२९ बैशाख २०८१, शनिबार

 

भक्तपुरको बिस्का जात्रा : भ्रम र यथार्थ

भक्तपुर । लिच्छविकालको उदय भएदेखि मनाइन थालिएको बिस्का जात्रा भक्तपुरमा आज आइतबारदेखि शुभारम्भ हुँदैछ । काठमाडौं उपत्यकामा मनाइने जात्राहरूभन्दा विल्कुलै पृथक एवं रोमाञ्चक यो जात्रालाई मल्लकालमा आठ दिन नौ रातसम्म लम्ब्याइएको हो ।

जसअनुसार आज जात्राको पहिलो दिन भक्तपुरको टौमढीस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा निर्माण गरिएको प्यागोडा शैलीको तीनतले भैरवनाथको रथ तानिन्छ। अजंगका ४ वटा पांग्रा जडित रथलाई अगाडि र पछाडि ४-४ वटा डोरीले तान्नु नै आजको जात्राको आकर्षण हो। यी आठ डोरीलाई अष्टमातृका शक्ति देवीको प्रतीक मानिन्छ।

३५ हात लामो एकजोडी विश्वध्वजासहित ५५ हात लामो यमसिं ढाल्दै सर्वसाधारण । रथ तान्नुअघि यसमा भैरवनाथ र बेताललाई विराजमान गराइन्छ। रथ तानेर टौमढीबाट करिब एकसय मिटर दक्षिण गःहिटीमा पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ।

तर गःहिटी पुर्‍याउनुअघि रथलाई टौमढीको उत्तर र दक्षिण क्षेत्रमा तानिनु जात्राको पहिलो दिनको विशेषता हो। यो क्रम घन्टौंसम्म चल्छ । रथ तान्दातान्दा गन्तव्यमा पुर्‍याउँदा भोलिपल्ट पनि हुनसक्छ अर्थात पहिलो दिनमै रथ गःहिटी नपुग्न पनि सक्छ।

भक्तपुरको बिस्का जात्रालाई फरक फरक व्यक्तिले फरक फरक ढंगले परिभाषा दिने तथा व्याख्या गर्ने क्रम अहिलेसम्म रोकिएको छैन । जात्राको यथार्थभन्दा भ्रमलाई अहिले पनि प्राथमिकता दिन जोडिएको छैन ।

तथ्य प्रमाण तथा इतिहासले बिस्का जात्राको यथार्थ पुष्टि गर्दा पनि यसका भ्रममा रमाउने र भ्रमकै चर्चा गरेर नथाक्ने जमात अहिले पनि छन् । आखिर जात्राका भ्रम र यथार्थ के के छन् तरु यहाँ केही भ्रम र यथार्थबारे चर्चा गरिएको छ ।

बिस्का जात्रासम्बन्धी भ्रम १

स्थानीय जनमानसमा प्राचीन भक्तपुरका एक राजा आफ्नो छोरी राजकुमारीसँग विवाह गरिदिन चाहन्छन् । विवाहपछि दरबारमा राजकुमारीसँगै सुतेका राजकुमार भोलिपल्ट बिहान मृत भेटिन्छ । यसरी धेरै राजकुमारहरूले मृत्युवरण गरेको उक्त घटना सर्वत्र फैलिन्छ ।

यो कुरा सुनेर एक सुरवीर राजकुमार उक्त राजकुमारीसँग विवाह गर्न भनी आउँछन् । राजकुमारीसँग विवाहपछि राजकुमार राती सुतेकोजस्तो गरी पल्टेर बस्छन् । यतिकैमा मस्त निद्रामा रहेकी राजकुमारीको नाकबाट दुइटा नाग निस्कन्छन् र हेर्दाहेर्दै ती नागहरू अजंग बन्छन् । जसै आफूलाई डस्न लाग्छन्, राजकुमारले आफूसँग राखेको तरवार प्रहार गरी मारिदिन्छन् ।

