बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले बजार क्षेत्रको सडक फराकिलो बनाउन सक्रियता बढाएको छ । कुश्मीसेरा बजारमा पैदल यात्रुलाई हिड्डुल गर्न सहज बनाउन र सफा, सुन्दर सडक बनाउन सडक किनारका अनावश्यक टहरा हटाएको छ ।
नगरपालिकाले पसलको पेटी र बाहिर झुण्डाईने सामानहरु पसलभित्रै व्यवस्थित गर्न व्यवसायीलाई आग्रह गरेको छ ।जैमिनी नगरपालिकाले पनि पटक पटक सूचना गरेर सडक मापदण्डमा पर्ने संरचना हटाउन आग्रह गरेपछि कुश्मीशेरा बजारका अधिकांश संरचना स्थानीय जनताले आफै हटाएका थिए ।
जैमिनी नगरपालिकाले पालिकाको केन्द्र रहेको कुश्मीसेराको मुल सडक ८ मिटर र भित्रि सडक ६ मिटर कायम हुनुपर्ने मापदण्ड बनाएको नगर उपप्रमुख हरिहर शर्माले बताउनु भयो ।
साँघुरो सडकलाई फराकिलो बनाउनका लागि नगरपालिकाले चालेको कदममा स्थानीयले सघाएको कारण सहज भएको नगर उपप्रमुख शर्माले बताउनु भयो । नगरपालिको केन्द्र भएकाले कुश्मीशेरा बजारबाटै सडक मापदण्ड कायम गराउने काम सुरु गरेको नगरपालिकाले जनाएको छ ।
























































































































































































