२२ बैशाख २०८१, शनिबार

 

बागलुङमा भुसिया कुकुरको आतंक : जोखिम मोल्दै सर्वसाधारण, कहिले सुरु गर्छ बागलुङ नगरपालिकाले कुकुर नियन्त्रण ?

बागलुङ । भुस्याहा कुकुर नियन्त्रणको पहल नहुँदा बागलुङमा स्थानीयले वर्षौंदेखि समस्या झेल्दै आएका छन् ।

रेबिज संक्रमणको खतरा

बागलुङ बजारका चोक चोकमा बस्ने भुस्याहा कुकुरका हुलले पैदल यात्रीलाई टोक्ने गरेका छन् जस्ले गर्दा रेबिज संक्रमणको खतरा पनि बढेको छ ।

कुकुरले झम्टिँदा सवारी साधन चालकसमेत दुर्घटनामा पर्ने गरेका छन् । विभिन्न सभा र बैठकमा समेत कुकुर नियन्त्रणका विषयमा व्यापक आवाज उठ्न थालेका छन् ।

दुई वर्षअघि कुकुरले मोटरसाइकललाई लखेट्दा भएको दुर्घटनामा परी एक शिक्षकको ज्यान गएको थियो ।

कुकुरको बन्ध्याकरण केहिले हुन्छ ?

व्यवस्थापन गर्ने भन्दै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले गत वर्ष चोक चोकबाट छाडा कुकुर उठाएर बन्ध्याकरण गरिदिएका थिए । स्थानीयको तीव्र गुनासोपछि कुकुरको बन्ध्याकरण गर्न दुई दिन शिविर नै चलाइएको थियो ।

भुसिया कुकुर नियन्त्रणको लागि होस्टेल सुरु गर्दैछौं : प्रमुख प्रशासकिय अधिकृत कँडेल

तर अहिले समस्या जस्ताको जस्तै छ । ‘बागलुङ बजारमा छाडा कुकुरका कारण धेरैले दुख खेप्न बाध्य भएको’ बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले बताउनु भयो ।

‘कुकुरको बन्ध्याकरण गरी संख्या घटाउनेको लागि कुकुर होस्टल निर्माण गर्न बानपा ३ बाजा खेतमा लागिरहेको छौं,’ उहाँले भन्नु भयो । ‘नियन्त्रणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङसँग छलफल भइरहेको छ,’ कँडेलले भन्नु भयो, ‘केही दिनभित्रै ठोस निर्णय गरिनेछ ।’

पैदल यात्रु जोखिममा

भुस्याहा कुकुरबाट बढीजसो पैदल यात्रु, विद्यार्थी, जेष्ठ नागरिक, मर्निङवाकमा निस्कनेहरू, अनि मोटरसाइकल चालकहरू पीडित छन् । यिनै कुकुर सवारी दुर्घटनाको कारकसमेत बनिरहेका छन् ।

भुस्याहा कुकुर नियन्त्रणका लागि प्रभावकारी विधि खोजी भइरहेको र केन्द्रीय रिफरल पशु चिकित्सालयको सहकार्यमा फागुणको पहिलो हप्ता बन्ध्याकरणको कार्यक्रम संचालन गर्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङका वरिष्ठ पशु चिकित्सक ऋषि सापकोटाले बताउनु भया ।

आक्रमक र विरामी भुसिया कुकुरको व्यवस्थापन हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ : वरिष्ठ पशु चिकित्सक सापकोटा

‘कुकुरका कारण मानिसहरु असुरक्षित भइरहेका छन्,’उहाँले भन्नु भयो, ‘छाडा कुकुर व्यवस्थापनको लागि पहिलो चरणमा आक्रमक खालको र विरामी कुकुरलाई व्यवस्थापन गर्नु हाम्रो पहिलो प्राथमिकता हुनु पर्छ उहाँको भनाई थियो ।

लामो समयदेखि यस विषयमा नागरिकले गुनासो गर्दा पनि बागलुङ नगरपालिका, वडा कार्यालय र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले यस तर्फ समयमै चासो नदिदा पैदल यात्रुलाई हिँडडुल गर्नै समस्या भएको छ ।

‘भुस्याहा कुकुर नियन्त्रणको लागि स्थानीयले माग गर्दै आएको र त्यसको लागि नगरपालिकाल कुकुर होस्टेलको मार्फत यसको समाधान गर्न लागेको’ बानपा ३ का वडा अध्यक्ष सनि केसीले नयाँ विश्वलाई बताउनु भयो ।

भुसिया कुकुरको संख्या बढ्कै बढ्दै, नागरिकको गुनासो कहिले सम्वोधन हुन्छ ?

यति मात्र होइन बजारमा दिन प्रतिदिन भुस्याहा कुकुरहरूको संख्या बढन थालेपछि बजारको बीचमा रहेको लोकतान्त्रिक चोक हुँदै दैनिक आवत जावत गर्ने सवारी साधनहरुमा समेत बाधा पुग्न थालेको छ । अहिले प्रत्येक दिन कुकुरले टोकेको गुनासो नगरपालिकामा आउने गरेको छ ।

बजारमा भुस्याहा कुकुरहरूको आतंक नियन्त्रणका लागि बागलुङ नगरपालिका, पशु सेवा कार्यालय, वडा कार्यालय र स्थानीय प्रशासनसँग स्थानीयले आग्रह नगरेका होइनन् तर अहिलेसम्म त्यसको सम्बोधन हुन सकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्