बिस्का जात्राको विशेष आकर्षण भैरवनाथको रथ तान्दै भक्तजन । सदाझैँ भोलिपल्ट बिहान राजकुमारको शव लिन आएका दरबारिया अजंगका नागनागिनी मारिएको अवस्थामा पाएर अचम्म मान्छन् । राजाले उक्त घटना थाहा पाएपछि खुसीले आफ्नो राजगद्दी उनै राजकुमारलाई सुम्पन्छन् ।

राजकुमारले राजालाई मर्नुअघि नागनागिनीले आफूहरूको जात्रा चलाउन भनेको कुरा जानकारी गराउँछन् र त्यही बेलादेखि ती नागनागिनीलाई अग्लो काठमा झुण्ड्याएर जात्रा गरिन्छ। यसरी नाग मारेर गरिएको जात्रा नै बिस्का जात्राको लिंगो जात्रा भएको मान्नेहरू अहिले पनि कम छैनन् । बि स्यातः (नाग मार्‍यो) अपभ्रंश भइ बिस्केट जात्रा भएको उनीहरूको तर्क रहेको छ। नेपालभाषामा ‘बि’ भनेको नाग र ‘स्यातः’ भनेको मार्‍यो हुन्छ।

भ्रम २

तत्कालीन भक्तपुरका लिच्छवी राजा शिवदेवको पालामा किराँतीहरू आक्रमण गर्न फौजसहित आए । हमला गर्न आएको थाहा पाएका राजा शिवदेवले बज्रयोगिनी देवीकहाँ पूजा चढाए । उक्त रात राजाको सपनामा बज्रयोगिनी देवी प्रकट भई आफ्ना गुरुसँग सल्लाह गर्न आकाशवाणी गरिन् ।

भोलिपल्ट राजाले आफ्ना गुरु शेखर आचाजुसँग सल्लाह गरे र गुरु आचाजुले आफू सहस्र बाघ भइ किराँतीहरूलाई धपाइपठाउने बताए । शेखर आचाजुले राजालाई मन्त्रयुक्त एक मुठ्ठी चामल दिए र पछि किराँतीहरूलाई धपाएर पठाइसकेपछि आफू बाघको रूपमा आउँदा उक्त चामलले हान्न भने ।

नभन्दै शेखर आचाजुले सहस्र बाघ भएर किराँतीहरूलाई धपाए । बाघको रूपमा आएका शेखर आचाजुमाथि राजा शिवदेवले मन्त्रयुक्त चामल फ्याँके र बाघ रूपी आचाजु मानव रूपमा आए । किराँतीहरूलाई भगाएर आफ्नो राज्य सुरक्षित गरेको खुसीयालीमा राजा शिवदेवले शेखर आचाजुलाई बाजागाजासहित ससम्मान दरबारदेखि घरसम्म पुर्‍याए ।

आफ्ना पतिलाई उक्त दिन फरक ढंगले राजकीय सम्मानसहित घर पुर्‍याएको देखेर नररूपा आश्चर्यमा परिन् । उक्त सम्मानको कारण सोध्दा आचाजु मौन बसे । नररूपाले लगातार गरेको जिद्धीसामु उनको केही सीप लागेन र घटनाबारे सविस्तार लाए ।

आफ्नो पतिबारे सबै जानकारी पाएपछि नररूपाले आचाजुलाई अजिंगर बनेको देख्ने इच्छा व्यक्त गरिन् । आचाजुले आफ्नी श्रीमतीलाई धेरै सम्झाउने प्रयत्न गरे तर केही सीप लागेन । आफ्नो भेद खोलेमा पछुतो मान्दै आचाजुले मन्त्र फुकेको एक मुठ्ठी चामल नररूपालाई दिए । श्रीमतीलाई उनले भने, ‘म अजिंगर बनेको देखिसकेपछि नडराइकन यो चामल ममाथि फ्याँक्नु । अनि म पुनः मान्छे हुन्छु ।’

आचाजु एकैछिनमा अजंगको अजिंगरमा परिणत भए । अजिंगर कहिल्यै नदेखेकी नररूपा आफ्नै सामुन्ने अजंगको अजिंगर देखेर डराइन् । अजिंगर बनेका आचाजु मन्त्र फुकेको चामल आफूलाई हान्न लगाउन नररूपातर्फ अघि बढे ।

अजिंगर आफूतर्फ बढेको देखेर नररूपा झन् डराइन् र भागिन् । अजिंगर बनेका आचाजु नररूपाको पछिपछि लागे । अजिंगर आफूलाई नै खान आएको ठानेर भागेकी नररूपाले हडबडाएर हातमा भएको चामल मुखमा हालिन् र एकैछिनमा उनी पनि अजिंगर बनिन् ।

३५ हात लामो एकजोडी विश्वध्वजासहित ५५ हात लामो यमसिं ढाल्दै सर्वसाधारण । पुनः मान्छेको रूपमा आउन आचाजु र नररूपा धेरै पुरोहित तथा तन्त्रमन्त्र जान्नेहरू ओहोरदोहोर हुने हालको योसिंखेलस्थित भद्रकाली पीठमा गएर बसे ।

धेरै दिनपछि पनि कसैले उनीहरूमाथि मन्त्र भएको चामल फ्याकेनन् । बरु डराएर परपर भए । त्यस्तै उनीहरूले हरेक दिन दुईपटक शिवदेवको राजदरबारतर्फ हेर्ने गरे तर पनि केही सीप लागेन । अन्तमा दुवैले आत्महत्या गरे ।

एकजोडा अजिङ्गर बनेका आचाजु र नररूपाको मृत्युको महिना दिनपछि शिवदेवको राज्यमा अनिकाल पर्छ । राजाले अनिकाल हटाउनेबारे आफ्ना गुरुसँग सल्लाह गर्न बोलाउन पठाउँदा शेखर आचाजुको घरमा कोही नभएको खबर पाउँछन् ।

नभन्दै आफै गएर हेर्दा घर जीर्ण, माकुराले जालो बनाइसकेको अवस्थामा पाउँछन् । उनले घरबाट अजिङ्गर हिंडेको बाटो देख्छन् । शिवदेव आफ्ना गुरु जे पनि बन्न सक्ने भएको हुँदा महिना दिनअघि योसिंखेलमा मृत भेटिएका अजिंगर र अजिंगरनी आफ्ना गुरु शेखर आचाजु र उनका श्रीमती नररूपा भएको निष्कर्षमा पुग्छन् ।

आफ्ना गुरुले राज्यको लागि गरेको योगदानको सम्मानमा देशभरका गुरु पुरोहितसँग सल्लाह गरेर शिवदेवले अजिंगर अजिंगरनीको चित्र बनाइ लामो काठमा झुण्ड्याएर जात्रा गर्छन्। उक्त जात्रा नै अहिलेको लिंगो उठाउने बिस्का जात्रा भएको तर्क गर्नेहरू पनि छन्।

लिंगो जात्रा र लिंगोमा झुण्ड्याइने विश्वध्वजालाई नागनागिनी मानिएको थप दुई भ्रम एवं दन्त्यकथा छन् । ती भ्रमहरूमा पनि स्थानीय वासिन्दालाई दुःख दिने नागनागिनीलाई मारेर उनीहरूको बेइज्जतीस्वरूप जात्रा मनाइएको उल्लेख रहेको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।

यी भ्रम दन्त्यकथाहरूले लिंगोमा झुण्ड्याइने विश्वध्वजालाई नागनागिनी मान्न भने इतिहासविद् तथा संस्कृतिविदह्रु तयार छैनन् । उक्त विश्वध्वजालाई नेपालभाषामा ‘हलिंपत्त’ भनिन्छ । विश्वध्वजा संस्कृत शब्द हो । नेपालभाषामा ‘विश्व’ भनेको ‘हलिमये’ र ‘ध्वजा’ भनेको ‘पत्त’ हो ।

यही ‘हलिंपत्त’ विश्वध्वज हो । ‘परापूर्वकालदेखि नै ‘हलिंपत्त’ एवं विश्वध्यज भनिन्दै आएकाले यो नागनागिनी होइन’, संस्कृतिकर्मी धौभडेलले जोड दिएर भन्छन्, ‘विश्वध्वजा जात्रा अपभ्रंश भएर द्रुत उच्चारण भए बिस्का जात्रा भएको हो। बि स्यातः अपभ्रंश भएर बिस्केट भएको होइन ।’

