
कक्षा कोठा लडाइँको मैदान हो
सार्वजनिक विद्यालयमा अमेरिकाको इतिहास पढाउनु आजभोलि सरकारविरोधी काम बन्न पुगेको छ । शिक्षामाथि आक्रमण चुलिँदो छ । म जस्ता शिक्षक हामीले पढाउनुपर्ने पाठ्यक्रम र विद्यार्थीले बुझ्नुपर्ने सत्यबिच कतै अड्किएका छौँ । कक्षाकोठा राजनीतिक मोर्चा बनेको छ भन्नु बढाइचढाइ नहोला । सबै मोर्चाहरूमा जस्तै यहाँ द्वन्द्व, रणनीति र सत्ताले शिक्षालाई आकार दिँदै छ ।
इतिहास वास्तवमा सम्झना हो । जनताको साझा सम्झना हो । के भएको थियो, किन र को लाभान्वित भएको थियो ? यिनै कुराको सम्झना हो । त्यसकारण, सत्तामा हुनेहरूले इतिहासलाई नियन्त्रण गर्न जोडबल लगाउँछन् । आजभोलि विद्यालयहरूमा सेन्सरसिपको हुरी आइरहेको छ । यो सांस्कृतिक युद्ध मात्र होइन ।
जनताका सङ्घर्षहरूलाई लुकाउने, कक्षाकोठालाई राजनीतिबाट पर राख्ने र प्रतिरोधका ऐतिहासिक जराहरूको मुख थुन्ने खेल पनि हो । शासकहरूले लामो समयदेखि यो खेल खेल्दै आएका छन् ।आज जे भइराखेको छ, त्यो अपवाद भने होइन । संरा अमेरिकाको रोग नै हो यो । पुँजी, जातीय उँचनीच र साम्राज्यवादी भाष्यनिर्माणको सेवा गर्न अमेरिकी राज्यले हाम्रो साझा सम्झना मेट्दै आएको छ ।
जनमत उत्पादन
आलोचनात्मक चिन्तक जन्माउनु अमेरिकी शिक्षा व्यवस्था उद्देश्य कहिल्यै थिएन । बरू आज्ञाकारी कामदार जन्माउनु नै यसको उद्देश्य थियो । सुरूदेखि नै शिक्षण व्यवस्था सामाजिक पुनरूत्पादनको हतियार थियो । सामाजिक रूपान्तरण गर्नलाई कहिल्यै पढाइएन अमेरिकामा । २० औँ शताब्दीसम्ममा (खासगरी दोस्रो विश्वयुद्धपछि) अमेरिका सरकार र कर्पोरेट घरानाहरूले पाठ्यक्रमलाई आफूअनुकूल ढाले ।
विद्यार्थीलाई शीतयुद्धकालीन पुँजीवादको वैचारिक माग अनुरूप ढाल्न तिनीहरू कम्मर कसेर लागे ।पाठ्यक्रम पुनर्लेखन गरियो । पाठ्यपुस्तकका नयाँ संस्करण निकालियो । देशभक्तिलाई प्राथमिकतामा राखियो । अमेरिका अरूभन्दा फरक र अब्बल छ भन्ने विचार घुसाइयो । खुला बजार एकदम प्राकृतिक हो भनी जोड दिइयो । वामपन्थी र श्रमजीवी इतिहासलाई पाठ्यक्रममै राखिएन ।
राखे पनि त्यो इतिहासलाई खतरनाक भडकावको रूपमा प्रस्तुत गरियो । इतिहासकार एलन शरेकरले त्यो अवधि झल्काउने रोचक घटना उल्लेख गरेका छन् । उनको भनाइ अनुसार तिनताका अमेरिकी नीतिमा प्रश्न उठाउने र समाजवादी आन्दोलनका उपलब्धिको प्रशंसा गर्ने विश्वविद्यालयका प्रोफेसरमाथि अचाक्ली निगरानी गरिन्थ्यो ।
