१७ बैशाख २०८१, सोमबार

 

नेवा मिसा दवुद्वारा प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई स्वागत

बागलुङ । बागलुङको नवआगन्तुक प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठलाई नेवा मिसा दवु, जिल्ला समिति बागलुङले स्वागत गरेको छ ।आईतबार प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई दवुका अध्यक्ष सोमना शाक्यले टिका र खादा ओढाएर स्वागत गर्नु भएको थियो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठको बागलुङको कार्यकाल सफल होस भनि शुभकामना दिर्दै महिलाहरुको समस्या समाधान गर्न, उनीहरुको नेतृत्व विकास र आर्थिक उन्नतिको लागि राज्य जिम्मेवार भएर लाग्नु पर्ने शाक्यले बताउनु भयो ।

कार्यक्रममा नेवा मिसा दवुका सल्लाहकार महेशचन्द्र प्रधानले बागलुङको सबै क्षेत्रमा तीनसय वर्षअघि काठमाडौं उपत्यकाबाट आएको नेवार जातिले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।तीन चार सय वर्षदेखि यस क्षेत्रको आधारभूत जग बसाल्न नेवारी समुदायले कठोर मेहनत र संघर्ष गरेको र त्यसमा महिलाहरुको पनि उल्लेख भूमिका भएको प्रधानले भन्नु भयो ।

नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले महिलाहरुको नेतृत्व हरेक क्षेत्रमा हुन सके मात्र समाज सुसंस्कृत, सन्तुलित र आधुनिक हुने बताउनु भयो । बागलुङको धर्म, भाषा, संस्कृति, कला , संगीत, जात्रा र परम्पराको संरक्षण र विकासको लागि महिलाहरुले पनि पुरुषहरुसँग हातेमालो गरेर अगाडि बढ्नु पर्ने अध्यक्ष राजभण्डारीले बताउनु भयो ।

दवुका सल्लाहकार प्रर्मिला राजभण्डारीले महिलाहरुलाई अगाडि बढ्न हरेक क्षेत्रमा चुनौति भएकोले त्यसको सामना गरी सहि व्यवस्थापना गरेर अगाडि बढ्न सके सफल भइने बताउनु भयो ।कुनै पनि देशको पहिचान भनेको त्यस देशको नागरिकले अबलम्बन गरेको धर्म, भाषा, संस्कृति, जात्रा र परम्परा भएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनु भयो ।

समाजको राजनैतिक, आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा महिलाहरुले महत्वपूर्ण भूमिका खेल्ने भएकोले नेवारी भाषा र संस्कृतिको संरक्षण र प्रबद्धर्नमा नेवा मिसा दुबका महिलाहरु एक जुट भएर सबैसँग सहकार्य गरेर अगाडि बढ्न सकोस प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।

शैक्षिक, सामाजिक, व्यवसायीक, प्रशासनिक लगाएत हरेक क्षेत्रमा महिलाहरुले कठोर मेहनत गर्न सके उनीहरु सफल हुनुका साथै देश र समाजले पनि लाभ लिन सक्ने श्रेष्ठले भन्नु भयो ।बागलुङ जिल्लाको भूगोलको अवस्था अनुसार जिल्ला प्रशासनले दिने सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने, शान्ति सु–व्यवस्था कायम राख्न प्रशासन र नागरिकबीच नङ र मासुको संम्बन्ध कायम गर्न आफू बागलुङको सबै पालिकाहरुमा पुगेर त्यहाँको बारेमा सहि जानकारी लिन लागेको श्रेष्ठले भन्नु भयो ।

आफनो निजामति सेवाको यात्राको अनुभव र अभ्यास सुनाउदै महिलाहरुसँग भएको क्षमता र संम्भावनालाई उजागर गर्न महिलाहरु आफै लाग्नु पर्ने र अहिले विगतका महिलाहरुले भोगेका जस्तो दुखदायी अवस्था नभएको तर विपन्न महिलाहरुको अवस्था भने अहिले पनि जटिल र समस्याले जेलिएको श्रेष्ठले भन्नु भयो ।

कार्यक्रम नेवा मिसा दवु, जिल्ला समिति बागलुङका अध्यक्ष सोमना शाक्यको अध्यक्षता, स्वागत उपाध्यक्ष मनमाया श्रेष्ठले र संचालन सचिव अर्चना पालिखेले गर्नु भएको थियो ।२०७३ साल चैत्र १९ मा बागलुङको नेवार महिलाहरुको नेतृत्व विकास र सशक्तिकरणको लागि काम गर्ने र नेवार समुदायको भाषा, धर्म, संस्कृति, कला, संगीत, जात्रा, परम्परा संरक्षण र विकासको लागि भनि नेवा मिसा दवु जिल्ला समिति बागलुङ स्थापना गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्