ संचालन गरे सँगै यहाँ बस्ने कर्मचारीले सेवाग्राहीले कुन सेवा लिन आएको हो त्यो सवै बुझ्नेछन । के के डकुमेण्ट आवश्यक पर्ने छ त्यसको बारेमा पनि जानकारी गराउनेछन ।, श्रेष्ठले भने,–‘कुन कामलाई कति समय लाग्ने कामको प्रकृति हेरेर कर्मचारीले सेवाग्राहीलाई जानकारी दिनेछन । सेवाग्राहीलाई कुपन प्रदान गरिनेछ । तोकिएको समयमा काम सम्पन्न हुनेछ । प्रत्येक शाखा शाखामा धाउनुपर्ने छैन ।’
नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्देशिका तयार
सवै सेवाग्राहीलाई एउटै दृष्टिकोणले सेवा प्रदान गरिने उद्देश्यका साथ नगरपालिकाले नागरिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्देशिका २०७९ नै निर्माण गरेर यो कामलाई अगाडि बढाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिए ।
‘फ्रण्ट डेक्स’मा एक जना अधिकृत, एक जना इन्जीनियर सहित पाँच जना कर्मचारी हुनेछन र कुन शाखामा सम्बन्धित काम हो उनीहरु मार्फत नै हुने उनले बताए । ‘नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहको मोडल परिवर्तन गर्न लागिएको हो । प्रशासकिय अधिकृत सापकोटाले भने, –‘सेवाग्राही नगरपालिका आएपछि कुन काम लिएर आएको छ त्यो बुझेर आवश्यक डकुमेण्ट तयार छ कि छैन त्यो हेरिने छ ।
सेवा ग्राही शाखामै जानु पर्दैन डेक्समा रहेका कर्मचारीले लगेर काम गरिदिने छन कति समयमा काम सकिने छ । त्यो जानकारी सेवाग्राहीलाई गराईने छ तोकिएको समयमा सेवा प्रदान गर्ने हाम्रो उद्देश्य हो ।’ सवै नागरिकलाई समान रुपमा सेवा प्रदान गर्नका निम्ति डेक्सको स्थापना गर्ने निर्णय गरिएको सापकोटाले जानकारी दिए । सेवा प्रवाह निर्देशिकालाई राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्ने उनले बताए ।
कार्यपालिका सदस्यलाई सपथ
नगरकार्यपालिकाले पुर्णता पाएसँगै बसेको बैठकमा नवनिर्वाचित कार्यपालिका सदस्यलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईएको थियो । सदस्यहरुलाई नगरप्रमुख बसन्त कुमार श्रेष्ठले सपथ खुवाएका थिए ।
विषयगत समितिलाई पुर्णता
बैठकले विषयगत समितिलाई पनि पुर्णता दिएको छ । यस अघि संयोजकको मात्र जिम्मेवारी तोकिएका सवै विषयगत समितिले पुर्णता पाएको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिए ।
पार्किङ व्यवस्थापन समितिका प्रतिवेदन
अघिल्लो बैठकमा निर्णय गरिएको बागलुङ बजारको पार्किङ व्यवस्थापनका लागि जग्गा खोज्ने जिम्मा पाएको समितिले बजार क्षेत्रका विभिन्न स्थानको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाएको छ । बानपा २ का वडा अध्यक्ष सुरज बोसेलको संयोजकत्वमा गठित समितिले बजार क्षेत्रका हरेक क्षेत्रमा पार्किङका लागि सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाएको गौतमले जानकारी दिए ।
नगर शिक्षा कोष संचालन कार्यविधि पारित
बैठकले नगर शिक्षा कोष संचालन कार्यविधि पारित गरेका छ भने नगरप्रमुखको संयोजकत्वमा हुने शिक्षा समितिलाई पनि पुर्णता दिएको छ । कार्यपालिका बैठकबाट वडा स्तरको आगामी वर्षको बजेटको सिल पठाउने र वडा तहबाट योजना छनौटका कामलाई तिव्रता बनाउने निर्णय गरेको सामाजिक विकास समितिका संयोजक गौतमले बताए । नगरप्रमुख श्रेष्ठले गरेको पहिलो निर्णयलाई कार्यान्वयमा लैजाना बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक कामलाई आगाडि बढाउने भएको छ । प्रत्येक वडामा बालसञ्जाल र नगरस्तरीय बाल सञ्जालको गठन काम कार्यपालिकाले निर्णय गरेको नगरपालिकाले जनाएको छ ।













































































































































































































