१७ बैशाख २०८१, सोमबार

 

व्यवस्थापनको ‘टर्चर’ थेग्न नसकेपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रमुखद्वारा आत्महत्या

काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडा शाखा प्रमुख (बिएम) निराजन देवकोटाले आत्महत्या गरेका छन्।

तत्कालीन मेगा बैंकका कर्मचारी देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ।

मेगा बैंक हेटौडा शाखाबाट प्रवाहित कर्जाको विषयमा इन्भेस्टमेन्ट बैंक केन्द्रीय कार्यालयबाट अनुसन्धानका नाममा पटक पटकको दिइएको ‘टर्चर’ थेग्न नसकेपछि देवकोटाले चौथोपटक स्पष्टीकरण दिएर फर्किने क्रममा त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ।

प्रहरीले देवकोटाको खोजी गरिरहेको धादिङ जिल्ला प्रहरी कार्यालय प्रवक्ता गौतम मिश्रले बताए।

‘उहाँ हेटौंडाबाट काठमाडौं जानु भएर फर्किने क्रममा धादिङ घाटबेसीको पुलबाट त्रिशूलीमा हाम फालेर आत्महत्या गर्नुभएको प्रत्यक्षदर्शीले बताएका छन्, तर आजसम्म शव भेटिएको छैन,’ प्रहरी प्रवक्ता मिश्रले क्यापिटल नेपालसँग भने, ‘हिजो खबर हुँदाहुँदै राति अबेर भइसकेको थियो, खोज्न सकिएन।

आज बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर खोज्दा पनि मान्छे फेला परेको छैन। प्रहरीले उहाँ काम गर्ने बैंक र परिवारलाई खबर गरिसकेको छ।’

देवकोटाको घर हेटौंडा उपमहानगरपालिका–२ चौकीटोल हो।‘प्रत्यक्षदर्शीसँग सोधपुछ गर्दा उनी काठमाडौं केन्द्रीय कार्यलय पुगेर फर्किने क्रममा हाम फालेर आत्महत्या गरेको बुझियो।

शव अहिलेसम्म फेला परेको छैन, आन्तरिक कारणबारे थप अनुसन्धान हुँदैछ,’ धादिङ प्रहरी प्रवक्ता मिश्रले भने।

प्रहरीका अनुसार धादिङ गजुरी गाँउपालिका–५ घाटबेसीदेखि राजमार्ग छाडेर त्रिशूली पारि जाने पुलको बीचमा आफ्नो मोटरसाइकल रोकेपछि चप्पल खोलेर हाम फालेको माछा मार्ने एकजना माझीले प्रत्यक्ष देखेका थिए। प्रहरीलाई खबर पुग्दासम्म अँध्यारो भइसकेकाले खोजी कार्य तत्काल गर्न नसकिएको हो।

आत्महत्याको कारण

तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकले २०७९ पुस २७ बाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका नामबाट एकीकृत कारोबार सुरु गरेका थिए।

बैंकनिकट स्रोतका अनुसार उनलाई व्यवस्थापनले कर्जाको विषयलाई लिएर अनुसन्धान गरिरहेको थियो।

इन्भेस्टमेन्ट बैंकसँग मर्जर हुनुअघि कर्जाको विषयलाई लिएर अनावश्यक तनाव दिने र धम्की दिनेलगायत टर्चरले देवकोटा मानसिक तनावमा रहेको बैंक स्रोतले बतायो।

‘इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएपछि व्यवस्थापनले कर्जाको विषयलाई लिएर मेगा बैंक पक्षका तीन शाखा प्रमुखलाई मानसिक तनाव दिँदै आएको छ।

उनलाई पनि सोही क्रममा मानसिक तनाव दिने अनावश्यक सोधपुछ गर्ने र धम्कीसमेत दिने गरिएको थियो,’ बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘उनलाई पनि लोनको विषयमा अनुसन्धान गरिरहेको छ।

हिजो सोधपुछका लागि हेड अफिस बोलाइएको थियो। पारिवारिक कारणबाहेक उहाँ अफिसकै तनाव थेग्न नसकेर आत्महत्यासम्म पुग्नुभएको हुनसक्छ।’

इन्भेस्टमेन्ट मेगा बैंक व्यवस्थापन मेगा बैंकबाट आएका कर्मचारी विशेषगरी शाखा प्रमुखहरूलाई कर्जा दिँदा घुस खाएको भन्दै स्पष्टीकरण माग गर्ने, प्रहरी कार्यालयमा उजुरी दिनेलगायत धम्की दिने गरेको स्रोत बताउँछ।

जसका कारण केही कर्मचारीले टर्चर सहन नसकी राजीनामा दिएर बैंक छाडेर गइसकेका छन्।

क्यापिटलनेपालबाट

प्रतिक्रिया दिनुहोस्