३ श्रावण २०८३, आईतवार

 

मालिकामा लैंगिक हिंसा विरुद्धको अभियान सम्पन्न

बागलुङ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बागलुङ नगरपालिका-५ मालिकामा र्याली सहित अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

लैंगिक हिंसा न्युनिकरणका लागि गठित वडा स्तरिय निगरानी समितिका संयोजक विष्णु किसानको अध्यक्षतामा संचालित कार्यक्रममा वडा अध्यक्ष हरि प्रसाद शर्मा, पूर्ववडा अध्यक्ष शिव प्रसाद सापकोटा, दलित सन्जालका अध्यक्ष टिकाराम विक, मालिका सेवा समाजका सचिव खडानन्द सापकोटा, स्वास्थ्य चौकी इन्चार्ज विलाशचन्द्र पौडेल लगायतले लैंगिक हिंसाले समाजमा पारेको प्रभावका बारेमा धारणा राख्नु भयो ।

वडा सदस्य बलराम सापकोटाले सहभागिहरुलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा वक्ताहरुले हाम्रो समाजमा महिला र किशोरीहरु लैङ्गिक हिंसाको पहिलो निसानामा पर्ने समूह भएकाले महिला सशक्तिकरणमा जोड दिदै लैङ्गिक हिंसाको जडका रुपमा रहेका हाम्रा कतिपय सामाजिक मुल्य मान्यता र लैङ्गिक असमानताहरुले महिला तथा किशोरीहरुमाथि हुने भेदभाव र हिंसालाई समाजले सहज रुपमा स्वीकार गर्ने गरेको बताए ।

लैङ्गिक हिंसा अन्तर्गत महिला र बालिकामाथि हुने हिंसाका साथै पुरुष र बालकप्रति हुने हिंसाका घटनाहरु पनि बढ्दै जानु चिन्ताको विषय भएको बताए ।

अन्तरक्रिया टोल विकास सस्थाहरु, महिला समूह, विद्यालयहरु र सहभागीहरुले महिला हिंसा विरुद्धका नारा सहित टोल टोलमा पुगेर र्याली प्रदर्शनी गरेका थिए ।

लैंगिक हिंसा न्यूनिकरणका लागि बागलुङ नगरपालिकाले नगरका १४ वटै वडाहरुमा दलित महिला सदस्यको संयोजकत्वमा निगरानी समितिहरु गठन गरी काम गरेको छ ।

नगरपालिकामा रहेको हिंसा प्रभावितहरुको सेवा केन्द्रले हिंसामा परेका महिलाहरुको लागि आश्रय सहितको सेवा, उपचार, विउपुंजी वितरण, कानुनी परामर्श, मनोविमर्श सहितका विविध प्रकारका काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung