१६ बैशाख २०८१, आईतवार

 

तीन सय वर्ष पुरानो ‘फागु’ गीतको संरक्षणमा जुट्यो बागलुङ समाज

काठमाडौं ।  राजाको फागुन जानैमा लाग्यो, धड्कन लाग्यो छाती हो‘
‍‍                  औंला काटी कलम बनावे। रगत के मसिया बनावे‘ यै हो।।
                  हाय हाय रगत के मसिया बनावे सखियाँ ।
                 धड्कन लाग्यो छाती हो‘
                छाला काटी काजत बनावे। विरहको चिठ्ठी लेखी भेज्यो‘यै हो
                हाय हाय विरह को चिठ्ठी लेखी भेज्यो सखियाँ
                धड्कन लाग्यो छाती हो

हरेक वर्ष फागुपूर्णिमाका अवसरमा बागलुङ बजारको नारायणचोकमा घन्कने फागु गीतलाई बागलुङ समाज कल्याण केन्द्र काठमाडौंमा आवद्ध युवाहरुले संरक्षणमा जुटेका छन्। पछिल्लो समय समाजका युवा पुराना पुस्ताको नासोको रुपमा रहेको तीन सय वर्ष पुरानो फागु गीत जोगाउनमा लागेका छन्।

फागु गीत मिरढंगाको तालमा लयबद्ध बनाउँदै गाउँदै फागुको रंगसँग रमाउँदै गाइने गीतलाई जीवन्तता दिन बागलुङं समाजका नेवार समुदायका युवायुवती जुटेका हुन्। संरक्षित यही ऐतिहासिक फागु गीतले पछिल्लो पुस्ताका युवायुवतीदेखि बुढाबूढीसम्मको ध्यान तान्दै आएको छ। मिरढंगा र झ्याली बजाउँदै पुराना पुस्ता फागु भट्टाउँछन् भने नयाँ पुस्ता ती भाका छोप्दै गाउँने कार्यले बालाजु बाईसधारा प्रत्येक वर्ष रंगिने गरेको छ।

यहाँका नेवार समुदायले परम्परागत संस्कृतिको संरक्षण गर्दै फागु पर्व भव्यवताका साथ मनाउन बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले अग्रसरता लिँदै आएको छ।नेवार समुदायमा सामूहिक भोजसहित यो गीत गाएर फागु खेलिन्छ।

पछिल्लो समय यो गीत गाउँन र बजाउन नयाँ युवा पुस्ताको आकर्षणले पर्वलाई थप उत्सहपूर्ण बनाएको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठले बताउनु भयो।

फागु गीतको ऐतिहासिक स्वरुपलाई संरक्षण गरेर नयाँ पुस्तालाई हस्तान्तरणको लागि समाजले निरन्तर प्रयास गर्दै आएको श्रेष्ठको भनाई थियो । पहिला पहिला फागु गीत गाउन महिलाहरुलाई बन्देज जस्तो थियो तर अहिलेको बदलिदो समाजका कारण महिलाहरुको सहभागिता उल्लेखनिय रुपमा वृद्धि भएको छ जुन धेरै सकरात्मक पक्ष हो ।

पुरानो गीत पुरानो भाकामा गाउँदै यसपालिको फागु पर्व उत्साहका साथ मनाउने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको बागलुङ समाजका सचिव किस्मत मणि श्रेष्ठले बताउनु भयो। पाकादेखि युवा पुस्ताले तीन सय वर्ष पुरानो फागु गीत गाउँदा फागुको छुट्टै रौनकता देखिने उहाँले बताउनु भयो।

बागलुङमा मात्र गाइने यो ऐतिहासिक गीत जस्को गीतकार अहिलेसम्म आज्ञत नै छ यस गीतलाई बागलुङबाट काठमाडौं उपत्यका गएका बागलुङ नेवारहरुले पूर्णस्थापना गर्ने प्रक्रिया सुरु भएको गायक जिद्धीराज श्रेष्ठको भनार्ई थियो । सबै समुदायका व्यक्ति एकैठाउँमा जम्मा भएर, नाच्दै, गाउँदै, रङसँग रमाउँदै यो पर्व मनाउने गरिन्छ ।

यसरी सभ्य भएर रमाइलो गरिरहँदा संस्कृतिका साथै पुराना परम्परा र लोक भाकासमेत संरक्षण भइरहेको छ।परम्परालाई संस्थागत गर्ने उद्देश्यले बागलुङ समाजको आयोजनामा काठमाडौंमा तीन सय वर्ष पुरानो फागु गीत बर्सैनि गाइँदै आएको गायक मनमोहन श्रेष्ठले जानकारी दिनु भयो।

‘यो गीतलाई लिपिबद्ध गरेका छौं। पहिला एउटा कपीमा लेखिएको अवस्थामा भेटिएको यो गीतलाई लिपिबद्ध गरेर प्रत्येक वर्ष गाउँदै आएका छौं।

पाका पुस्ताले मौखिकरूपमा गाउने गरे तापनि हराउने सम्भावना भएकाले लिपिबद्ध गरेर सुरक्षित गरिएको छ,’ गायक महेशचन्द्र प्रधानले भने, ‘होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको पछिल्लो समयमा मौलिक पहिचान दिने पुराना ‘फागु’ गीत काठमाडौं पनि बर्सेनि घन्किँदै आएको छ।’नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा पनि लिपिबद्ध गरिएको छ।

‘फागु गीतमा बलिराजा, विष्णु, महादेव, गणेश, लक्ष्मण, दशरथ, भीमसेन र इन्द्रै जो आए पनि फागुको मजा लिन्छौं, फागुको राग लिन्छौँं, गाउँछौं, भनेर भनिएको छ,’ नेपाल भाषा मंकाः खलः बागलुङका संस्थापक संयोजक प्राज्ञ प्रेम छोटाले भने, ‘महिला र पुरुषबीचको मायाप्रेम, कृष्ण र गोपिनीबीचका मायापिरतीलगायतका भाव गीतमा समावेश गरिएको छ।’

मनको भावनालाई वसन्त राग शैलीमा रंग्याउने गीत नै फागु गीत भएको उनको भनाइ छ।

राजबली के हो राजबली केहो
राजबली के द्वारे मचे होली
राजबली के हो
ऋद्धि आए, सिद्धि आए
गणेश आए त मुसा चढी के 
राम आए, लछुमन आए
दशरथ आए रथ चढी के 
मजाको फागु जानमा लाग्यो ढड्कन लाग्यो छाति 
राजबलि के हो

केही वर्षअघिसम्म सहरबजार र गाउँघरमा ‘फागु’ पूर्णिमा भनेर बोलिने रङ र आत्मीयताको पर्व अहिले होली भएसँगै परम्परागत महिमा र रौनकता हराउँदै गएकोप्रति यहाँका नेवार समुदाय चिन्तित भएपछि फागु पर्व संरक्षणमा लागिएको संस्थापक संयोजक छोटाले बताउनु भयो।

‍होलीको रौनकतामा पश्चिमा संस्कृति भित्रिएको समयमा मौलिक पहिचान दिने पुरानो फागु गीत गाउँदा यहाँका पाका पुरानादेखि युवायुवती आश्चर्यमा पर्ने गरेका छन्।

नेवारी समुदायमा प्रचलित उक्त गीत नेपाली र अन्य भाषामा लिपिबद्ध छ।बागलुङ समाजले यहाँका नेवार समुदायका हरेक संस्कृतिको संरक्षण र जगेर्नाका लागि नयाँ पुस्तान्तरणमा जोड दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्