५ जेष्ठ २०८१, शनिबार

 

बागलुङ नगरद्वारा गणेश थापाको उपचारको लागि २ लाख १३ हजार रुपैयाँ सहयोग

बागलुङ । मेरूदण्डमा जटिल प्रकारको क्यान्सर लागेपछि उपचार गरी रहनु भएका बागलुङ नगरपालिकाका पूर्वजनप्रतिनिधि गणेश बहादुर थापाको उपचारका लागि बागलुङ नगरपालिकाले २ लाख १३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बागलुङ नगरपालिका वडा नं ९ तित्याङका पूर्ववडा अध्यक्ष समेत रहेका थापाको उपचारका नगरपालिकामा संकलन भएको रकम बागलुङ नगरका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गणेश थापा उपचार सहयोग समितिका संयोजक चन्द्रबहादुर थापालाई प्रदान गर्नु भएको हो ।

सहयोग हस्तान्तरण गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख श्रेष्ठले थापाको शिघ्र स्वास्थ्यलाभको समेत कामना गर्नु भएको छ। सानो सानो सहयोग पनि उपचारमा ठुलो राहत पुग्ने हुँदा यो सहयोग अभियानमा जुट्ने सबै कर्मचारी र जनप्रतिनिधि मेयर श्रेष्ठले धन्यवाद प्रकट गरेका छन ।

उनले बागलुङ नगरपालिकाले जटिल प्रकारका रोग लागेका हरेक व्यक्तिलाई सहयोग गर्दै आएको बताए ।

थापाका लागि बागलुङ नगरपालिका कार्यालयको ५० हजार रुपैयाँ, नगरपालिका भित्रका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुबाट १ लाख ९ हजार २ सय रुपैयाँ र अन्य बाँकी रकम नगरपालिकामा कार्यरत अन्य शाखामा कार्यरत कर्मचारी र जनप्रतिनिधिबाट संकलन भएको स्वास्थ्य शाखाका सिनियर अहेव विष्णु प्रसाद पौडेलले जानकारी दिए । थापा हाल नेकपा एमाले बागलुङका उपसचिव तथा विभिन्न सामाजिक संस्थामा क्रियाशिल छन ।

एक वर्षदेखि स्वास्थ्यमा समस्या आइ उपचाररत थापाको ४ महिना अघिमात्रै काठमाण्डौ स्थित न्यूरो अस्पतालमा स्पाइनल कर्डमा र २ वटा रिब्समा भएको ट्युमरको शल्यक्रिया सम्पन्न भएको थियो । थापाको हाल भारतको चेन्नै स्थित एपोलो प्रोटोन क्यान्सर सेन्टरमा उपचार भै रहेको छ ।

थापाको स्वास्थ्यमा सुधार भएको परिवार श्रोतले जनाएको छ । उनको उपचारका लागि नेपाली एक करोड खर्च लाग्ने भएकाले आफ्नो क्षमताले नभ्याएका कारण सहयोगको अपिल गरिएको सहयोग समितिका संयोजक चन्दबहादुर थापाले जानकारी दिए । संयोजक थापाले सवैको सहयोगी मनका कारण उपचारमा सहज भएको जानकारी दिए ।

पिपुल्सखबरबाट

प्रतिक्रिया दिनुहोस्