यसलाई शैक्षिक चौकीदारी मात्र भन्न मिल्दैन । यो एक वैचारिक युद्ध थियो । भौतिक सङ्घर्ष र व्यवस्थाजन्य दमनले इतिहासको आकार तय गर्छ भनी विद्यार्थीलाई सिकाउँदा राजनीतिक र आर्थिक यथास्थितिमा खतरा उत्पन्न हुन्छ । तसर्थ, राज्यले सुधारको नाममा दमन गर्ने उपाय लगायो । आज पनि दमनको त्यो शैली जस्ताको तस्तै छ ।
म्याकार्थीवाद र ‘मुक्तिका लागि माता’
अमेरिकामा तथाकथित ‘आलोचनात्मक जाति सिद्धान्त’ विरूद्ध सरकारले आगो ओकल्दै छ । यो ‘सिद्धान्त’ को पठनपाठनमा रोक लगाउन अनेक ऐन–कानुन बन्दै छन् । यो व्यवस्थाभन्दा पर कुनै बिरानो घटना होइन । विद्यार्थीलाई के पढ्न दिने र शिक्षकलाई के पढाउन दिने भनी लामो समयदेखि तिनका पछाडि पुलिस दौडाउने खेलकै निरन्तरता हो यो ।
म्याकार्थी युगमा शिक्षकहरू नै राज्यको पहिलो सिकार बनेका थिए । हजारौँ शिक्षकविरूद्ध छानबिन गरिएको थियो । तिनलाई कामबाट बेदखल गरिएको थियो कतिपय शिक्षकलाई अमेरिकी सरकारप्रति बफादार रहने र साम्यवादको निन्दा गर्ने गरी कबुलियतनामा गराइएको थियो । सन् १९५८ मा राष्ट्रिय रक्षा शिक्षा ऐन जारी भयो ।
यसले सरकारका राजनीतिक ताबेदारहरूलाई सरकारी अनुदान उपलब्ध गरायो । अमेरिकी विद्यालयहरूमा सांस्कृतिक निगरानी झन् गाढा भयो ।अब आजभोलिका कुरा गरौँ । आज पनि उस्तै खेल छ । भाषा मात्र फेरिएको हो । सन् २०२२ मा फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले ‘वोकलाई रोक ऐन’ मा सही गरे ।
जातिवाद वा जन्मजात विशेषाधिकारले व्यक्तिमा ‘दोषीभाव, सन्ताप वा असहजता’ महसुस गराउँछ भने त्यस्तो विषय पढाउन नपाइने प्रावधान लागु भयो । सो ‘ऐन’ ले ती भावनाको स्पष्ट किटान गरेको छैन । विषयवस्तु अस्पष्ट हुनाले शिक्षकहरू झन् डराउनुपर्ने स्थिति आयो । दण्ड भोग्नुपर्ला भनेर शिक्षकहरू सकेसम्म बचेर बोल्न थाले । आत्म–सेन्सरसिप लागु गर्न बाध्य भए ।
ऐन–कानुनको प्रहार एकातिर थियो । अर्कोतिर अमेरिकाका रूढीवादी अधिकारीहरूले अभिभावक सङ्घलाई पनि हातमा लिए । उनीहरूले ‘मुक्तिका लागि माता’ जस्ता संस्था खडा गरे । यी संस्थामा आबद्ध अभिभावकहरू विद्यालयका बोर्ड बैठकमा कड्केर बोल्न थाले । तिनले जाति (नश्ल), लिङ्क र यौनिकताको विषय उल्लेख भएका पुस्तकमा प्रतिबन्ध लगाउनुपर्ने माग राखे ।
सन् २०२२–२३ को शैक्षिक सत्रमा मात्र विद्यालयका पुस्तकालयबाट ३३ सय पुस्तक हटाइयो । ‘बिलभेड’ र ‘द ब्लुएस्ट आइ’ जस्ता टोनी मोरिसनका कालजयी कृतिलाई पनि यसरी नै हटाइयो । यी उपन्यासमा काला जातिका केटीहरूको अवस्था र व्यवस्थाजन्य हिंसालाई मूल विषयवस्तु बनाइएको छ ।
