७ जेष्ठ २०८१, सोमबार

 

न्यायाधीश नहुँदा जिल्ला अदालत बागलुङमा सयौं मुद्दा प्रभावित

बागलुङ — सर्वोच्चले दिएको लक्ष्यअनुसार जिल्ला अदालत बागलुङले जेठ मसान्तमा ५ सय ६४ मुद्दा फर्छ्यौट गर्नुपर्थ्यो तर अहिलेसम्म ३ सय १० मुद्दा मात्रै फर्छ्यौट भए । जिल्ला अदालतमा दुई महिनाको अवधिमा एउटा पनि मुद्दा फैसला भएको छैन ।

वैशाख ८ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएदेखि न्यायाधीशले मुद्दा हेर्न नभ्याएपछि अदालतमा इजलास बस्न सकेको थिएन । उमेर हदले निवृत्त भएका न्यायाधीश बासुदेव न्यौपानेले जिल्ला छाडेपछि न्यायपरिषद्ले करिव ३ हप्ता ढिला गरि जिल्ला न्यायाधीश डा. दिवाकर भट्ट पठाएको छ ।

जिल्ला अदालतमा दुइ महिनापछि इजलास बस्न थालेको छ। इजलास बस्नै नपाएर मुद्दाहरू अलपत्र परेका छन् । ‘झण्डै दुई महिनासम्म इजलास नबसेको कारण धेरैको गुनासो सुनेर बसेका छौं‚’ अदालतका वैशाख ८ को प्रगतिमा अझै अंक थपिन नसकेको अदालतका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए ।

लक्ष्य पूरा गर्न अदालतले असार महिनामा मात्रै २ सय ५४ मुद्दा फैसला गर्नुपर्छ । प्रशासकीय अधिकृत मोहनबहादुर घर्तीले भने, ‘आएका मुद्दा दर्ता भइरहेका छन् तर घटाउने काम भएको छैन ।’ कोरोना महामारीले गत पुस र माघमा मुद्दा हेर्न नपाएर लक्ष्यभन्दा पछि परेकोमा यो पटक पनि न्यायाधीश नभएर झनै अप्ठ्यारो भएको घर्तीले बताए ।

असार मसान्तसम्म ७ सय ९७ मुद्दा पर्ने लक्ष्य राखिएकोमा जेठमै ७ सय ८४ मुद्दा दर्ता भइसकेका छन् । एक जना मात्रै न्यायाधीश हुने अदालतमा यो संख्या अत्यधिक हो । ‘इजलास नै ठप्प हुने गरी न्यायाधीश नपठाउनु गम्भीर समस्या हो’ उच्च अदालत बागलुङ बार एसोसिएसनका अध्यक्ष अखिलनाथ शर्माले भने, ‘मुद्दाहरू रोकिँदा जनताले सास्ती खेपेका छन् ।’

न्याय परिषदका एक अधिकारीले असार दोस्रो सातासम्म न्यायाधीश आइसक्ने जानकारी दिए । असार मसान्तमा आउँदा मुद्दाको लक्ष्य भेट्टाउन अप्ठ्यारो हुने भएकाले न्यायाधीशहरूले साउन लागेपछि मात्र जिल्ला जाने चलन छ ।

सर्वोच्च अदालतको फुलकोर्टले ५ सयभन्दा बढी मुद्दा पर्ने जिल्लामा दुई वा दुईभन्दा बढी न्यायाधीश राख्न आदेश दिए पनि परिषद्ले अहिलेसम्म कार्यान्वयन गरेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्