३ कार्तिक २०८३, सोमबार

 

बागलुङको जैमिनीका १० वटा वडाहरुमा मेलमिलाप केन्द्र स्थापना

बागलुङ । जैमिनी नगरपालिकाले आफनो सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । स–साना विवादहरुलाई वडातहमा नै समाधान गर्ने उद्देश्यले जैमिनी नगरपालिकाको १० वटै वडामा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेको हो ।

न्याय निरुपणका लागि सहज होस् भनेर जैमिनी नगरपालिकाको न्यायिक समितिको तर्फबाट वडा तहमा नै मेलमिलाप केन्द्र स्थापना गरिएको न्यायिक समितिका संयोजक तथा जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले नयाँ विश्वलाई जानकारी दिनुभयो ।

स्थानीय सरकार गठन भैसकेपछि नागरिकहरुले घर दैलोबाट नै सेवा पाउनुपर्ने अधिकारलाई मध्यनजर गर्दै स्थापना गरिएको मेलमिलाप केन्द्रमा सूचिकृत मेलमिलापकर्ताहरुले विवादको समाधान गराउने छन् । सामान्य विवादलाई वडामा नै मेलमिलाप गराउने र मेलमिलापमा नगएमा न्यायिक समितिमा छलफल गराउने कानुनी व्यवस्था रहेको छ ।

जैमिनीका नागरिकहरुले पनि अब सामान्य विवादको लागि ठूलो खर्च गरेर अदालतसम्म पुग्नु नपर्ने भन्दै उपप्रमुख शर्माले मेलमिलाप कर्ताहरुले दुवै पक्षलाई न्याय हुने गरी मेलमिलाप गराउने बताउनुभयो । मेलमिलाप गराउदा पूर्ण रुपमा गोपनीयता कायम हुने र नियममा रहि मेलमिलाप गराउने भएकाले समस्या आएमा मेलमिलाप केन्द्रमा निवेदन दिन आग्रह समेत गरिएको छ ।

मेलमिलापको तालिम लिएका वडा तहका मेलमिलापकर्ताहरुलाई सूचिकृत गराउने र वडा तहमा आएका विवादहरुलाई वडामा नै मेलमिलाप गराउने नगरपालिकाको तयारी रहेको छ । जैमिनी नगरपालिकाले वडाका केहि नागरिकलाई मेलमिलापकर्ताको तालिम दिएको थियो ।

पहिलो कार्यकालमा जनप्रतिनिधि र केहि नागरिकहरुलाई तालिम दिइएकोमा दोस्रो कार्यकालका जनप्रतिनिधि आएपछि प्रत्येक वडाका ३ जनाको दरले स्थानीयहरुलाई तालिम दिएको नगरपालिकाले जनाएको छ ।नव निर्वाचित जनप्रतिनिधिहरुको लागि मेलमिलाप कर्ताको तालिम दिने तयारी भैरहेको उपप्रमुख शर्माले बताउनुभयो । मेलमिलाप केन्द्र स्थापनासँगै केन्द्रको लागि आवश्यक पर्ने सामग्री समेत हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung