बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बागलुङ बसपार्कको अनावरण गरेको शिलालेख इट्टा व्यवसायी एकबहादुर केसीले तोड्फोड गर्ने धम्की दिएका छन । उनले बिहीबार फेसबुकमा स्टाट्स लेख्दै शिलालेख भत्काउन अव ढिला गर्नुहुदैन जागौ नागरिक भनेर धम्की दिएका हुन ।
गत मंगलबार बागलुङ नगरपालिका-४ उपल्लाचौरको दाबगरामा सुविधासम्पन्न बसपार्कको मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्नुभएको थियो ।
त्यसैगरि इट्टा व्यवसायी केसीले शुक्रबार एक सञ्चार माध्यममा समेत प्रतिकृया दिदै भनेका छन् ‘प्रदेशका मुख्यमन्त्री आएर उदघाटन गरेको भएर प्रदेशको मुख्यमन्त्रीलाई चुनौती थपियो भन्ने लाग्दछ, उहाँले आएर जुन रिवन काटनु भयो, शिलालेखमा आफनो नाम लेखाउनु भएको छ, त्यो नामले उहाँलाई गिज्याई रहेको छ, आम बागलुङवासीलाई आव्हान गर्दछौ हामी, शिलालेखको जुन ताम्रापत्र छ त्यसलाई हामी फुटाईदिन्छौ ।’
‘जसरी एउटा कालखण्डमा राजाको शालिक भत्काईएको थियो र राजनीतिक दलहरुले नागरिकलाई सडकमा उतारेर राजाको शिर फुटाउन लगाएका थिए । ती राजाका शालिकका शिरहरु फुटाले जस्तै जहाँ जहाँ नेताहरुले शिलालेख राखि रिवन काटेर उदघाटन गरेका ठाउँहरु छन ती सबै घन लिएर आउँछौ र फुटालि दिन्छौ’ उनले भने ।
‘शिलापत्र लेखेर आफनो नाम लेख्न जति अब्बल छौ तिमीहरु अब नागरिकहरु सचेत छन,नागरिकलाई भेडा नसम्झ बसपार्कको बिषयमा एक महिना भित्र सम्बोधन गरेनौ भने, बस छुटने अवस्था आएन भने त्यो शिलापत्र म आफनै हातले नै फुटालिदिन्छु र फोडदिन्छु’ उनले भनेका छन् ।
त्यसै गरी उनले भनेका छन् ‘गण्डकी प्रदेशको मुख्यमन्त्रीलाई मैले यहिबाट जानकारी गराउन चाहान्छु की तपाईले रिवन काटेको र तपाईको नाम उल्लेख भएको शिलापत्र एक महिनाको समय दिएको छु, चुनौतीका साथ समय दिएको छु यो बसपार्कमा एक महिना भित्र बस सञ्चालन भएन भने, बागलुङका नागरिकहरुले आफनो भागबाट १० करोड ऋण तिर्नपर्ने अवस्था सृजना भयो भने बागलुङका नागरिकले सशक्त विरोध गर्ने तयारीमा छौ ।’
यस विषयमा केसीलाई टेलिफोन सम्पर्क गर्दा ‘आफूले केहि पनि नबोल्ने’ बताउनु भयो ।

‘गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले उदघाटन गर्नु भएको बागलुङ बसपार्कको शिलालेख तोड्फोड गर्छु भनि इट्टा व्यवसायी केसीले दिएको अराजक अभिव्यक्तिले सामाजिक सद्भाव खलबलाएको छ, उनको यस्ता खालको अभिव्यक्तिले नगरवासी आतंकित भएका छन् , त्यसैले उनको गलत क्रियाकलापलाई नियन्त्रण गर्न कानुनी कारवाहीको लागि स्थानीय प्रशासनलाई आग्रह गरेको’ बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विजय यादवले ‘इट्टा व्यवसायी केसीले शिलालेख तोड्फोड गर्ने भनि दिएको सार्वजनिक धम्कीको विषयमा भोलि बस्ने जिल्ला सुरक्षा समितिको बैठकमा प्राथमिकता दिएर छलफल गरेर एउटा निर्णयमा पुग्ने’ बताउनु भयो ।
‘बसपार्कको सुरक्षाको लागि अहिले तत्काल प्रहरी गस्ती परिचालन गरिएको र आगामी दिनमा एउटा प्रहरी विटनै खडा गरेर सुरक्षा कार्य अगाडि बढाउन नगरपालिका र अन्य सरोकारवालाहरुसँग वार्ता अगाडि बढेको’ यादवले जानकारी दिनु भयो ।
‘इट्टा व्यवसायी केसीले सामाजिक सञ्जाल र एक सञ्चार माध्यम मार्फत गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले अनावरण गरेको बागलुङ बसपार्कको शिलालेख तोडफोड गर्ने भनाई प्रति हामी गम्भीर र संम्वेदनशिल भएका छौं ।’ ‘यस्ता अराजक अभिव्यक्ति दिनेलाई प्रचलित कानुन अनुसार कारवाही हुने’ जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले नयाँ विश्वलाई बताउनु भयो ।
( भिडियो साभार इलाका खबरबाट )

































































































































































































