३ कार्तिक २०८३, सोमबार

 

बागलुङ नगरले बालमैत्री नगर घोषणाका निम्ति नारायणस्थानमा गठन गर्यो बाल सञ्जाल

बागलुङ । बागलुङ नगरपालिकाले २०८१ पौष मसान्तभित्र नगरक्षेत्रलाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने तयारी गरेको छ । नगरपालिका भित्रका सवै वडा तहमा समिति र सञ्जाल गठन गरेर नगरपालिकाले पहिलो चरणको अभियानको सुरुवात गरेको छ ।

नगरपालिकाले वडा नं १४ को नारायणस्थानमा आइतबार वृहत ¥याली सहितको कार्यक्रमको आयोजना गरि वडा तहमा गठन गर्नुपर्ने वडा समिति र वा समूहको संजाल गठन गर्नुका साथै विद्यार्थी र स्थानीय जनतासँग अन्तरक्रिया गरेको छ ।नारायणस्थान भित्रका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक, संघसंस्थाहरुको उपस्थितिमा वडा तहको समिति गठनलाई पूर्णता दिईएको छ ।

समिति गठन कार्यक्रममा बोल्दे बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बालबालिका लगानीका आधार भएको हुँदा भावी समाज सभ्य, सुसंस्कृत एवं जिम्मेवार बनाउन अहिले नै उनीहरुको चौतर्फी विकासमा जोड दिनुपर्ने बताए ।

उनले बाल अधिकारको विषयमा बागलुङ नगरपालिकाले संविधानले व्यवस्था गरेको नीतिलाई कार्यान्वयन गर्ने बताए । श्रेष्ठले कानुनको प्रभावकारी कार्यान्वयनका लागि समेत बालमैत्री स्थानीय शासन निकै महत्वपूर्ण अवधारणा रहेको बताए ।

‘नगरपालिकाले बालमैत्री स्थानीय शासन अभियान सञ्चालन गर्दा स्थानीय सरोकारवालासँग समन्वय गर्दै आएको छ । नगप्रमुख श्रेष्ठले भने,—नगरपालिकाका सहजकर्ता हरेक व्यक्ति, परिवार, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य संस्था, स्थानीय संघसंस्था तथा वडा सबैमा पुगेका छन ।

सवैलाई बाल अधिकारप्रति संवेदनशील बन्न उत्प्रेरित गर्दै बालमैत्री बोली, व्यवहार र आचरणप्रति जिम्मेवार बनाउँदै लैजान्छ । यस्ता सवै सूचक पुरा गरेपछि वडा तह हुँदै नगरपालिकालाई नै बालमैत्री शासन युक्त नगरको रुपमा घोषणा गर्दछौं ।’

उनले आफू नगरप्रमुख भएपश्चातको पहिले निर्णय नै नगरलाई बालमैत्री नगरको रुपमा विकास गर्ने अठोट लिएको हुँदा यो अभियानलाई तोकिएको समयमा नै सम्पन्न गर्न सिंगो नगरपालिकाको टिम प्रतिवद्ध रहेको बताए । श्रेष्ठले संवैधानिक तथा कानुनी व्यवस्थाहरुलाई संस्थागत गर्दै बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने जिम्मेवारी स्थानीय तहको रहेको हुँदा त्यो पुरा गर्नका निम्ती सवै जिम्मेवार बन्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले वडा तहमा समिति गठन तथा छलफल कार्यक्रम बालमैत्री स्थानीय शासन घोषणाको पहिलो आधार भएको बताए । उनले बालबालिका सम्बन्धी योजना, नीति र कानुन तर्जुमा गर्दा वालवालिकाको सहभागिता वृद्धि गर्नु, वालवालिकाविरुद्ध हुने सवै प्रकारका हिंसाहरु उन्मुलन गर्ने र स्थानीय तहमा निर्माण गरिने पूर्वाधार वालमैत्री बनाइनुपर्ने, वालमैत्री शासन प्रणालीको प्रवद्र्धन गर्ने वालमैत्री स्थानीय शासनका उद्देश्यहरु रहेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रम नेपाल सरकारले ल्याएको नीति भएको हुँदा यसलाई बागलुङ नगरपालिकाले प्राथमिकतामा राखेर अगाडी बढाएको बताए ।
कार्यक्रममा बालमैत्री स्थानीय शासन घोषणाका आधारहरुका बारेमा नगरपालिकाका शिक्षा अधिकृत धनप्रसाद पोखरेलले जानकारी गराएका थिए ।

बालमैत्री स्थानीय शासनका लागि तय गरिएका वाल वचाऊका १४ सूचक, वाल संरक्षणका १० सूचक, वाल विकासका ६ सूचक र वाल सहभागिताका ६ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको पोखरेलले जानकारी दिए ।

ती सबै सूचकहरु पुरा भए पश्चात वडा तह हुँदै नगरपालिकालई पनि बालमैत्री शासन नगरको रुपमा घोषणा गरिने छ । कार्यक्रममा नगरप्रमुख श्रेष्ठ सहित उपस्थित सरोकारवालाले बालमैत्री वडा सँगै नगरपालिका घोषणाको प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए । कार्यक्रममा वालसञ्जालका सञ्जय सार्की र डार्बिन ढकालले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षतामा बालमैत्री वडा समिति गठन गरिएको छ । त्यसैगरी सदस्यहरुमा वडा सदस्यहरु सुनीता श्रेष्ठ, चन्द्रा सुनार, दिलबहादुर हरिजन, थम बहादुर सुवेदी, नारायणस्थान स्वास्थ्य चौकी प्रमुख ऋषिराम शर्मा, संघसंस्था, विद्यालय र वालसञ्जालको तर्फबाट कल्पना कार्की, कमल कुमार जिसी, सुरेन्द्र थापा, मिना कुमारी खत्री, ओमबहादुर केसी, वालमुकन्द शर्मा ढकाल, सञ्जय सार्की र स्वस्तिका ढकाल रहेका छ ।

कार्यक्रममा सञ्जय सार्कीको अध्यक्षतामा २५ सदस्यीय वडा बाल सञ्जाल गठन गरिको छ । सञ्जालको उपाध्यक्षमा स्वस्तिका ढकाल, सचिवमा डार्विन ढकाल, सहसचिवमा अनुज्ञा कँडेल र कोषाध्यक्षमा शिक्षा बस्नेत रहेका छन ।

कार्यक्रम वडा अध्यक्ष चक्रबहादुर खत्रीको अध्यक्षता, बागलुङ नगरपालिकाका महिला विकास अधिकृत सरस्वती रेग्मीको स्वागत र नारायणस्थान स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माको संचालनमा सम्पन्न भएको थियो ।

पिपुल्सखबरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung