१७ बैशाख २०८१, सोमबार

 

पोखरामा ‘आलु महोत्सव’

कास्की । ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’ आउँदो आइतबारदेखि सुरु हुँदैछ । पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजक विष्णु पादुका क्लबले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण तीन वर्ष रोकिएको महोत्सवलाई यस वर्षदेखि पुनः निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए । महोत्सव आउँदो वैशाख ३ गतेसम्म चल्नेछ ।

व्यावसायिक कृषिको प्रवर्द्धनका साथै हेम्जालाई कृषि–पर्यटनको ‘हब’का रूपमा चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

आलुलगायत ताजा तरकारीको बहृत् प्रदर्शनी, आलुका परिकारको प्रदर्शनी एवं बिक्री, आलुको पहाड निर्माण, कृषि झाँकीलगायत महोत्सवका आकर्षण रहनेछन् ।

किसानलाई लक्षित गरी माटो, बोटबिरुवा परीक्षण तथा रोगको निदान, कृषि उपज, बिउविजन, कृषियन्त्र, उपकरण आदिको प्रर्दशनी, कृषिसम्बन्धी सांस्कृतिक प्रस्तुती, कृषक सम्मानलगायतका कार्यक्रम पनि राखिएको छ ।

महोत्सव अवलोकनमा जाने सर्वसाधारणलाई आलुलगायत कृषि उपज किनमेलका लागि छुट्टै बिक्रीकक्ष निर्माण गरिने आयोजकले जनाएको छ । कृषिका तीस वटा व्यावसायिक ‘स्टल’ रहनेछन् । अन्य व्यापारिक ‘स्टल’ ८० वटा रहने क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

ुकृषकलाई निःशुल्क रूपमा स्टल उपलब्ध गराउँछौँ,ु उनले भने, ुमुख्यगरी कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव राखिएको हो ।

क्लबका सचिव वसन्त श्रेष्ठले महोत्सव आयोजना हुन थालेपछि हेम्जाको आलु देशमै ‘ब्राण्ड’ बनेको उल्लेख गरे । ुआलुका माध्यमबाट हेम्जालाई चिनाउने हाम्रो ध्येय हो, महोत्सवले आलु गाउँका रूपमा हेम्जालाई स्थापित गरिसकेको छ,ु उनले भने, ुकृषिलाई पर्यटनसँग जोड्न महोत्सवले टेवा पुर्‍याएको छ ।ु

महोत्सवमा विविधता र आकर्षण थप्न मनोरञ्जनात्मक गतिविधिलाई पनि समेटिएको आयोजकले जनाएको छ । कलाकारहरूको साङ्गीतिक प्रस्तुती, रमाइलो मेला, बाल उद्यान आदिले पनि मेलामा आकर्षण थप्नेछ ।

पोखरा महानगरपालिकाको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले हेम्जा आलुका लागि उर्बर ठाउँ भएको बताए । उनले आलु महोत्सवले व्यावसायिक कृषिको महत्व अझै बढाएको उल्लेख गरे । महोत्सवलाई किसानको हितसँग जोड्नुपर्ने प्रमुख कडरियाले बताए ।

महानगरको कृषि शाखाका अनुसार हेम्जामा झण्डै तीन सय हेक्टरमा आलु खेती हुँदै आएको छ । किसानले वार्षिक दस करोड बराबरको आलु उत्पादन गर्दै आएका छन् । महोत्सवले व्यावसायिक आलु खेतीतिर किसानलाई आकर्षित गरे पनि उब्जाउ जग्गा भने घट्दै गएको छ ।

केही वर्षअघिसम्म चार सय ५० हेक्टरमा आलु खेती हुँदै आएको थियो । घरघडेरीका नाममा खेतीयोग्य जमिन नासिँने क्रम बढ्दो छ ।

गुणस्तरीय बिउ, मलको अभाव, हावापानीमा आउने परिवर्तनजस्ता कारणले पनि आलुको उत्पादकत्व घट्ने गरेको कृषि विज्ञहरू बताउँछन् ।हेम्जामा ‘एमएस–४२’, खुमल लक्ष्मी, जनकदेवलगायत जातिका आलु बाली लगाउने गरिन्छ । हेम्जाका एक हजार २० घरपरिवार कृषिमा आधारित छन् भने पाँच सय ४० किसानले व्यावसायिक आलु खेती गर्छन् ।

प्रतिक्रिया दिनुहोस्