बागलुङ । पाँच सय वर्ष पुरानो ऐतिहासिक चैत्राष्टमी मेला बागलुङमा सञ्चालन हुने भएको छ । गण्डकी प्रदेशकै महत्वपुर्ण मेलाको रुपमा चिनिने चैत्राष्टमी मेला बागलुङमा यस वर्ष पनि हुन लागेको हो।
विसं १५९१ सालदेखि नियमित रुपमा सञ्चालन हुदै आएको चैत्राष्टमी मेला यस वर्ष पनि कला संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको शनिवार बागलुङमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङको आयोजनामा यहि चैत्र १३ गतेदेखि १७ गतेसम्म मेला आयोजना हुने भएको कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनु भयो ।
“गन्तव्य बागलुङ कालिका–कला संस्कृतिको प्रदर्शन,स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रबद्र्धन” भन्ने मुल नाराका साथ मेला पाँच दिनसम्म संचालन हुने छ । मेलामा नयाँ तथा पुराना मौलिक लोक तथा दोहरी गीतको प्रस्तुति, स्थानीय उत्पादन, घरेलु सामाग्रीको प्रर्दशनी बिक्री बितरण हुने कालिका भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खडकाले बताउनु भयो ।

मेलाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक गरिमाको अभिबृद्धि हुने छ, खडकाले भन्नु भयो, हस्तकला सामग्रीहरुको प्रदर्शनी र बिक्री बितरणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने खालको कार्यक्रमहरु भएको जानकारी गराइयो । मेलालाई थप आर्कषित गर्न विभिन्न झाँकी, कालिका कप खुल्ला भलिबल, राष्ट्रिय लोक दोहोरी गीत तथा छेलो प्रतियोगिता हुनुको साथै र रथ यात्रा र रमाइलो मेला पनि संचालन हुने छन् ।
मेला अवलोकनको लागि करीव ५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रने आयोजनको दाबी छ । कालिका भगवतीको दर्शन गर्न र मेला हेर्नको लागि प्रत्येक वर्ष धौलागिरिका चार जिल्लाका साथै देशका विभिन्न जिल्ला र भारतदेखि नागरिकहरु आउने गर्दछन । मेलामा ३० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । प्रसिद्ध कालिका मन्दिरमा लाग्ने चैत्राष्टमी मेला ऐतिहासिक,धार्मिक, सांस्कृतिक,पर्यटकीय एवं आर्थिक दृष्टिकोणले महत्वपुर्ण रहदै आएको छ ।
पर्वतका राजा प्रतापी नारायण मल्लले वि.सं. १५९० मा राज्यरोहण गरेका थिए । उनको विवाह १५९१ मा पाल्पाका राजा मणि मुकुन्दसेनकी छोरीसँग भयो । विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रुपमा बुबासँग मागेर आफूसँगै ल्याएकी थिइन् ।
पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको ठाउँमा बिसाएर उठाउँदा नउठेपछि राजदम्पत्तीले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्बदन्ती छ । वर्षको दुई पटक चैते दशैं र बडा दशैंमा नियम पूजा (जसलाई सरकारी पूजा पनि भनिन्छ) हुदैँ आएको छ । नियम पूजामा पन्चबली चढाइन्छ ।
सामान्यतया पाँच बलि अन्तर्गत १ बोका, २ राँगो, ३ कुखुरा, ४ परेवा र ५ सुँगुर पर्दछन् । भक्तजनहरुले विभिन्न मनोकामना पूर्ण हुने इच्छा राखी पूजापाठ गर्ने, सुन चढाउने, बलि दिन बोका, कुखुरा, राँगा आदि ल्याउने गर्दछन् ।
















































































































































