बिस्का जात्राको यथार्थ

बिस्का जात्राको प्रमुख आकर्षण भक्तपुर नगरपालिका वडा नं ५ स्थित योसिंखेलमा लामो काठ (लिंगो) उठाएर विश्वध्वजा फहराउनु हो । चैत शुक्ल मसान्तमा उभ्याइने उक्त काठको लिंगोलाई वैशाख संक्रान्तिका दिन ढालेपछि बिस्का जात्रा सम्पन्न भएको मानिन्थ्यो, जात्रा सुरु भएको प्रारम्भिक कालमा ।

लिच्छवि शासनपछि काठमाडौं उपत्यकामा शासन गर्न आएका मल्ल राजाहरूले पछि यस जात्रामा अन्य जात्राहरू थपे । पछिल्लो पटक भक्तपुरका प्रसिद्ध राजा भूपतीन्द्र मल्लले विस्तार गरेको बिस्का जात्राले आजसम्म निरन्तरता पाइरहेको संस्कृतिविद्हरूको भनाइ छ ।

आजदेखि सुरु हुने बिस्का जात्राको लागि तयारी अवस्थामा राखिएको भैरवनाथको रथ र पृष्ठभूमिमा भैरवनाथको मन्दिर ।उनीहरूका अनुसार भूपतीन्द्र मल्लले दुई दिन चल्ने बिस्का जात्रामा भक्तपुरका अष्टमातृका, भैरव, भद्रकाली तथा गणेशको जात्रा थपेर आठ दिन नौ रात लामो बनाएका थिए ।

बिस्का जात्राको ऐतिहासिकता

प्राचीन नेपाली समाज मातृसत्तात्मक समाज थियो । उक्त समाजमा शासकहरू पनि महिला नै थिए । उक्त मातृसत्तात्मक समाजमाथि विजय पाएको स्मरणमा ध्वजा फहराएर यो जात्राको सुभारम्भ गरिएको अभिमत संस्कृतिविद्हरूको रहेको छ । उनीहरूका अनुसार किराँतीहरूमाथि लिच्छविहरूले पाएको विजयको खुसीमा अहिलेको योसिंखेलमा ध्वजा फहराएर हर्षोल्लासका साथ खुसीयाली मनाएका थिए ।

बिस्का जात्राको वास्तविक नाम विश्वध्वजा जात्रा हो । यही विश्वध्वजा जात्रा उच्चारणमा भिन्नता आउँदाआउँदै अपभ्रंश भएर विश्वजात्रा हुँदै बिस्का जात्रा हुन आएको हो । संस्कृतिकर्मी धौभडेलका अनुसार गौतमी तन्त्रमा समेत विश्वजात्रा भन्ने उल्लेख गरिएको छ ।

गौतमीतन्त्रमा चैत शुल्क मसान्तमा ध्वजा फहराएर त्यसलाई भोलिपल्ट अर्थात वैशाख संक्रान्तिमा ढाल्दा शत्रुनाश हुने र दुःखकष्ट अन्त्य हुने उल्लेख छ । यही भएर बिस्का जात्रालाई शत्रुहन्ता जात्रा पनि कतै कतै भनिएको पाइने उनले जानकारी दिए।

यसप्रकार लिच्छविकालसम्म विश्वध्वजा जात्रामा करिब ५५ हात लामो काठमा विश्वध्वजा फहराएर जात्रा गर्ने चलन थियो । प्राचीन उक्त स्थानमा जंगलैजंगल भएको तथा मानव वस्ती अहिले जस्तो बाक्लो र विस्तार नभएको हुँदा टाढा टाढाका जनताले पनि देख्न सकून् भनी लामो काठमा उक्त ध्वजा फहराइएको भन्ने भनाइ पनि पाइन्छ ।

