७ जेष्ठ २०८१, सोमबार

 

प्रहरीले फोड्यो तमानखोला गाउँपालिकामा लगाइएको ताला, विपक्षीद्वारा आन्दोलनको घोषणा

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको कार्यालयमा लगाइएको ताला प्रहरीले फुटाएको छ । बागलुङ बजारमा बन्दै गरेको वीपि स्मृति भवनका लागि गाउँपालिकाले १४ लाख रकम विनियोजन गरेपछि असहमति जनाउँदै ११ जना जनप्रतिनिधिहरुले लगाएको ताला शुक्रबार प्रहरीले फुटाएको हो ।

‘शान्तिपूर्ण गरिएको विरोधलाई सत्तापक्षले वेवास्ता गरी बहुमतको दम्भ देखाउँदै १४ लाख बजेट नेपाली कांग्रेसको पार्टी भवन निर्माणको लागि विनियोजन गरेकोमा हाम्रो गम्भीर आपत्ति छ,’ वडाध्यक्ष छप्रसाद श्रीपालले भने, ‘यो निर्णय सच्चाउनका लागि दवाव स्वरुप तालाबन्दी गरेका थियौं तर प्रहरी प्रशासन लगाएर तोडिएको छ ।’

उनले पालिकामा आएको बजेट अन्यत्र ठाउँमा खर्च गर्नु जनतामाथि अन्याय भएको बताए ।

‘जनताको आँखामा छारो हाली जनताको लागि आएको बजेट कुनै पार्टी भवनका लागि विनियोजन गर्नु गलत हो’ उनले भने ।

यता, जनप्रतिनिधिले लगाएर ताला प्रहरी प्रशासन लगाएर फुटाएको भन्दै नेकपा (माओवादी केन्द्र), नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले संयुक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । आज विज्ञप्ति जारी गर्दै उनीहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेको हुन् ।

‘विरोधको कार्यक्रमपछि स्थानीय सरकार प्रमुखले राजनीतिक सहमतिको पहल गर्नुको सट्टा जिल्ला प्रशासन कार्यालयको गैरजिम्मेवारी आदेशको आधारमा प्रहरी परिचालन गरी ताला तोडेको कारण हामी थप शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य भएका छौं, ’ संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ , ‘निर्णय नसच्याएसम्म हामी निरन्तर आन्दोलनमा रहनेछौं । उक्त आन्दोनलको कार्यक्रममा कुनै अप्रिय गतिविधि हुन गएमा जिल्ला प्रशासन र स्थानीय सरकार प्रमुख स्वयम् जिम्मेवार हुनपर्नेछ ।’

माघ ४ गते बसेको गाउँसभाको बैठकबाट वीपि स्मृति भवनका लागि १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएपछि तमानखोला गाउँपालिकामा माओवादी केन्द्रबाट निर्वाचित ११ जना जनप्रतिनिधिले कार्यालयमा तालाबन्दी गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्