बागलुङ । बागलुङ नगरपालिकाले फोहोरलाई व्यवस्थापनका लागि ‘क्लिन बागलुङ’ अभियान सुरु गरेको छ । नगरपालिकाले फोहोरलाई तीन तहमा घरबाटै वर्गीकरण गरेर संकलन गर्न थालेको छ ।
बागलुङ बजारमा उत्पादन भएको फोहोरलाई नगरपालिकाले डेढ दशकपछि प्रशोधन र पुनःप्रयोग गर्न मिल्नेगरी क्लिन बागलुङ अभियान थालेको हो । नगरपालिकाले रु एक करोड लागतमा फोहोरोको दीर्घकालिन व्यवस्थापनका लागि अभियान सुरु गरेको हो ।
बागलुङ बजारको फोहोर हालसम्म संकलन गरेर थुपार्ने मात्रै काम भएको थियो ।
बागलुङ बजारको प्रमुख समस्याको रुपमा रहेको फोहोरलाई घरबाटै वर्गीकरण गर्ने, फोहोरलाई प्रशोधन गर्ने र जिरो वेस्ट प्रविधिबाट फोहोरलाई व्यवस्थापन गर्न बागलुङ नगरपालिकाले आइतबारदेखि ‘क्लिन बागलुङ’ अभियान शुभारम्भ गरेको छ ।
अभियानको शुभारम्भ बागलुङ बजारको ऐश्वर्य पार्कमा एभरेष्ट बैंकको सहकार्यमा निर्माण गरेको शार्वजनिक शौचालय उद्घाटन र फोहोर संकलन गर्ने बाल्टी वितरण गरेर थालिएको छ । अभियानको जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, नगर प्रमुख बसन्तकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले एकसाथ शुभारम्भ गर्नुभएको थियो ।
शुभारम्भ पश्चात समन्वय समितिका प्रमुख अमरबहादुर थापाले फाहोरलाई मोहोर बनाउने अभियानमा नगरपालिका लागेको बताउदै स्थानीयले ‘क्लिन बागलुङ’ अभियानमा साथ दिन आवश्यक रहेको बताउनुभयो ।
नगरपालिकाले रु एक करोड लागतको योजनामा ‘क्लिन बागलुङ’ अभियान थालेको हो ।
जसमध्ये बागलुङ नगरपालिका–१ मालढुङ्गामा फोहोर संकलन गर्ने र प्रशोधन गर्ने तीन वटा छुट्टा छुट्टै फोहोर संकलन गर्ने घर निर्माण गरिसकेको छ ।
बागलुङ नगरपालिकाले घरबाटै फोहोरको वर्गीकरण गर्ने र ल्याण्ड फिल्ड साइडमा फोहोर प्रशोधन गर्ने तयारीका लागि पुर्वधार निर्माण, फोहोर संकलन गर्ने बाल्टी र फोहोर उठाउने सवारीसाधनको व्यवस्थापन मिलाइएको छ ।
नगरपालिका भित्र १५ हजार बाल्टी बितरण गर्ने नगरपालिकाले जनाएको छ जस्का लागि तीन थरी रङ्गका बाल्टीको फोहोर उठाउन तीन थरी सवारीसाधननै आउनेछन् ।
कुहिने, नकुहिने र पुन प्रयोग गर्नमिल्ने फोहोरको छुट्टा छुट्टै व्यवस्थापन गर्न लागेको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
रातो बाल्टीमा नकुहीने, निलो बाल्टीमा पुन प्रयोग गर्न मिल्ने र हरियोमा कुहिने फोहोर संकलनका लागि नगरबासीलाई बाल्टी वितरणको काम अभियान अन्र्तगत सुरु गरिएको हो ।
‘क्लिन बागलुङ’ अभियान अन्तर्गत आइतबार जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापा, नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी लगायतले शार्वजनिक शौचालयको उद्घाटन गरेका थिए ।
तस्बिर:नारायण रिजाल

































































































































































































