५ कार्तिक २०८३, बुधबार

 

बडिगाड गाउँपालिकाको सार्वजनिक सुनुवाई

बागलुङ । जिल्लाको बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । शुसासन र पारदर्शिताका लागि आर्थिक वर्ष २०८१-८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

बडिगाड गाउँपालिकाको आर्थिक सहयोग तथा पत्रकार महासंघ बागलुङको सहजिकरणमा बडिगाड गाउँपालिका–१ दगातुन्डाँडामा गरिएको सार्वजनिक सुनुवाईमा अधिकांश प्रश्न खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा पशु सेवा, प्रशासनिक क्षेत्र लगाएतका क्षेत्रमा सवालहरु उठाएका छन् । कार्यक्रममा पूजिगत तर्फ गाउँपालिकाको ४० प्रतिशत प्रगति भएको बताउदै प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले धेरै योजना भुक्तानीको चरणमा रहेको जानकारी गराउनुभएको थियो ।

स्थानीय तहको सुशासन, सामाजिक उत्तरदायित्व, पारदर्शिता एवं जवाफदेहिताको लागि सो कार्यक्रमको आयोजना गरिएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । उहाँले वडा तहमै सार्वजनिक सुनुवाई गरेर जनताको गुनासो सम्बोधन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय बिर बहादुर भुजेल, प्रेमलाल सापकोटा, भिम कुमारी भुजेल, विरेन्द्र भुजेल, अनिल गिरी, टिकाराम छन्त्याल, रेम बहादुर भुजेल र बोम बहादुर थापा लगायतले तारेभिरको खानेपानी योजना अलपत्र परेको, शैक्षिक शुल्क लिएको, मोटरबाटोको भाडादर कायम गर्न माग, शहरी स्वास्थ्य क्लनिकको भवन नभएको, युवा लक्षित कार्यक्रम नआएको लगायतको विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए ।

नागरिकको सवालको जवाफ दिँदै पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले गाउँपालिकाले खानेपानी, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । उहाँले सिमित स्रोत साधनबाट एकै पटक जनताको आवश्यकता पुरा गर्न नसकिने बताउदै क्रमश सडकहरु चौडा बन्दै गएको, स्वास्थ्यचौकी भवन, वडा कार्यालय भवन, विद्यालय तथा आधारभूत अस्पताल निर्माण भएको बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष भिमसेन वनले स्थानीय सरकारको क्षेत्राधिकार भित्र पर्ने न्यायीक निरुपण गरिएको, सार्वजनिक सम्पत्ति संरक्षणको लागि प्रयत्न भैरहेको र योजनाको निरन्तर अनुगमन भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य संघम घर्तीमगरको सहजीकरण, पत्रकार प्रकाश बरालको टिप्पणी, पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सृजना पन्तले आँचारसंहिता प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम बडिगाड गाउँपालिकाका–९ का वडा अध्यक्ष कृष्ण बहादुर केसीको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung