बागलुङ । बागलुङ नगरपालिकाले कृष तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीलाई ४ बुँदे माग पत्र बुझाएको छ ।
मंगलबार जैमिनी नगरपालिका–१ कुश्मीसेरामा आयोजित माघेसक्रान्ति मेलाकोलागि बागलुङ आइपुगेका मन्त्री अधिकारीलाई बागलुङ नगरपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले चार बुँदे माग राखेका छन् ।
नगर प्रमुख श्रेष्ठले राखेको मागमा साबिक कृषि विकास कार्यालयको नाममा रहेको जग्गा बागलुङ नगरपालिकालाई उपलब्ध गराउन माग गरिएको छ ।
स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्व्था २०७४ बमोजिम खारेज भई खाली रहेको साबिक कृषि विकास कार्यालय बागलुङको नाममा दर्ता कायम रहेको वडा न २ स्थित कित्ता न ५०२ क्षेत्रफल ३–११–०–३को जग्गा र सो जग्गा भित्र रहेको संरचना पालिकालाई हस्तान्तरण गर्न माग गरिएको छ ।
त्यस कार्यालयको सम्पति दायित्व तथा बजेट स्थानीय तहमा हस्तान्तरण गर्ने प्रयोजनको लागि गठित उप–समितिको मिति २०७५-५-४ गतेको निर्णयले बागलुङ नगरपालिकालाई उपलब्ध गराउने सिफारिस गरेको थियो ।
मागको दोस्रो बुँदामा कृषि अनुसन्धान केन्द्र स्थापनको लागि सहयोगको गर्न अनुरोध गरिएको छ ।
बागलुङ नगरपालिकामा अनुसन्धान केन्द्र स्थापना गर्दा बागलुङ सहित छिमेकका ७ वटा जिल्लालाई प्रत्यक्ष प्रभाव पार्ने भन्दै सहयोग गर्न अनुरोध गरिएको छ ।
बागलुङ नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनको लागि सुन्तला, ओखर, फलफूल र तरकारी खेतिको पकेट क्षेत्र विस्तार र धान जोन लगायतका प्रतक्ष कृषिसँग जोडिएका कार्यक्रम सञ्चालनको लागि आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको छ ।
मन्त्री अधिकारीलाई बुझाइएको मागको चौथो नम्बरमा बागलुङ नगरपालिका–३ (साबिक कालिका गाविस वडा न -३) स्थित कृषि सामाग्री कम्पनी लिमिटेडको नाममा नापी दर्ता भएको जग्गा भाडामा दिने व्यवस्था मिलाउन माग गरिएको छ ।
विगत ३ दशकदेखि अलपत्र अवस्थामा रहेको कित्ता न ७१, ७३ क्षेत्रफल ३–११–०–२को जग्गाको सम्झौता अवधि सकिएकोले सुविधा सम्पन्न संरचना निर्माण गर्ने गरी भाडामा वा खरिदमा उपलब्ध गराउन माग गरिएको हो ।
मागपत्र बुझ्दै मन्त्री अधिकारीले कृषि विकास कार्यालयको नाममा रहेको जग्गा पालिकालाई हस्तान्तरण गर्ने निर्णय मन्त्रालयबाट भइसकेको बताए ।
मन्त्रालयबाट निर्णय भएपनि भूमि समस्या समाधान आयोगमा पुगेर अड्किएको बताए ।
उनले नेपालले सोचेजति आर्थिक प्रगति नगर्दा कृषि क्षेत्रमा नागरिकको अपेक्षाकृति कार्यक्रम ल्याउन नसकिएको बताए । आर्थिक संकुचनका कारण कृषि क्षेत्रमा प्रयाप्त सहयोग गर्न नसकिएको बताए ।
ईपरीन्यूजबाट



















































































































































































