बिस्का जात्राको विस्तृतता

लिच्छवि शासनपछि आएका मल्ल राजाहरूमध्ये विश्व मल्लले विश्वध्वजा जात्रामा भैरव र भद्रकालीको जात्रा थपेको वंशावलीमा उल्लेख छ । वंशावलीअनुसार विश्व मल्लले पशुपतिको श्लेषमान्टक जंगलबाट काठ ल्याएर ठूल्ठूला पांग्रासहितको रथ बनाएर भैरव भद्रकालीको रथ जात्रा चलाएका थिए ।

विश्व मल्लपछि जगज्र्योति मल्लले भैरव भद्रकालीको जात्रा एकदिन लम्ब्याएका थिए । उनले योसिंखेलमा लिंगो ढालिसकेपछि त्यहाँ रहेको भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीमा ल्याएर रथ जुधाउने ९भैरवनाथ र भद्रकालीको समागम गराउने० जात्रा थपेका थिए ।

बिस्का जात्राको विशेष आकर्षण भैरवनाथको रथ तान्दै भक्तजन ।जगज्र्योति मल्लपछि भूपतीन्द्र मल्ले बिस्का जात्रालाई थप विस्तृत बनाए ।

नेपाल राष्ट्रिय पुस्तकालयमा भएको भाषा वंशावलीअनुसार भूपतीन्द्र मल्लले बिस्का जात्राको प्रमुख आकर्षण लिंगो उठाउने जात्रा हुनुभन्दा चार दिन अगाडि ‘द्य क्वहाँ विज्याइगु’ (देवता तल सवारी हुने) र लिंगो ढाल्ने जात्रा सम्पन्न भएको चार दिनपछि ‘द्य थाहाँ बिज्याइगु’ (देवता माथि सवारी हुने) जात्रा चलाएर आठ दिन नौ रात पुर्‍याएका थिए । यही जात्रा परम्परा हालसम्म निरन्तर चलिरहेको छ ।

बिस्काजात्रामा अष्टमातृका

भूपतीन्द्र मल्लले लिंगो ढाल्ने जात्रा सम्पन्न भएपछि गःहिटीमा भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सकिएपछि भक्तपुरमा रहेका अष्टमातृकाहरूको थप जात्रा चलाए ।

अष्टमातृकाको जात्राअन्तर्गत लिंगो जात्राअघि इन्द्रायणी देवीको त्वारेवा (पानस) जात्रा र बाराहीको तिप्वा (निगालोको मुठ्ठा बाल्ने) जात्रा सम्पन्न हुन्छन् । त्यस्तै लिंगो जात्रा बिसर्जनपछि अष्टमातृका देवीहरूमा महाकाली र महालक्ष्मीको जात्रा, बटुक भैरव र ज्याठा गणेश जात्रा, ब्रह्मायणी र माहेश्वरीको जात्रा तथा छुमा गणेशको जात्रा सम्पन्न गरिन्छन् ।

यी जात्रा सम्पन्न भएपछि लिंगो जात्रा बिसर्जन गरिएको चौथो दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण अष्टमातृका गण, भैरव र भद्रकाली, गणेशलगायतलाई सगुन चढाउने ‘द्य स्वगं बियगु’ जात्रा हुन्छ । यसबेला परम्परागत नेवारी पोशाक हाकुपतासीमा महिलाहरू माथिका सम्पूर्ण देवदेवीहरलाई पूजाआजा गर्दै आफ्नो क्षमताअनुसार प्रसाद चढाउने गर्दछन् ।

बिस्का जात्राको लागि तयारी अवस्थामा राखिएको भद्रकालीको रथ र पृष्ठभूमिमा भैरवनाथको रथ ।उक्त सम्पूर्ण जात्रा सम्पन्न भएपछि मात्र ‘द्य थाहाँ बिज्याइगु’ जात्रा हुने र उक्त जात्रा पनि सम्पन्न भएपछि बिस्का जात्राको विधिवत अन्त्य भएको मानिन्छ ।

