बागलुङ। महिलाहरुको अधिकार, नेतृत्व विकास र शसक्तिकरणमा सक्रिय भूमिका निभाउनु भएकी तथा पूर्वशिक्षिका चमेली शाक्यको निधन भएको छ ।
बागलुङ नगरपालिका-३ नयाँ बजारस्थित कालिका कन्या माविकी पूर्वशिक्षिका तथा बागलुङ समाज कल्याण केन्द्र महिला समूहकी संस्थापक अध्यक्षसमेत रहेकी शाक्यको अमेरिकाको टेक्सास राज्यमा मंगलबार विहान ९ बजे निधन भएको हो ।
शाक्य कै नेतृत्वमा विसं २०६४ सालमा बागलुङ समाज कल्याण केन्द्र महिला समूहको स्थापना गरिएको थियो ।
विद्यामन्दिर माध्यमिक विद्यालयको पूर्व विद्यार्थी तथा सोहि विद्यालयमा स्थापना गरिएको श्रीमान वुद्ध कुमार शाक्य स्मृृति शिक्षा कोषका संरक्षक शाक्य ७४ वर्षकी थिइन् ।
विसं २००५ सालमा बागलुङ नगरपालिका-३ नयाँ बजार टोलमा जन्म भइ हाल काठमाडौं महानगरपालिका –१६ वनस्थलि निवासी शाक्य मोतीमान शाक्य र इन्द्रकुमारी शाक्यको कान्छी छोरी हुन् ।
महिला जागरण र शसक्तिकरणमा विशेष भूमिका खेलेकि शाक्यले आफनै नेतृत्वमा काठमाडौ महानगरपालिकाको सामाखुशीमा महिला सहयोगी सहकारी संस्था सञ्चालनमा ल्याएर महिलाहरुको आर्थिक र सामाजिक विकासमा उल्लेख्य योगदान दिएकी थिइन् ।
बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठको अनुसार उहाँले हरेक संस्था, समाजमा महिलाको उपस्थिति स्थापित गर्न र नेतृत्वमा महिलाको स्थानलाई प्रभावकारी ढंगले राख्नको लागि सुधारका थुप्रै काम गरेकी थिइन् ।
विसं २०२३ सालमा विद्यामन्दिर माविबाट एसएलसी दिएकी शाक्य अर्थशास्त्र विषयमा त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर गर्ने बागलुङकी पहिलो पुस्ताकी विद्यार्थी थिइन् ।
विसं २०३० सालमा महिला संगठनको नेतृत्व गरेर शाक्य थाइल्याण्डको राजधानी बैंककमा सम्मेलनमा भाग लिन गएकी थिइन् ।
बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले शाक्यको निधनप्रति दुःख प्रकट गरेकी छिन् ।
बागलुङ समाजको पूर्व कार्यसमिति सदस्य तथा महिला आन्दोलनको नेतृ शाक्यको निधनले समाजले दुर्लभ व्यक्तित्व गुमाएको अध्यक्ष श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।
महिलाहरुको राजनैतिक, शैक्षिक, आर्थिक, सामाजिक अधिकार प्राप्तिको आन्दोलनमा सक्रिय योगदान पुर्याएकी शाक्यको निधनको खबरले आफूलाई स्तब्ध र दुःखीत बनाएको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पूर्वअध्यक्ष सुमन शाक्यले बताउनुभयो ।
उनको योगदानलाई देश र समाजले सधै स्मरण गर्ने शाक्यले बताउनुभयो ।शाक्यकी छोरा बुहारी सिद्धार्थ शाक्य, जेनिसा बाएनकोबा र विजय शाक्य, राखि क्षेत्री छन् ।













































































































































































































