गण्डकी । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी बजेट पहुँच भन्दा पनि आवश्यकता हेरेर ल्याईने बताउनु भएको छ ।
बागलुङ नगरपालिकाका जनप्रतिनिधिको एक वर्ष पूरा भएको अवसरमा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउदै पहुँच नभई आवश्यकताको आधारमा बजेट विनियोजन गर्ने तयारी गरेको बताउनु भयो ।
संघीयता आएपछि दुर दराजसम्म विकास हुन थालेको बताउनुभयो । पहाडी क्षेत्रमा बसाईसराई हुने क्रम बढेको भन्दै विकास गाउँमा पुग्दा जनताले गाउँ छाडि सक्ने हुनकी भन्ने चिन्ता बढ्न थालेको बताउनु भयो ।
स्थानीय तह सबैभन्दा नजिकको सरकार भएको हुँदा नागरिकलाई सर्वसुलभ र सहज रुपमा सेवा दिनु पर्ने बताउदै नागरिकले स्थानीय तहबाट धेरै अपेक्षा गरिरहेकोले जनप्रतिनिधिले जनताको चाहना बुझेर काम गर्नु पर्ने धारण राख्नु भयो ।आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा स्थानीय तहले गर्न नसक्ने योजना मात्रै गण्डकी प्रदेश सरकारले प्राथमिकता दिइने बताउनुभयो । जनताले देखिने गरि र महशुस गर्ने गरि काम गर्ने उहाँको भनाइ छ ।
नगरबासीका असीमित चाहना, नगरले खोजेको विकास र समृद्धिको सपना, सीमित बजेट र अव्यवहारिक कानुनी व्यवस्थाको चुनौतीको बावजुत पनि आफूले लिएको संकल्प र नगरवासीका चाहनालाई बाँकी चार वर्षमा पुरा गर्ने गरी विकसित र सुन्दर बागलुङ नगरपालिकाको जग बसाल्न शुरु गरेको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।
जनताको अभिमतका साथ आफू निर्वाचित भएको एक वर्ष पुरा हुँदा आफनो नेतृत्वमा सिंगो नगरपालिकाको टिमले नगरपालिका, वडा र अन्य कार्यालयबाट दिइने सेवालाई अत्याधुनिक र प्रभावकारी बनाउनको लागि आफू लागि परेको र यसको लागि सम्पूर्ण कर्मचारी साथीहरु अहोरात खट्नु भएको बताउनु भयो ।
जनताको विकासको चाहनालाई पुरा गर्नको लागि जनसहभागिता मूलक दिगो विकासको कार्यक्रम नगरपालिकाले अगाडि बढाएको नगरप्रमुख श्रेष्ठले भन्नु भयो ।
कर्मचारीबाट हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन कार्य क्षमता बढाउनको लागि तालिम र भ्रमणको कार्यक्रम रहेको छ ।। नगरको सेवा प्रवाह र विकास निर्माणसँग कुनै गुनासो र सुझाव भएमा समयमै जानकारी प्राप्त हुन सके समयमै सुधार गरेर अगाडि बढ्ने नगर प्रमुख श्रेष्ठले भन्नु भयो ।नगरवासी जनताको चाहना र अपेक्षा धेरै छन् ।
नगरको साधन श्रोत थोरै छ । गाउँ र शहरमा बस्ने जनताको बेग्ला बेग्लै समस्याहरु छन् । ती समस्याहरुलाई समयमै समाधान गर्नको लागि नगरपालिका र वडा कार्यालयको कार्य क्षमता बढाउनु पर्ने छ ।
बागलुङ नगरका उद्योगी व्यवसायीहरुलाई आर्थिक मन्दीले पिरोलिएका समस्याहरु हल गरी उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने नीति ल्याउन लागेको छौं । यस नगरमा राष्ट्रिय र स्थानीय उद्योगी व्यवसायीहरुको थप लगानी ल्याएर रोजगारी सृजना गर्ने र नगरको कर र राजस्वमा वृद्धि गर्नको लागि लगानीमैत्री कार्याक्रम ल्याउन लागेको नगरप्रमुख श्रेष्ठले भन्नु भयो ।
आफू निर्वाचित भएर आएपछि बागलुङ नगरपालिकाको ९३ प्रतिशत योजना सम्पन्न भइ सकेको छ ।६६० वटा योजना अगाडि सारेको ६०९ वटा योजना सम्झौता भएको र हालसम्म ३३० वटा योजना सम्पन्न भएको बताउनु भयो ।
नगर प्रमुख श्रेष्ठले नगरपालिकाले शिक्षा, पशुपालन, वन, सडक, संचार, बसपार्क, वित्तीय सेवा, अस्पताल निर्माण, एक घर एक धारा, स्वास्थ्य, सिँचाई, खानेपानी, पर्यटन, ट्राफिक व्यवस्थापन, सिसी क्यामरा जडान, फोहर व्यवस्थापन, खेलकुद, ढल व्यवस्थापन, वडा कार्यालयसम्म पिच गर्ने लगाएतको विकासका कार्यहरु कतिपय सम्पन्न भएको, कतिपय सुरु भएको र कतिपय आगामी वर्षको नीति तथा कार्यक्रममा आउने श्रेष्ठले भन्नु भयो । बागलुङ बजार र विभिन्न वडाहरुमा सडक पिच र ढल निर्माणको काम धमाधम भइ रहेको बताउनु भयो ।
बागलुङ नगरपालिका भित्र गाउँ र बजारको खानेपानीको समस्या यथावत रहेको र त्यसलाई समाधान गर्न सबैको सहयोग चाहिएको नगर प्रमुख श्रेष्ठले बताउनु । दिगो विकास र आर्थिक समृद्धिको लागि नगरमा भएको बजेट मात्र अप्रप्यात भएकोले पहिलेका गौरवका पूर्वाधार सम्पन्न गर्न र नयाँ विकासको योजनाको लागि प्रदेश र संघको विभिन्न विषयगत मन्त्रालयबाट बजेट ल्याएर भए पनि जनताको विकासको चाहना पुरा गर्न आफू लागि परेको बताउनु भयो ।
यसको लागि जिल्ला र छिमेकी जिल्लाबाट प्रदेश र संघका प्रतिनिधित्व गर्नु हुने मन्त्रीहरु र सांसदहरुको महत्वपूर्ण सहयोग र साथ चाहिएको उनले बताउनु भयो ।बागलुङ नगरपालिकाको आफ्नो भवन नहुँदा सेवा प्रभावकारी हुन सकेको छैन् ।
नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि जग्गा व्यवस्थापनको लागि आफू जुटिरहेको र सुविधा सम्पन्न भवन नहुँदा धेरै ठाउँबाट सेवा दिनुपर्दा सर्वसाधारण जनतालाई समस्या परेको उनले भन्नु भयो ।बागलुङको वलेवा बिमानस्थल बनेपनि त्यहाँसम्म जाने सडक पिच नभएकोले विमानस्थल जाने बाटो छिटो पिच गर्न सबै सरोकारवालाहरु मिलेर दबाब दिनु पर्ने बताउनु भयो ।
सुन्दर, समृद्ध र विकसित बागलुङ नगर बनाउनको लागि नगरपालिकाले उठाउने कर र राजस्व प्रयाप्त नभएकोले प्रदेश र संघका विषयगत मन्त्रालयहरुबाट ठूलो बजेट ल्याउनको लागि निरन्तर पहल भएको नगर प्रमुख श्रेष्ठले भन्नु भयो ।नगरपालिकाबाट गर्न खोजिएको राम्रो काममा पनि उजुर दिने गलत प्रवृत्तीलाई संचार जगत र जनताले पनि निरुसाहित गर्नु पर्ने नगर प्रमुख श्रेष्ठले भन्नु भयो । कसैले दुःख दिने तथा कसैलाई हानि नोक्सानी पुर्याउने गरी गरिने यस्ता कार्यले कसैको पनि हित नगर्ने नगरप्रमुख श्रेष्ठले भन्नु भयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाले जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा, प्रदेश सभा, पूर्वजनप्रतिनिधि, किसान, व्यवसायी, विद्यार्थी, विद्यालय, विद्यालय व्यवस्थापन समिति, खेलाडि, कर्मचारी, पत्रकार र सामाजिक व्यक्तित्व गरी ६० जनाभन्दा धेरैलाई सम्मान गरिएको थियो।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री दिपेन्द्र थापा, संघिय सांसद देवेन्द्र पौडेल, गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापा, प्रदेश सभा सदस्य कुशुम बुढा, बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता प्रशासन शाखा प्रमुख भिमसेन पन्तको संचालन र उपप्रमुख राजु खड्काको धन्यबाद मन्तव्य सहित सम्पन्न भएको थियो ।
बागलुङ नगरको विकास, सम्मृद्धि र सुशासनको लागि नगरवासीले गरेको विश्वास र दिएको अभिभारा पुरा गर्न आफ्नो टिम लागि पर्ने नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।


























































































































































































