१७ बैशाख २०८१, सोमबार

 

बागलुङमा नगरकी छोरी कार्यक्रम : तीस जनाको खातामा पैसा जम्मा

बागलुङ । जिल्लाको बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई कार्यान्वयमा ल्याएको छ । आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम तथा बजेट मार्फत ल्याएको कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयमा ल्याएको हो ।

नगरपालिका भित्र जन्मिएका छोरीका नाममा पाँच हजार रुपैयाँ जम्मा गरिदिन सुरुवात गरेको छ ।

नगरपालिका भित्रका १४ वटा वडामा गत साउनदेखि जन्मिएका छोरीहरूको नाममा प्रभु बैंक लिमिटेड बागलुङ शाखामा खाता संचालन गरी सो खातामा नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिएको नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । नगरपालिकाले जम्मा गरेको रकम २० वर्ष उमेर नपुगेसम्म झिक्न पाईने छैन ।

‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेको छ, नगरप्रमुख श्रेष्ठले भने— १३ औ नगर सभाद्धारा पारित नीति तथा कार्यक्रम र बजेटमा यो कार्यक्रमका लागि आवश्यक बजेटको पनि व्यवस्थापन गरेका छौं । कार्यक्रम संचालनका निम्ति कार्यविधि पनि तयार गरेर कार्यान्वयमा गएका हौ ।

यो कार्यक्रमलाई आउँदा वर्षमा पनि निरन्तरता दिँदै जानेछौं ।’ गत साउनदेखि हालसम्मका ३० जना छोरीहरुका नाममा नगरपालिकाले नगद पाँच हजार रुपैयाँका दरले बैकमा रकम जम्मा गरिदिएको श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले नगरकी छोरी कार्यक्रमको कार्यविधिको दफा ५ मा कोषको स्थापना, दफा ६ मा कोष सञ्चालन सम्वन्धी गरेको व्यवस्था अनुसार गत श्रावण महिनादेखि यता जन्मिएका छोरीहरुको लागि मुद्धती खाता सञ्चालन गरी प्रत्येक छोरीहरुको लागि एक पटक पाँच हजार रुपैया जम्मा गर्ने प्रावधान बनाएको छ ।

सो मुद्धती खातामा परिवारका सदस्यले रकम थप गर्न चाहेमा थप गर्न सक्ने, यसरी सञ्चालन भएको मुद्धती खाताको रकम छोरी २० वर्ष नपुगेसम्म झिक्न नमिल्ने कार्यविधिमा उल्लेख गरिएको छ ।अझै पनि हाम्रो समाजमा छोरालाई भन्दा छोरीलाई गर्ने व्यवहार फरक भएको हुँदा दुबै समान हुन भन्ने सन्देश दिनका निम्ति नगरपालिकाले यो अभियान संचालन गरेको नगरप्रमुख श्रेष्ठ बताउँछन ।

‘हाम्रो गाउँ समाजमा छोरा छोरीप्रतिको विभेद न्यूनीकरण हुँदै गए पनि आंशिक रूपमा कायमै छ श्रेष्ठले भने,—‘नरपालिकाले सुरु गरेको ‘नगरकी छोरी’ कार्यक्रम छोरीलाई प्रोत्साहन र हौसला दिन बढी महत्वपुर्ण हुनेमा हामीले विश्वास गरेका छौं,नगरकी छोरीको नाममा नगरपालिकाले प्रदान गर्ने रकम जम्मा गर्नका निम्ति वडा कार्यालयबाट वडाको नागरिक खुल्ने सिफारिस, जन्मदर्ता र बाबु आमाको नागरिकता आवश्यक पर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए ।

आवश्यक कागजात पेश गरेपछि नगरपालिकाले प्रभु बैंकमा निशुल्क खाता संचालन गरी छोरीको नाममा बैंक प्रदान गर्ने उच्च व्याजदर आउने गरी नगरपालिकाले सो रकम जम्मा गर्नेछ । ‘बैंकसँग चक्रिय व्याजदरमा व्याज प्रदान गरी सम्झौता गरेका छौं, व्याजदर बढ्दा बढ्छ भने घट्दा साविककै हुने छ ।

प्रमुख प्रशासकिय अधिकृत कँडेलले भने,—‘यसमा परिवारले आफूले इच्छाएको रकम थप गर्न पाउँछन तर परिवारले थपेको रकम पनि २० वर्ष नपुगेसम्म झिक्न पाईदैन ।’ कार्यक्रमले छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गरेको कँडेल बताउँछन ।

नगरपालिकाले पहिलो छोरीको रुपमा बागलुङ नगरपालिका—२ श्रीनगर टोलका दुर्गाबहादुर क्षेत्री र मिलिमा केसीका छोरी अद्धिका क्षेत्रीको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी गरेको हो । अद्धिकासँगै नगर भित्रका ३० जना छोरीको नाममा खाता खोली पाँच हजारका दरले १५ लाख रुपैयाँ बैंकमा जम्मा गरि सकेको प्रमुख प्रशासकिय अधिकृत कँडेलले जानकारी दिए ।

नगरपालिकाले ल्याएको कार्यक्रम अति नै उपयोगी भएको अद्धिकाका बाबु दुर्गाबहादुर क्षेत्री बताउँछन । ‘छोरीको सम्मानका लागि नगरपालिकाले ल्याएको नगरकी छोरी कार्यक्रम निकै राम्रो कार्यक्रम छ क्षेत्रीले भने, —‘मैले वडा तहबाट आवश्यक सवै प्रक्रिया पुरा गरी गत भदौमा नै नगरपालिकामा यो कार्यक्रममा समावेशका लागि निवेदन दिएको थिए ।

अहिले छोरीको नाममा खाता खोली नगरपालिकाले ५ हजार राखिदियो त्यसमा मैले नगद ४ लाख थपेर फिक्स गरिदिएको छु ।’

उनले यो कार्यक्रमले समाजमा छोरा छोरीलाई हेर्ने दृष्टिकोणमा समान व्यवहार ल्याउने विश्वास गरेको बताए । क्षेत्रीले तत्काल छोरीको प्रोत्साहनका लागि भए पनिपछि गएर आर्थिक रूपमा पनि यसले सबल बनाउने र छोरीलाई उच्च शिक्षा पढाउन यसले सहयोग गर्ने बताए ।

पिपुल्सखबरबाट

प्रतिक्रिया दिनुहोस्