१७ बैशाख २०८१, सोमबार

 

भू-संरक्षण तथा जलाधार कार्यालय पर्वतले ९५ हजार डालेघाँसका विरुवा वितरण गर्दै

भू -संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा १५ हजार डालेघाँसका विरुवा वितरण गर्न थालेको छ ।

भूसंरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा बागलुङको नर्सरीमा उत्पादन गरेका १५ हजार डालेघाँसका विरुवा किसानलाई वितरण गर्न थालिएको हो । विरुवा सोमबार बागलुङ नगरका नगरप्रमुख वसन्त कुमार श्रेष्ठले किसानलाई हस्तान्तरण गरेर शुभारम्भ गर्नुभएको थियो । श्रेष्ठले डालेघाँसले किसानलाई मात्र नभएर भूसंरक्षण र वातावरणको क्षेत्रमा समेत सहयोग गर्ने बताउनुभयो ।

पशुपालनका लागि सहज हुने डालेघाँसले भू तथा जलाधारको क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । सडकको छेउछाउ, खोल्साखोल्सी र खोलानाला छेउमा डालेघाँस रोप्दा पशुपालन र भूक्षय नियन्त्रणमा सहयोग पुग्ने बताउनु भयो ।

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले यस वर्ष भू–क्षय न्यूनिकरणसँगै कृषकहरुको आयआर्जनमा समेत सुधार ल्याउने उद्धेश्यले करिव ९५ हजार डालेघाँसका विरुवा वितरण गर्न सुरु गरिएको भू-संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका कार्यालय प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो ।

कार्यालयले पर्वत, बागलुङ, म्याग्दी, र स्याङ्जाका कृषकलाई विरुवाहरुलाई ७० हजार विरुवा वितरण गर्न योजना बनाएकोमा करिव ९५ हजार विरुवा उत्पादन भएकोले सवै स्थानीय तहलाई अनुपात मिलाएर असार मसान्तसम्म वितरण गरिसक्ने योजना बनाएको कार्यालय प्रमुख पौडेलले बताउनु भयो ।

राइखन्यू, निमारो, किम्बु, टाँकी, बैंस, कुरीलो, अमला, बाँस, तेजपात लगायतका गुणस्तरीय विरुवाहरुको वितरण थालिएको छ ।

कार्यालयले १० लाख रुपैया भन्दा बढिको लागतमा विरुवाहरु तयार पारेका थियो । हरेक वर्ष डालेघाँसका विरुवाहरु वितरण गर्दै आएको कार्यालयले कृषकहरुलाई गाईबस्तु पालन गर्नका लागि सहज हुनुका साथै भू- क्षय, पहिरो जस्ता जोखिम न्यूनिकरणमा टेवा पुगेको उहाँको कार्यालयको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्