५ कार्तिक २०८३, बुधबार

 

जैमिनीधामको महत्व बुझाउन डिपिआर तयार

बागलुङ । नगरपालिकाको नामाकरण भएको जैमिनीधामको महत्व बुझाउन नगरपालिकाले डिपिआर बनाएर काम थालेको छ ।

बागलुङको जैमिनी नगरपालिकाले प्रमुख धार्मिक गन्तव्यको रुपमा जैमिनी धामको प्रर्बद्धन मार्फत पर्यटक भित्राउन योजना थालेको छ ।

जैमिनी नगरपालिका–१ जैमिनी धाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा रहेको छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचार–प्रसारको काम क्रमश भइरहेको छ ।

ऐतिहासिक धार्मिक स्थललाई पूर्वाधार निर्माणसँगै प्रचार प्रसार मार्फत पर्यटक भित्राउन थालेको जैमिनी नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरले जैमिनीधामको महत्व बढाएको छ । राजमार्गमा गुड्ने सवारीधानमा हिडेका पर्यटकहरु जैमिनीधाम दर्शनका लाग पुग्न थालेपछि पूर्वाधार निर्माणमा समेत नगरपालिकाले जोड दिएको हो ।

प्राचिनकालमा जैमिनी ऋषिले तपस्या गरेको स्थानलाई प्रचार प्रसार संगै पूर्वाधार निर्माणमा जोड दिइएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

“धार्मिक महत्वको क्षेत्रलाई हामीले प्रचार प्रसारसँगै पूर्वाधार निर्माणमा जोड दिएका छौं, जैमिनी ऋषिको तपोभूमिलाई अहिले ध्यान केन्द्रका रुपमा विकास गर्न जग्गा समेत व्यवस्थापन गरेका छौं, दीर्घकालिन योजना अनुसार जैमिनीधामको पुननिर्माण, सभाहल, आश्रयस्थल , पदमार्ग लगायतका काम गर्न डिपिआर तयार पारेका छौं, मुख्य कुरा त नगरपालिकाको नामाकरणनै ऋषिको नामबाट भएको छ” शर्माले भन्नुभयो “चालु आर्थिक वर्षमा मात्रै रु २५ लाखको पूर्वाधारको काम गरिने छ, नगरपालिकाले जैमिनीधामलाई पालिकाको केन्द्र कुश्मिसेरा हुँदै भैरवस्थान जोड्ने पदमार्ग निर्माण गरिरहेको छ, पहिलो काम जैमिनी ऋषिको पूर्णकदको शालिक निर्माण गर्ने नगरको उद्देश्य छ ।”

कालीगण्डकीको तटीय क्षेत्रमा रहेकाले नदीको कटान जोगान नगरपालिकाले विगतका वर्षमा ठूलो लगानी गरिसकेको र अहिले करिब तीन रोपनी जग्गा व्यवस्थापन भइसकेको र अब नगरपालिकाले गण्डकी ध्यान केन्द्र निर्माण थाल्ने शर्माको भनाई छ ।

शर्माका अनुसार गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट १० लाख र पर्यटन मन्त्रालयको १५ लाखबाट ध्यान केन्द्रका लागि पूर्वाधार निर्माणको थालनी गर्ने बताउनुभयो । जैमिनी ऋषिको पूर्णकदको शालिक स्थापना गर्ने योजना दुई वर्ष भित्रै पुरा गर्ने नगरपालिकाको योजना छ ।

धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि संघीयतासँगै नगरपालिकाको नामाकरण समेत जैमिनी ऋषिको नामबाट राखिएको छ ।

ध्यानकेन्द्र संगै उद्यान र बीचमा जैमिनी ऋषिको शालिक बनाउने नगरपालिकाको योजना छिट्टै पुरा हुने नगरपालिकाको भनाई छ ।

नगरपालिकाले निर्माण गरेको जैमिनी ऋषिको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा जैमिनीधामको पुननिर्माण, शंखशिला, देव शिला र नाग शिला र जैमिनी ऋषिले तपस्या गरेको गुफा संरक्षण लगायतका पूर्वाधार निर्माण गर्ने उल्लेख गरिएको छ ।

जैमिनीधामा पूर्वाधार निर्माण गर्न डिपिआर अनुसार झण्डै रु १४ करोड खर्च लाग्ने अनुमान छ । पूर्वाधारका लागि संघीय सरकारसँग समेत पहल भइरहेको नगरपालिकाले जनाएको छ । जैमिनीधाममा व्यवसाय गर्दै आउनुभएका स्थानीय हरि नायकले कालीगण्डकी करिडोरका कारण जैमिनीधाम आउने पर्यटकहरु बढेको बताउनुभयो ।

उहाँले करिडोर पुरै कालोपत्र भएमा बुटवल हुँदै मुक्तिनाथ जाने पर्यटकहरुलाई जैमिनीधामले भुलाउन सक्ने नायकले जानकारी दिनुभयो ।

“पर्यटक भित्राउनको लागि मुख्य कुरा व्यवस्थित सडक हो, कालीगण्डकी करिडोर अहिले कालोपत्रको काम भइरहेको छ, लुम्बिनी पर्यटक मुक्तिनाथ भित्राउने मुख्य मार्गका रुपमा परिकल्पना गरिएको करिडोरको सार्थकताले जैमिनीधामलाई सहयोग पु¥याउनेछ”–नायकले भन्नुभयो ।

वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको यस स्थलको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्न नगरपालिका कस्सिएको हो । जैमिनीधामसँग जोडिएको माघेसक्रन्ती मेला यहाँको प्रसिद्ध मेला हो । अहिले उक्त मेला कुश्मिसेरामा लाग्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung