१६ बैशाख २०८१, आईतवार

 

उद्योगी विदुषी राणाको सफल व्यवसायी बन्ने १२ सूत्र

बहुचर्चित हात्तीछाप चप्पल र गोल्डस्टार जुत्ता उत्पादन सुरु भएको पाँच दशक भइसकेको छ । अग्रणी स्वदेशी फुटवेयर्स ब्रान्ड गोल्डस्टार जुत्ता देशभित्र लोकप्रिय छँदै भारत, अस्ट्रेलिया, युरोपदेखि साउदीसम्म विभिन्न देशमा पनि निर्यात हुन्छ ।

ससुरा नुरप्रताप राणाले सुरु गरेको गोल्डस्टारलाई आन्तरिक बजारमा ‘नम्बर वान स्वदेशी ब्रान्ड’को ताज कायम राख्दै विश्वभर पुर्‍याउन बुहारी विदुषी राणा अहोरात्र खटिइरहेकी छिन् । कुनै पनि व्यवसाय सफल बनाउन र ब्रान्डलाई स्थापित गर्न कुन–कुन कुरामा ध्यान दिनुपर्छ ? राणाले नवीन अर्यालसँग सेयर गरेकी छिन् १२ सूत्रः

सूत्र १ भिजन र मिसन

कुनै पनि व्यवसाय थाल्दा स्पष्ट भिजन र मिसन तय गर्नुपर्छ । तर, यहाँ धेरैले देखासिकीमा व्यवसाय थाल्ने गरेको देखिन्छ । कसैले कुनै क्षेत्रमा राम्रो गरिरहेको देख्यो भने सबै त्यसकै पछि दौडिने चलन छ । यसले सफलताभन्दा असफलता निम्ताउन सक्छ । सबैभन्दा पहिला आफ्नो स्पष्ट दृष्टिकोण बनाउनुहोस् । अनि एउटा मिसन तय गर्नुहोस्, अनि मात्र व्यवसायमा सफलता मिल्छ ।

सूत्र २ बजार र प्रतिस्पर्धी

कुनै पनि उद्यम सुरु गर्नुअघि बजार अध्ययन गर्नुपर्छ । आफ्नो लक्षित ग्राहक र उद्योगको प्रवृत्ति बुझ्न बजारको पूर्ण अनुसन्धान गर्नुहोस् । देशको नीति कस्तो छ ? बजारको अवस्था कस्तो छ रु यदि वस्तु उत्पादन गर्दै हुनुहुन्छ भने आयातीत सामानसँग प्रतिस्पर्धा गर्न सक्नुहुन्छ कि हुँदैन ?

हामीले आफ्ना प्रतिस्पर्धी पहिचान गरेर विश्लेषण गर्नुपर्छ । बजारमा जे आवश्यक छ, जहाँ सम्भावना छ, आफ्नो दक्षता र रुचि जहाँ छ, त्यहीँ लगानी गर्नुपर्छ । हामीले करोडौँ रुपैयाँ लगानी गरी कुनै उद्यम व्यवसाय सुरु गर्दै छौँ भने केही रकम बजार अध्ययनमा खर्च गर्नुपर्छ ।

सूत्र ३ गुणस्तरीय वस्तु र सेवा

हात्तीछाप चप्पल र गोल्डस्टार जुत्ता बजारमा आएको पाँच दशक पुगिसक्यो । अहिलेसम्म बजारमा निरन्तर नम्बर वान फुटवेयर ब्रान्डका रूपमा स्थापित छ । हामीले कम्फर्टेबल, ड्युरेबल र अफर्डेबल तीन कुरालाई निकै ध्यान दियौँ । त्यसैले सबैभन्दा पहिला आफ्नो प्रोडक्ट राम्रो हुनुपर्छ ।

प्रोडक्ट राम्रो नभए बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन । मार्केटिङ र ब्रान्डिङ गर्नु भनेको बाहिरबाट सिँगारपटार गरिदिने हो । तर, जतिसुकै लेप लगाए पनि राम्रो वस्तु परेन भने ग्राहकले अर्कोपटक प्रयोग गर्दैन ।

सबैभन्दा पहिला प्रोडक्ट राम्रो बनाउनेतर्फ लाग्नुपर्छ । तैपनि, उद्यम व्यवसायमा मार्केटिङ र ब्रान्डिङको अत्यन्तै ठूलो भूमिका हुन्छ । एउटा उखानै छ नि, ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।’ तर, लङटर्म व्यवसायका लागि पनि गुणस्तरीय वस्तु तथा सेवा उपलब्ध गराउन सक्नुपर्छ ।

सूत्र ४ मिहिनेत र आत्मविश्वास

जुनसुकै क्षेत्रमा सफलता पाउन मिहिनेत सबैभन्दा जरुरत छ । मिहिनेतपछि व्यवसायमा निरन्तरता अत्यावश्क छ । कुनै समय नाफा हुन सक्छ, कुनै समय घाटा पनि हुन सक्छ । यस्तो अवस्थामा भोलिलाई सोचेर मिहिनेत गर्दै व्यवसायलाई निरन्तरता दिनेहरू मात्र सफल हुन्छन् ।

गोल्डस्टारको पाँच दशक लामो यात्रा र सफलता यसैको राज हो । उतारचढाव त हामीले पनि धेरै झेल्नुपर्‍यो । अर्को विषय व्यवसाय गर्नका लागि पूर्ण आत्मविश्वास बोकेर आउनुपर्छ । हरेस खानुहुँदैन । आत्मविश्वास नहुनेले व्यवसायमा मात्र होइन, कतै पनि सफलता पाउँदैन । म जति लडे पनि उठेर फेरि दौडिन्छु भन्ने हुनुपर्छ ।

सूत्र ५ लगनशीलता र धैर्यता

व्यवसायमा लगनशीलता र धैर्यता झनै आवश्यकता छ । स्वअनुशासित पनि हुनुपर्छ । हामीसँग लगनशीलता, धैर्यता र निरन्तरताको अलि कमी छ । कुनै पनि व्यवसायमा आजको भोलि नै फाइदा हुन्छ भन्ने हुँदैन । रातारात धनी बन्ने सपना बुनेर व्यवसायमा छिर्नु हुँदैन ।

लाभका लागि धैर्यता पनि राख्न सक्नुपर्छ । आफ्नो कामलाई भगवान् सम्झेर लगनशील भई काम गर्नुपर्छ । हरेस त खानु भएन । यसैमा मेरो भविष्य राम्रो छ भन्ने अठोट हुनुपर्छ । पछिल्लो समय युवापुस्तामा ‘यहाँ फलानो बिजनेस गरौँ, यदि चलेन भने बन्द गरेर विदेश जाउँला’ भन्ने सोच देखिन्छ । सुरुमै हरेस खाएपछि कसरी सफल भइन्छ ?

सूत्र ६ नेतृत्व र रणनीति

व्यवसायमा सफलता पाउन प्रभावकारी नेतृत्व हुनुपर्छ । व्यवसायका हरेक विङ्समा बलियो नेतृत्व विकास गर्नुपर्छ । कर्मचारीको क्षमता र दक्षता विकासका लागि तालिम दिन सकिन्छ । कर्मचारीमा सकारात्मक र उत्पादकमूलक संस्कृति विकास गरिनुपर्छ ।

स्पष्ट लक्ष्य र रणनीतिहरूका साथ व्यापार योजना बनाउन सक्नुपर्छ । बजारको अवस्थाअनुसार तुरुन्त रणनीतिक योजना बनाउन सक्ने हुनुपर्छ । बजारको मुभमेन्ट कता छ रु उपभोक्ताले के चाहिरहेका छन् ? भन्ने पहिचान गरी तुरुन्तै रणनीतिक योजना बनाएर कार्यान्वयन गर्न सक्नेहरूले चाँडै सफलता प्राप्त गर्न सक्छन् ।

सूत्र ७ लगानी र कर्जा

कुनै पनि व्यवसाय सुरु गर्दा पुँजी लगानीमा धेरै ध्यान दिनुपर्छ । सबैभन्दा पहिला आफूले सुरु गर्न लागेको उद्यम व्यवसायमा कति लगानी गर्ने भनेर योजना बनाउनुपर्छ । एकैचोटि ठूलो लगानी गर्छु भनेर हुँदैन । सानो लगानीबाट व्यवसाय सुरु गर्दा दिगोपन हुन्छ । बैंकबाट आफ्नो क्षमताभन्दा बढी कर्जा लिनुहुँदैन । कर्जा लिएपछि तिर्नु पनि पर्छ भन्ने भुल्नु हुँदैन । सरकारले कतिपय क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिइरहेको हुन्छ, त्यो जानकारी राख्नुपर्छ । कर्जामा अनुशासित हुनुपर्छ, दुरुपयोग गर्नुहुँदैन ।

सूत्र ८ स्टार्टअप र अवसर

अहिले नेपालमा पनि स्टार्टअप फस्टाउँदै छ । युवाले नयाँ बिजनेस आइडियामा धेरै काम गरिरहेको देखिन्छ । सरकारले पनि प्रोत्साहन गर्नुपर्छ । आइटी सेक्टरमा साँच्चिकै क्रान्ति आउँदै छ । सन् २०२२ मा नेपालबाट ६७ अर्बभन्दा बढीको आइटी सेवा निर्यात भएको अध्ययनले नै देखाएको छ ।

यो क्षेत्रमा अवसर धेरै छ । हामीले सही मौका क्यास गरेर अगाडि बढ्न सक्नुपर्छ । यो क्षेत्रमा लगानी पनि धेरै चाहिँदैन । फेरि स्टार्टअप संसारभर फैलिँदै छ । युवालाई भन्छु, केही नयाँ गर्नुस् । एउटाले रेस्टुरेन्ट खोल्यो भने सबैले खोल्ने होइन । थोरै लगानीबाट सुरु गरौँ । एकैपटक ठूलो लगानी गरेर रिस्क नमोलौँ ।

सूत्र ९ प्यासन र दक्षता

आफ्नो रुचि, दक्षता र सीपअनुसारको काम थाल्दा चाँडै सफल भइन्छ । आफूलाई रुचि र जानकारी नभएको ठाउँमा हात हाल्दा सोच्नुपर्छ । आफ्नो प्यासन केमा छ, त्यही काम सुरु गरौँ । प्यासन नभएको काममा १०० प्रतिशत एफोर्ड दिन सकिँदैन । यस्तै, कुनै उद्यम व्यवसाय सुरु गर्दा परिवारमा पर्याप्त छलफल गरौँ । किनभने, परिवारको सपोर्टविना सफल हुन सकिँदैन ।

सूत्र १० अनुभव र सफलता

कुनै पनि काम सुरु गर्नुभन्दा पहिला त्यसबारे अनुभव हासिल गर्नु सबैभन्दा राम्रो हुन्छ । पहिला अनुभव लिएर काम सुरु गर्दा सफलता मिल्छ । काम सिकिन्छ । कम्पनी कसरी चलाउने भन्ने थाहा हुन्छ । मार्केट थाहा हुन्छ । सम्भावना थाहा हुन्छ । त्यो भयो भने कन्फिडेन्स पनि आउँछ । त्यसैले काम थाल्नुभन्दा पहिला अनुभव हासिल गरौँ ।

सूत्र ११ ठूलो काम, सानो काम

नेपालीहरू बाहिर गएर जस्तो काम गर्न पनि तयार हुन्छन्, तर स्वदेशमा कामलाई सानो–ठूलो भनेर हेला गर्छन् । यो बिल्कुल गलत हो । कुनै पनि काम सानो–ठूलो हुँदैन । जहाँ राम्रो हुन्छ, जहाँ सम्भावना छ, जुन क्षेत्रमा आफ्नो ज्ञान छ, त्यही काम गर्ने हो । यो सानो ठूलोको सोच हटाउन सक्नुपर्छ ।

सूत्र १२ इनोभेसन एन्ड सक्सेस

आजको दुनियाँमा इनोभेसन अत्यन्तै जरुरी छ । पुरानै ढर्राबाट काम गर्नेहरू पछाडि पर्न थालिसकेका छन् । आइटी सेक्टरमा मात्र होइन, वस्तु उत्पादनमा पनि इनोभेसन अत्यन्तै जरुरी हुन्छ । इनोभेसनले वस्तु तथा सेवाको गुणस्तर त सुध्रिन्छ नै, सँगै लागत पनि घट्छ । अहिलेको प्रतिस्पर्धी बजारमा इनोभेसन गर्न नसक्नेहरू अगाडि बढ्न सक्दैनन् । जसले नयाँपन पछ्याउँदै अगाडि बढ्छ, उसैले सफलताको शिखर चुम्ने हो ।

नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्