५ कार्तिक २०८३, बुधबार

 

राजमोले नगर प्रमुख श्रेष्ठलाई बुझायो २१ बुँदे ज्ञापन पत्र

बागलुङ । राष्ट्रिय जनमोर्चा ९राजमो० बागलुङले २१ बुँदे माग राख्दै आइतबार बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठलाई ज्ञापन–पत्र बुझाएको छ ।

राजमो बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदीले नगरप्रमुख श्रेष्ठलाई ज्ञापन–पत्र बुझाए । नगर प्रमुख श्रेष्ठलाई बुझाइएको ज्ञापन–पत्रमा स्थानीय तहले तत्काल गर्नुपर्ने कामहरुको सूची उल्लेख गरिएको छ ।

त्योसँगै नगर चक्रपथ बनाउनुपर्ने, बानपा १० को दब्ल्याङ पहिरो नियन्त्रण गर्दै सहज यातायातको व्यवस्था गर्नुपर्ने, सबै वडामा बाह्रै महिना सवारी चल्ने सडक बनाउनुपर्ने लगायतको माग उल्लेख गरिएको छ ।

जनमोर्चाले आधारभूत स्वास्थ्य सेवा अनिवार्य बनाउनु पर्ने, जनप्रतिनिधिका बालबालिका सरकारी विद्यालयमा पढाउनुपर्ने, पालिकाले वेरुजु रकम घटाउनुपर्ने जस्ता माग गरेको छ ।

कृषिको व्यवसायिकीकरण बढाउन हाट बजार मार्फत किसानलाइ बजारीकरणमा साथ दिनुपर्ने, बजारमा भेटिने म्याद गुज्रेका सामान हटाउनुपर्ने र त्यस्ता सामाग्री बेच्नेलाई कारवाही गर्न ज्ञापन–पत्रमा माग गरिएको छ ।

चाडपर्वमा सुपथ मूल्य पसल मार्फत जनताको आवश्यकता पुरा गर्नुपर्ने र कुटिल उद्योगहरुको संचालन गरेर रोजगारी बढाउन माग गरिएको छ ।

जनमोर्चाले संघीय सरकार मार्फत संघीयताको खारेजीको माग गर्दै संविधान संशोधन गर्ने भए संघीयता खारेजी गर्नुपर्ने सर्त अगाडि सारेको छ ।

राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि नेपाल–भारत बीच सन् १९९० मा भएको असमान सन्धी सहित नेपाल विरुद्ध भएका असमान सन्धी सम्झौता खारेजीको माग गरेको छ ।

राजमोको ज्ञापन–पत्र बुझ्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले वेरुजु घटाउने काममा सफलता पाएको भन्दै शून्य वेरुजु नजिक लैजाने प्रतिवद्दता जनाए । विकास निर्माणमा जनताको सहभागिता बढाउने, जनस्तरबाट उठेका योजनामा प्राथमिकता दिने नगरप्रमुख श्रेष्ठको प्रतिबद्धता थियो ।

सबै पालिका तहमा ज्ञापनपत्र बुझाउने क्रममा राजमोले बागलुङका ७ पालिकामा ज्ञापन बुझाइसकेको जनाएको छ ।

ईपरिन्युजबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung