१५ बैशाख २०८१, शनिबार

 

स्थानीय सरकार स्वतन्त्र र स्वायत्त भएकोले चाहेमा धेरै काम गर्न सक्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

बागलुङ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्थानीय सरकार स्वायत्त सरकार भएकोले यसले चाहेमा जनताको हितमा धेरै काम गर्न सक्ने बताउनु भएको छ ।

बागलुङ नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै संघ र प्रदेशभन्दा स्थानीय सरकार स्वतन्त्र, स्वायत्त र आफै निर्णय गर्न सक्ने संस्था भएकोले लोकतन्त्र, नागरिक र संविधानको हितमा स्वतन्त्र ढंगले सेवा दिन सक्ने बताउनु भयो ।

सिहदरबार गाउँ गाउँमा भन्ने नारा त्यति उपयुक्त पनि नभएको र त्यसको गरिमा पनि त्यति नभएकोले स्थानीय सरकारले जनताको कामको लागि आफै कार्यनीति र रणनीति बनाएर अगाडि बढ्न सके धेरै परिणाम आउने श्रेष्ठको भनाई थियो ।

स्थानीय सरकारले विकास र प्रशासनिक सेवाको साथै नदि, जंगल, पर्यावरण र समग्र प्रकृतिको संरक्षण गर्न सके त्यसबाट मानव जातीले मात्र हैन प्रकृतिप्रति निर्भर सबै प्रजातिले त्यसको लाभ लिन पाउने बताउनु भयो ।

कालिका भगवती मन्दिरमा मनोरल लैजाने कुरा सुने तर भगवान प्रति आस्था र निष्ठा भएको जो कोहिलाई पनि मन्दिरसम्म जान मनोरेल आवश्यक नभएको उहाँको भनाई थियो ।

कार्यक्रम बागलुङ नगरपालिकका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले स्वागत गर्नु हुँदै बागलुङ जिल्लाको शान पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगाएत सबै अथितिहरुलाई बागलुङ नगरमा स्वागत गर्न पाउँदा धेरै खुशी लागेको बताउनु भयो ।

बागलुङ नगर राजनैतिक, धार्मिक, व्यवसायी, सामाजिक, प्रशासनिक र शैक्षिक हिसाबले इतिहास बोकेको नगर भए पनि यसको आर्थिक प्रगतिको लागि सबैले सहकार्य गर्नु पर्ने बताउनु भयो ।

अहिले पञ्चकोटमा संचालित अनन्त श्री ब्रम्हाण्डीय महायज्ञले बागलुृङलाई विश्वमा चिनाउने काम गरेकोले महायज्ञ सफल बनाउन सबै एक जुट हुनु पर्ने बेला आएको उहाँको भनाई थियो ।

कार्यक्रम बागलुङ नगरपालिकाका प्रशासन शाखा प्रमुख भिमसेन पन्तले संचालन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्