१७ बैशाख २०८१, सोमबार

 

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कपको उपाधि तंग्रामलाई

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले आयोजना गरेको दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप शनिबार सम्पन्न भएको छ ।

काठेखोला गाउँपालिका–२ भीमापोखराको अक्षेते बजारमा गत बधुबारदेखि सुरु भएको कपमा आयोजना गरिएको वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ तंग्रामले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ७ रेशलाई पराजित गर्दै तंग्रामले उपाधि जितेको हो ।

उपाधि विजेता तंग्राम र उपविजेता रेशले क्रमशः १ लाख र ६० हजार नगद सहिद ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो काठेखोला लोकतारा–२०८० अनिता थापा बन्नु भएको छ । फाइनल राउण्डमा सात जनाको सहभागिता रहेकोमा थापा प्रथम हुँदै नगद ३० हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

यस्तै पाँच टिमको सहभागिता रहेको ताराखेल प्रतियोगितामा ताराखोला गाउँपालिका (रातो) प्रथम भएको छ । ताराखोलाले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।

यस्तै व्याडमिन्टन प्रतियोगितामा मिन सागर गुरुङ र दुर्गाबहादुर पुनको समुह प्रथम भएको छ । उनीहरुले १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै सामुहिक नृत्य प्रतियोगितामा काठेखोला–४ तंग्राम प्रथम भएको छ । तंग्रामले २० हजार रुपैयाँ प्राप्त गर्यो ।

गजल प्रतियोगितामा विष्णु आले प्रथम हुँदै १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।यस्तै गाउँपालिकाले तीन जनालाई काठेखोला प्रतिभा सम्मान–२०८० बाट सम्मानित गरेको छ । गाउँपालिकामा जन्मेर खेलकुद, साहित्य र संगितमा योगदान दिएको भन्दै दिल शिरीष, कृष्ण प्रसाद कँडेल र हेमराज आश्रमलाई सम्मान गरिएको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताउनुभयो ।

विजेता खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, कार्यपालिका सदस्य र वडाअध्यक्षहरुले पुरस्कृत गर्नुभएको थियो ।

काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनामा प्रतियोगिता सम्पन्न भएको हो ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो कार्यक्रममा पञ्चेवाजा, भजन, यानीमाया, झाम्रे, सालैजो लगायतका झाँकी प्रदर्शनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्