बागलुङ । बागलुङको काठेखोला गाउँपालिका-१ खहरे घर भएकी दिलिसा (दिक्षा) भण्डारीको मृत्यु भएको ९ दिनपछि दाहसंस्कार गरिएको छ ।
घर र माइती पक्षको समझदारीमा बुधबार अपरान्न बागलुङ नगरपालिका-४, निर्यघाटमा दाहसंस्कार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको अध्यक्षतामा बसेको बैठकमा निष्पक्ष अनुसन्धान गर्ने र दोसीलाई कडा कारवाही गर्न सहमतिपछि दाहसंस्कार गरिएको हो ।
मृतक भण्डारीका बुवा, आमा, घर तर्फका आफन्त, जनप्रतिनीधिहरु, अधिकारकर्मी लगाएत उपस्थितिमा भएको सहमति अनुसार दाहसंस्कार गरिएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले नयाँ विश्वलाई जानकारी दिनु भयो ।
मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाउन दिएका थिएनन् । शव पोष्टमार्टम लागि पोखरा लैजानेकी बागलुङमै गर्ने भन्ने विषयमा विवाद भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालबाट दुई जना फरेन्सिक विशेषज्ञ टोली झिकाएर धौलागिरि अस्पतालमा मृत्यु भएको ४ दिनपछि पोष्टमार्टम गरिएको थियो ।
मृतकका बुवाले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले मृतकका श्रीमान, सासु, नन्द र ठुला ससुरालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले पोष्टमार्टमको प्रारम्भिक नतिजा अनुसार ‘ह्याङ्गीङ भन्ने रिपोर्ट रहेको र भिसेरा रिपोर्ट नआएसम्म अझै केही भन्न सकिँने अवस्था नरहेको भन्दै ‘झुण्डिएको वा झुण्डाईएको भन्ने विषय अनुसन्धानमै रहेको बताउनु भयो।
प्रहरीले भण्डारीको कोठाबाट दुईपन्ने लामो सुसाइट नोट समेत फेला पारेकोले सो नोटमा बाबुआमालाई सम्बोधन गर्दै माफी मागेको र आफूलाई मर्न बाध्य पार्नेहरुको नाम उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरी उपरीक्षक कँडेलका अनुसार बालिकाले मानसिक र शारीरिक तनाव सहन नसकेकै कारण आफू मर्न बाध्य भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् ।
सुसाइट नोट बालिकाले नै लेखेको हो की होइन भन्ने बारे अनुसन्धान गर्न उनले अध्ययन गर्ने विद्यामन्दिर माविको पछिल्लो उत्तरपुस्तिका र सुसाइट नोट भेरीफाईका लागि विधिविज्ञान प्रयोगशाला, काठमाडौं पठाएको छ।













































































































































































































