७ कार्तिक २०८३, शुक्रबार

 

बागलुङ नगरलाई बालमैत्री घोषणा गर्ने काम अन्तिम चरमा पुगेको छ : नगर प्रमुख श्रेष्ठ

बागलुङ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने काम अन्तिम चरमा पुगेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखा, गण्डकी प्रदेश परिषद र केन्द्रीय परिषद सदस्यमा नवनिर्वाचित समिति र नेपाल जेसीजको नवनिर्वाचित राष्ट्रिय कार्यकारी उपाध्यक्ष, जिल्ला शाखा अध्यक्षको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिका ५१ सूचक पूरा गरेपछि बागलुङ नगरपालिकाका १४ वडालाई बालमैत्री वडा घोषणा गरिएको र आगमी ९ गते बागलुङ बजारमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाश मान सिंहको प्रमुख आतिथ्यतामा बालमैत्री नगर घोषणा गर्ने उहाँले बताउनु भयो।

यसका लागि नगरपालिकाले दुई वर्षयता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झन्डै तीन करोड लगानी गरिसकेको छ।

सो अवसरमा श्रेष्ठले बागलुङ बजारको फोहोर व्यवस्थापनको लागि क्लिन बागलुङ अभियानको काम गरिरहेको र त्यसको लागि ल्याण्डफिल्ड साइडको काम अघि बढेको, फोहोर वर्गिकरण गर्न बजार वासीलाई चार हजार पाँच सय बाल्टिन वितरण गरिएको र करीब आठ हजार बाल्टिन वितरणको काम सुरु भएको श्रेष्ठले बताउनु भयो ।

नगरको विकासको लागि विश्व बैंकसँगको सहकार्यमा मुख्य तीन वटा सडकमा कालोपत्रेको काम भैरहेको, बजार क्षेत्रका सामुदायिक कुकुर व्यवस्थापनको लागि कुकुर होस्टेलको काम एक महिनाभित्र सम्पन्न गर्ने गरी काम अन्तिम चरणमा रहेको, बागलुङ नगरको गौरवको योजनाको रुपमा २२ वर्षदेखि सञ्चालनमा आउन नसकेको बसपार्कको नगर सभाबाट ऐनसमेत निर्माण गरी दिगो रुपमा बसपार्क संचालनमा ल्याउन लागेको उहाँको भनाई थियो ।

पचास शैर्याको मात्रै अनुमती पाएको धौलागिरि अस्पतालको स्तरउन्नती गरी १ सय वेडको सेवा दिने गरी अस्पतालको स्तरउन्नती गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष लविङ गरिरहेको साथै धौलागिरि अस्पतालमा मेडिकल कलेज सञ्चालन गर्नको लागि अवश्यक पर्ने करिव ३ सयदेखि ५ सय रोपनी जग्गा नगरपालिकाले उपलव्ध गराउने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, नेपाल जेसीजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष सौरभ श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सो अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखा, गण्डकी प्रदेश परिषद र केन्द्रीय परिषद सदस्यमा नवनिर्वाचित, नेपाल जेसीजको राष्ट्रिय कार्यकारी उपाध्यक्षमा निर्वाचित सौरभ श्रेष्ठ, बागलुङ जेसीजका अध्यक्षमा निर्वाचित सुशान्त कृष्ण श्रेष्ठलाई बधाइ ज्ञापन गरिएको थियो ।

कार्यक्रम प्रमुख कार्यकारी अधिकृत हरिदत्त कँडेलको स्वागत र सुदिप राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung