६ जेष्ठ २०८१, आईतवार

 

बाजेबजैले सुनाए बालवालिकालाई पौराणिक र दन्त्य कथा

बागलुङ । विद्यामन्दिर पुस्तकालय बागलुङको आयोजनामा ‘बाजेबज्यैको कथा, मेरो चित्र कार्यक्रम’ आयोजना गरिएको छ । रिड नेपाल सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

पछिल्लो समय एकल परिवार रहने चलन विकास भएका सँगै बाजेबज्यैसँग नातिनातिनाहरू प्रायः साथमा नुहुने प्रचलन बढ्दै गएको भन्दै नातिनातिनाले बाजेबज्यैका अनुभवहरू सुन्न नपाउने र नातिनातिनाको सम्बन्ध प्रगाढ हुन नपाउने एवं तीन पुस्ताबिचको खाडललाई कम गर्न कार्यक्रम आयोजना गरिएकोहो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले एकल परिवार रहने चलन र वैदेशिक रोजगारीको कारण बाजेबज्यैसँग भएका ज्ञान सिप नातिनातिनासम्म पुग्न नसकेको बताउनु भयो । भौतिक सुविधा भोग गर्ने सस्कृतिको विकास हुँदै गएको कारण पहिलो र तेस्रो पुस्ताविच रहेको दुरी नजिक बनाउन आवश्यक रहेको बताउनु भयो ।

नगर प्रमुख श्रेष्ठले ‘बाजेबज्यैको कथा, मेरो चित्र कार्यक्रमले कल्पनाशीलता र सिर्जनशीलताको विकास हुने बताउनु भयो । कार्यक्रमममा वरिष्ठ बालसाहित्यकार प्राध्यापक डाक्टर ध्रुव घिमिरे, बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रको बारेमा प्रकास पार्दै रिड नेपालका फिल्ड संयोजक विना गोलेले बाजेबज्यैहरूसँग रहेका कथाहरू उनीहरूको शेषपश्चात उनीहरूसँगै हराएर जाने भएकाले पाकाहरूसँग रहेका पुराना इतिहास, अनुभव,अभ्यास, किंवदन्तीहरूलाई सुरक्षित गरि बालबालिकामाझ प्रस्तुत गर्न लगाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनु भयो ।

गोलेले बालबालिकालाई कथा टिपोटको तरिका सिकाउँदै कथाहरू लेख्न लगाउने, उनीहरूलाई चित्र बनाउन सिकाउँदै बालबालिकाद्वारा नै लेखिएको कथामा चित्र बनाउन लगाउने तथा यसका विषयमा विशेषज्ञहरूबाट सम्पादन गर्दै एक सचित्र पुस्तक प्रकाशन गर्ने यस कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो ।

उद्घाटन कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत र सचिव राजन शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बाजेबज्यैले बालबालिकाका लागि विशेषगरी पौरानिक, दन्त्य र किंवदन्तीमा आधारित कथाहरू सुनाउनु भएको थियो भने बालबालिकाले सुनेका कथालाई टिपोट गरी लेख्ने कार्य गरेका थिए भने बालबालिकाले नै कथालाई सुहाउने चित्रसमेत बनाएका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकहरुले आफ्ना पालामा देखेसुनेका सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदाका, परम्परगत व्यवहार,ज्ञान,सिप, जात्रा र मेलाहरू, सामाजिक मूल्य र मान्यता, चलेका किंवदन्ती, पौराणिक,ऐतिहासिक,दन्त्यलागयतका कथाहरू सुनाउनु भएको थियो । यिनै कथाहरू सुन्दै बालबालिकाहरूले टिपोट गरेर कथा लेखेका थिए ।

नागरिक समाजका संयोजक काजि गाउँले श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी बागलुङका पूर्वसभापति विश्वनाथ रेग्मी, साहित्यकार मुकुन्द शाक्य, कलाकार ठाकुर जंग राजभण्डारी, समाजसेवी दुर्गा बहादुर आचार्य, खिमा चोखाल, विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष हरिहर श्रेष्ठ, कालिका भगवती गुठी बागलुङका सचिव भरत खड्का र शिक्षासेवी ईश्वरी गौतमले कथा सुनाउनु भएको थियो ।कार्यक्रममा बागलुङ सदरमुकामका नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।

आगामी शनिवार कथा सुनेर सोही आधारमा बालवालिकाले चित्र समेत कोर्ने छन् । साथै बागलुङ बजारमा रहेका जेष्ठ नागरिकहरु कहाँ पुगेर थप कथाहरु संकलन गर्ने कार्यक्रम रहेको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले जानकारी दिनु भयो ।

दुई दिने कार्यक्रमपश्चात सहजकर्ताहरूले यी सबै कथाहरूलाई एक सुत्रमा बाँधेर, बालबालिका तथा बाजेबज्यैका सुझाव लिई, सम्पादन गरेर नेपाली र अग्रेजी भाषामा पुस्तक प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस्तक रिड नेपालले प्रकाशन र दशैभरि वितरण गर्ने योजना रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्