बागलुङ । बागलुङको धार्मिक शिक्तपीठ मध्यको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा डिजिटल माध्यम मार्फत दान गर्न सकिने भएको छ ।
धार्मिक पर्यटक भित्राउदै आएको भैरवस्थान मन्दिरमा पछिल्लो भक्तजनहरुको चाप बढ्दै गएपछि प्रभु बैंकको सहकार्यमा क्यू आर कोडबाट दान गर्न सकिने व्यवस्था मिलाइएको छ । प्रभु बैंकले दुई वटा क्यूआर कोड बोर्ड हस्तान्तरण गरेको प्रभु बैंक बागलुङ शाखाका प्रमुख अर्जुन शर्माले जानकारी दिनुभयो ।
मन्दिरमा आउने भक्तजनहरुले क्यूआर कोड स्क्यानगरी डिजिटल तरिकाले दान गर्न सक्ने व्यवस्था मिलाइएको भैरवस्थानन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले जानकारी दिनुभयो ।
पछिल्लो गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै मन्दिरले मुहारै फेरेको मन्दिरमा डिजिटल मार्फत दान गर्ने व्यवस्था मिलाउदा आम्दानी बढ्ने अपेक्षा गरिएको छ ।समुन्द्री सतहदेखि एक हजार ४०० मिटरको उचाईमा रहेको भैरवस्थान मन्दिरमा पछिल्लो समय दर्शनार्थीहरुको चापमा वृद्धि हुँदै आएकाले डिजिटल माध्यमबाट दान गर्ने व्यवस्था मिलाइएको छ ।
डिजिटल मार्फत दान गर्ने व्यवस्थाले भक्तजनलाई सहज हुँने अपेक्षा गरिएको छ । तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटकमा वृद्धि भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ ।
कालभैरव मन्दिरको प्रचार प्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नती, पदमार्ग, व्यावसायिक सटर, सत्तल लगायतका पूर्वाधार थपिदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढेपछि भेटी संकलन समेत बढिरहेको ढकालको भनाई छ ।
विसं १७८० सालतिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको पाइन्छ । पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइबिच झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । मनोकांक्षापूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको संख्यामा बढ्दै गइरहेको छ ।













































































































































































































