७ कार्तिक २०८३, शुक्रबार

 

उपप्रधानमन्त्री सिंहले गर्नु भयो बालमैत्री बागलुङ नगर घोषणाको उद्घाटन

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बागलुङको बालमैत्री स्थानीय शासनयुक्त बागलुङ नगरपालिका घोषणाको उद्घाटन गर्नु भएको छ ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार बागलुङ बजारको धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना गरिएको बालमैत्री नगर घोषणाको उद्घाटन गर्नु गर्दै बालबालिकाहरुको हकहितको लागि घोषणा कार्यक्रमले चेतना र जागरण फैलाएर बालबालिकाको दिगो भविष्य कसरी निर्माण गर्न सकिन्छ भन्ने बारेमा बहस सृजना गरेर सबै सरोकारवालाहरुलाई जवाफदेही बनाउने बताउनुभयो।

उपप्रधानमन्त्री सिंहले बालमैत्री अभियानले गुणस्तरीय व्यवहारिक शिक्षा र सिकाईमा बालबालिकाहरुको पहुँच पुर्याउनुको साथसाथै देशले असल नागरिक पाउने बताउनुभयो ।

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले सबै जनालाई स्वागत गर्नु हुँदै बागलुङ नगरपालिकाका सबै वडाहरुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणापछि नगर घोषणा कार्यक्रमलाई उत्सवको रुपमा मनाउन लागेको बताउनुभयो ।

बालबालिकालाई हेर्ने दृष्टिकोण, उहाँहरुलाई गरिने व्यवहार र सबै क्षेत्रमा बालबालिकाको अधिकार सुनिश्चित गर्नको लागि आजको घोषणा कार्यक्रम महत्वपूर्ण कोसे ढुंगा हुने बताउनुभयो ।

बागलुङ नगरपालिकाले बालबालिकाको समग्र विकासमा गरेका विभिन्न महत्वपूर्ण कार्यक्रमको बारेमा जानकारी दिनु हुँदै बागलुङ नगर त्यसको लागि जिम्मेवार भएर अभिभावकको भूमिका निर्वाह गरि रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभयो ।

२०७९ जेठ ७ गतेको पहिलो कार्यपालिका बैठकले बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने निर्णय गरेको थियो ।

घोषणाको उद्घाटन सत्रमा बागलुङ नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य, विज्ञान, कला, संस्कृति झल्कने प्रदर्शनी र झाँकीहरु प्रस्तुत गर्नु भएको थियो भने विभिन्न जातिय समूहहरुले सांस्कृतिक नाँच र झाँकीहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिकाका प्रशासन शाखा प्रमुख भिमसेन पन्त र महिला तथा बालबालिका शाखा प्रमुख रचना आचार्यले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung