गलकोट । गलकोट नगरपालिका-७, मल्ममा व्यवसायी हर्कबहादुर थापाले रु ३० लाख मूल्य पर्ने जग्गा वडा कार्यालयलाई दान गर्नु भएको छ ।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य थापाले आफनो आमा जग कुमारी थापा र बुबा भक्त बहादुर थापाको स्मृतिमा गलकोट नगरपालिका–७ , मल्मको वडा कार्यालय भवन निर्माणका लागि मल्म, म्याले गाउँमा तीन रोपनी एक आना जग्गा दान गर्नु भएको हो ।
थापाले उक्त जग्गा वडा कार्यालयको नाममा फागुण ३ गते रजिष्ट्रेशन पास गरेर दिनु भएको वडा अध्यक्ष राजबहादुर थापाले नयाँ विश्वलाई जानकारी दिनु भयो । वडा कार्यालयको नाममा आवश्यक जग्गा प्राप्त भएको छ, यसले सेवाग्राहीले सहज ढंगले भविष्यमा सेवा लिन पाउने अध्यक्ष थापाले बताउनु भयो ।
उक्त जग्गामा निकट भविष्यमै वडा कार्यालयको भवन निर्माण हुँदैछ । हाल वडा कार्यालय साविक मल्म गाविसको भवन रहेको छ ।


















































































































































































