मल्ल भूपतीन्द्र मल्लले बिस्का जात्रालाई विस्तृतमात्र गरेनन्, जात्रामा देशवासीलाई प्रत्यक्ष संलग्न गराए । उनले काष्ठकला तथा चित्रकारिताको बेजोड नमुना भैरवनाथ तथा भद्रकालीको रथ तान्न देशवासीलाई सहज र सरल बनाइदिए ।

भैरवनाथको रथ तान्न अगाडि र पछाडि चारचार वटा बलिया एवं मोटा डोरीको व्यवस्थासमेत गरिदिए । पछाडिको भन्दा अगाडिको भाग बोझिलो हुने तथा रथलाई सही बाटोमा ल्याउन गार्‍हो हुने भएको हुँदा अगाडि थप डोरीको व्यवस्था गरिएको मानिन्छ ।

लिंगो जात्रा

बिस्का जात्राको प्रमुख आकर्षण करिब ३५ हात लामो दुइटा ध्वजासहित ५५ हात लामो काठको लिंगो ठड्याइनु हो । चैत शुक्ल मसान्तमा ठड्याइने यसलाई नेपालभाषामा ‘योसिंग’ भनिन्छ । धार्मिक दृष्टिले यसलाई इन्द्र देव अर्थात स्थानीय भाषामा ‘यम सिं’ भनिन्छ । यही यम सिं शब्द खेलाएर ‘ल्योसिङ’ भन्नेहरू पनि कम छैनन् । यही ‘ल्योसिङ’ लाई वेश्यावृत्ति गर्ने आइमाईलाई समातेर जात्रा गरिएको भनेर अर्थ्याउने पनि नभएको होइन ।

त्यस्तै लिंगो र उक्त लिंगो उठाउने ठाउँलाई पुरुष तथा महिलाको जनेन्द्रीय अंगको रूपमा परिभाषित गर्नेहरू पनि छन् । तर त्यो पूर्णतया असत्य हो, जनतामा भ्रम फैलाउने कार्यमात्र हो ।

संस्कृतिकर्मी धौभडेल भन्छन्, ‘हिन्दू धर्मअनुसार कुनै पनि जात्रामा ठड्याइने काठलाई भैरवनाथ या इन्द्र देवता मान्ने प्रचलन छ । त्यसैले यथार्थभन्दा धेरै पर गएर आफूखुसी शब्दको प्रयोग गर्ने तथा कथा बुन्ने काम राम्रो होइन ।’

कतिपय विश्वध्वजा उठाउन प्रयोग हुने काठ धार्मिक विधिविधानअनुसार बोकाबाट छान्न लगाउने परम्परा भएको हुँदा छानिएको काठ अर्थात नेपालभाषामा ‘ल्योगु सि’ ९छानिएको काठ० नै कालान्तरमा ‘ल्योसिङ’ हुन आएको बताउँछन् ।

यी भ्रमहरूलाई चिर्न नसकिए पनि जात्रामा उठाइने लिंगोलाई भैरवनाथ मानेर पूजाआजा गर्ने प्रचलन भने प्राचीन कालदेखि हुँदै आएको छ ।

लिंगो उठाउनुअघि उक्त काठलाई भैरवनाथ देवता मानेर विश्वध्वजासहित सोर्‍ह संस्कारको विधिविधान पुर्‍याएर पूजा गरिन्छ । यसरी पूजा सकिसकेपछि लामा तथा मोटा आठवटा डोरीले तानेर उक्त लिंगो उठाइन्छ । लिंगो उठाउन प्रयोग गरिने आठ वटा डोरीलाई अष्टमातृकाको प्रतीक मानिन्छ ।

भक्तपुर दरवार क्षेत्रस्थित तलेजुमा रहेको एक चित्रमा आठ कुनामा अष्टमातृका देवीहरूले तानेर भैरवनाथरूपी लिंगोलाई उठाएको देखाइएको छ । यसबाट पनि के प्रस्ट हुन्छ भने लिंगो जात्रासम्बन्धी जनमानसमा रहेको भ्रम यथार्थ होइन ।

नेपालप्रेसबाट

प्रतिक्रिया दिनुहोस्