३ कार्तिक २०८३, सोमबार

 

गलकोटमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न मेयर गैरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन

बागलुङ । गलकोट नगरपालिकामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सरोकारवालाले तयारी थालेका छन् । त्यसको लागि गलकोट नगरपालिका र राजनैतिक दलहरुबिच संवाद सुरु भएको छ ।

यस अघि विसं २०७५ साल फागुनमा ईलाका प्रशासन कार्यालय स्थापना गर्न सर्वदलिय, सर्वपक्षिय बैठक बसेर सर्वसम्मत निर्णय गरी नेपाल सरकार समक्ष माग पेश गरिएको थियो । सरकारका तर्फबाट प्रतिवद्वता जाहेर भएता पनि कार्यान्यवन नभएको भन्दै पुन उक्त कार्यलाई अगाडि बढाईएको छ ।

इलाका प्रशासन कार्यालय स्थापना गर्न राजनैतिक दलले सरोकार पक्षसँग संवाद प्रक्रिया अघि बढाएको हुन् । देशमा संघिय गणतन्त्र स्थापनाको यत्तिका वर्ष बितिसक्दा समेत मध्यभागमा रहेका गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाका नागरिकहरु नागरिकता, राहदानी लगायतका अत्यावश्यक सरकारी सेवा लिन सदरमुकाम धाउनु पर्ने बाध्यता कायमै रहेको छ ।

यहाँका जनताले नागरिकता लगायत सरकारी सिफारिस जस्ता आधारभुत अत्यावश्यक सेवा लिन असहज रहेको भन्दै सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य गर्न गलकोट नगरपालिकासहित राजनीतिक दलले आवश्यक पहलका लागि सक्रियता देखाएका हुन् ।

ईलाका प्रशासन कार्यालय स्थापनाको माग गर्न गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिको सह संयोजकमा नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मी र सदस्यहरुमा नेपाली कांग्रेस गलकोट नगर सभापति विरजंग भण्डारी, नेकपा एमालेका गलकोट नगर अध्यक्ष पुर्ण काउचा र राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक बहादुर केसी रहनुभएको छ ।

यस क्षेत्रमा ईलाका प्रशासन कार्यालय स्थापना गर्ने विषयमा अन्य पालिकाहरु ताराखोला, बरेङ, बडिगाडका जनप्रतिनिधि सहित सरोकारवालासँग अन्तरकृया सहित आवश्यक समन्वय गरिने नेपाली कांग्रेस गलकोट नगर सभापति विरजंग भण्डारीले जानकारी दिनुभयो ।

सामुदायिक रेडियो गलकोटबाट

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung