बागलुङ । बागलुङ नगरपालिका युनाइटेड सिटी अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी) एसिया प्यासिफिकको सदस्य भएको छ ।
चीनको जोजजोईमा भएको काउन्सिल एक्जिक्युटिभ बैठकबाट बागलुङ नगरपालिकाले सदस्यता प्राप्त गरेको हो ।
बैठकमा सहभागी हुनका लागि चीन पुगेका बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका छन ।
सदस्य बनेसँगै युसिएलजीसँग समन्वय र सहकार्य गरी नगरपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरिने नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालको तर्फबाट यसअघि नगरपालिका महासंघ, गाउँपालिका महासंघ, धुलिखेल नगरपालिका लगायतका केही स्थानीय तह सदस्य बनिसकेका छन भने यस वर्ष गण्डकी प्रदेशका तनहुँको व्यास नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिकाले पनि सदस्यता प्राप्त गरेका छन् ।
नगरपालिकामा लैगिंक समानता, सामाजिक समावेशिकरण र क्षमता अभिवृद्धिका कार्यक्रम संचालनका युसिएलजीसँग सहकार्यका लागि प्रस्तावना पेस गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकरी दिनुभयो ।
नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने जनाएको छ ।
सदस्यता प्राप्त गरेसँगै बागलुङ नगरपालिकालाई एसिया क्षेत्रमा जोड्ने काम भएको छ भने विभिन्न राष्ट्रका स्थानीय तहसँग पनि समन्वय र सहकार्य हुने छ ।
युसिएलजी संस्थामा एशिया प्रशान्त क्षेत्रका स्थानीय सरकारहरू सदस्यका रूपमा रहेका छन् ।
यो संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त संस्थाका रुपमा रहेको दक्षिण पूर्वी एसिया र एसिया प्रान्त क्षेत्रका स्थानीय सरकार सम्मिलित सबैभन्दा ठूलो सञ्जाल हो।
यसको प्रधान कार्यालय इन्डोनेसियाको जकार्तामा छ। स्पाकलाई स्थानीय सरकारहरुको ऐक्यबद्ध आवाजका रुपमा लिने गरिन्छ।

































































































































































