शिक्षामाथि प्रहारको सिलसिला झन् सघन बन्दै छ । यही क्रममा फ्लोरिडाले ‘गे नभन’ ऐन ल्यायो । यो कानुनले कुनै पनि कक्षामा यौनिकता र जातीय पहिचानबारे कुराकानी गर्न नपाइने प्रावधान ल्यायो । ‘एलजिबिटिक्यू’ को इतिहास यसै पनि पाठ्यक्रममा थोरै मात्र समावेश गरिन्थ्यो । ‘गे नभन’ कानुनले त्यसलाई पाठ्यक्रमबाट मेटिसक्यो भन्दा हुन्छ ।
पाठ्यक्रम नै प्रचारबाजी
प्रतिक्रियावादी नीति ल्याउनमा अमेरिकाको फ्लोरिडा राज्यले सबैलाई उछिनेको छ । ‘वोकलाई रोक ऐन’ र ‘गे नभन’ बाहिर देखिने कानुनमात्र हुन् । सन् २०२३ जुलाईमा फ्लोरिडाको शिक्षा विभागले अफ्रिकी–अमेरिकी इतिहासको नयाँ मानक खडा ग¥यो । त्यसमा ‘दासहरूले कसरी जीवनोपयोगी सिपहरू सिके’ भनी लेख्न निर्देशन दिइएको थियो ।
यसको छाप पछि निमावि तहको सामाजिक शिक्षाको पाठ्यपुस्तकमा देखियो । अब बालबच्चालाई ‘दासप्रथाले सिप सिक्ने तालिमको काम गरेको हुनसक्छ’ भनी सिकाउन थालियो ।यो पश्चगमन अपवाद होइन ।
वास्तवमा यो एउटा परीक्षण हो । यसमा ’दासहरू खुसी थिए’ भन्ने पुरानो मिथकको कुरूप झल्को पाइन्छ । उहिले–उहिले दासप्रथाका पक्षपातीहरू मान्छेलाई कमारो बनाउने कुकर्मलाई यही तर्क दिएर ढाकछोप गर्थे । यो विचारधारालाई एक अर्को तर्कसँग दाँज्न मिल्छ । ‘कारागारमा कैदीहरूले उपयोगी सिकर्मी काम सिक्छन्’ भनिन्छ ।
यस्ता कूतर्क गरेर दासलाई सिक्रीले बाँधिन्थ्यो, तिनलाई कोर्रा हानिन्थ्यो वा तिनीहरू कहिल्यै मुक्त हुन पाउँथेनन् भन्ने तथ्यमाथि पर्दा हालिन्छ ।फ्लोरिडाले बनाएको मानकमा अर्को उर्दी पनि छ । त्यसमा विद्यार्थीलाई पुनः संरचनाको अवधि ९१८६५–७७० मा ‘अफ्रिकी मूलका अमेरिकीहरूले मच्चाएको हिंसा’ बारे पढाउन निर्देशन दिइएको छ ।
तर, गोरा अमेरिकीहरूले मच्चाएको हिंसालाई पाठ्यक्रमबाट पूरै हटाइएको छ । गोराहरूले खुलेआम काला अमेरिकीहरूको हत्या गरेको र ठाउँठाउँमा काला अमेरिकीको नरसंहार मच्चाएको विषय पनि अहिले पाठ्यक्रममा छैन । अमेरिकी गृहयुद्ध ९१८६१–६५० पछि यस्ता हत्याकाण्डको बिगबिगी थियो ।
फ्लोरिडा मोडल खतरनाक हुनुको अर्को कारण पनि छ । यो मोडलको आकार र महत्वाकाङ्क्षा निकै ठुलो छ । फ्लोरिडाका गभर्नर डिसान्टिस आफ्नो नीति अन्य राज्यमा पनि लागु गराउन सक्रिय छन् । रिपब्लिकन पार्टीले शासन गरेका अन्य राज्यलाई फ्लोरिडाको जस्तै पाठ्यक्रम लागू गर्न उक्साउँदै छन् ।
विभिन्न विषयमा प्रतिबन्ध लगाउन र शिक्षामा खुफिया निगरानी बढाउन डिसान्टिसले अन्य राज्यमा कुरा चलाएका छन् । फ्लोरिडा अहिले विचारधाराको प्रयोगशाला बनेको छ । शैक्षिक अधिनायकवादको नयाँ प्रयोग हुँदै छ त्यहाँ । यो तानाशाहीमा शिक्षकलाई दण्ड दिइन्छ, सीमान्तकृत पहिचानलाई मेटिन्छ र विद्यार्थीलाई इतिहास बिर्सिन तालिम दिइन्छ ।
पाठ्यक्रममा सेन्सरसिप
ऐतिहासिक सम्झनाको लडाइँमा सबैभन्दा शक्तिशाली मैदान पाठ्यपुस्तक उद्योग हो । यो युद्धमैदानलाई धेरै विद्वानले बेवास्ता गर्दै आएका छन् । सिद्धान्ततः पाठ्यपुस्तकमा विज्ञ इतिहासकारहरूको सहमति झल्किएको हुन्छ भनिन्छ । तर, व्यवहार उल्टो छ । पाठ्यपुस्तक लेख्ने र सम्पादन गर्ने समितिहरू सत्यप्रति नभई बजारप्रति निष्ठावान हुन्छन् ।
पियरसन र म्याकग्र–हिलजस्ता अमेरिकाका प्रमुख प्रकाशन गृहले अमेरिकी इतिहासको एउटै राष्ट्रिय स्तरको पुस्तक छाप्दैनन् । यसको सट्टा तिनले इतिहासका राज्यविशेष संस्करण निकाल्छन् । जस्तो, अमेरिकी इतिहासका क्यालिफोर्निया संस्करण, टेक्सास संस्करण, फ्लोरिडा संस्करण पढ्न पाइन्छ ।
राज्यको शिक्षा बोर्डको विचारधारात्मक र राजनीतिक मागअनुरूप ती संस्करणलाई सावधानीपूर्वक सम्पादन गरिन्छ । टेक्ससमा राज्यको शिक्षा बोर्डले विशेष नियम बनाएको छ । त्यो नियम अनुसार एटलान्टिक महासागर वारिपारि हुने दास व्यापारलाई ‘एटलान्टिक महासागरको त्रिकोणीय व्यापार’ भन्नुपर्छ भने पुँजीवादलाई ‘धन उब्जाउने विश्वकै महानतम् व्यवस्था’ भनी प्रशंसा गर्नुपर्छ ।
क्यालिफोर्नियाका पाठ्यपुस्तकमा सिजर चाभेजको बारेमा पढाइ त हुन्छ तर उनको सङ्घर्षलाई वर्गसङ्घर्षको रूपमा प्रस्तुत गरिन्न । समकालीन मजदुर आन्दोलनबारे ती पुस्तकमा पटक्कै उल्लेख हुन्न । फ्लोरिडा राज्यको मान्यता पाउन आजभोलि शैक्षिक सामग्रीहरूबाट ‘व्यवस्थाजन्य जातिवाद’, ‘गोरा विशेषाधिकार’ र ‘लैङ्गिक पहिचान’ जस्ता शब्दावली हटाउनुपर्छ ।
राज्य–राज्यबिचको यो फाटोको कारण फरक शिक्षाशास्त्र होइन । बरू नाफा हो । पाठ्यपुस्तकमा लाखौँ डलरको ठेक्कापट्टा चल्छ । नाफाका भोगीहरूको लर्को लागेको हुन्छ । प्रकाशकहरू राजनीतिक रूपमा दमनकारी र अति रूढीवादी राज्य सरकारलाई रिझाउन होडबाजी गर्छन् । यो प्रतिस्पर्धाबाट जिज्ञासा र प्रमाणमा आधारित शिक्षा व्यवस्थाको जन्म हुन्न ।
बरू, ढाकछोपे इतिहासको बजार लाग्छ । यो बजारमा विद्यार्थीले बौद्धिक दृढताको जगमा बनेको पुस्तक पाउँदैनन् । बरू शिक्षा बोर्डका मुठ्ठीभर पदाधिकारीलाई खुसी पार्ने पुस्तक पाउँछन् ।पुँजीवादले यसैगरी काम गर्छ । पाठ्यक्रम बिक्रीयोग्य वस्तु बनेको छ । यसको अर्थ ऐतिहासिक सम्झनालाई नाफाको नियत राखी काँटछाँट गरिन्छ ।
असमानता, साम्राज्य र प्रतिरोधबारे आलोचनात्मक सोच राख्न विद्यार्थीलाई झक्झक्याउने पाठ्यसामग्री हराइसके । त्यसको सट्टामा प्रकाशकहरूले सूचनाको जामा लगाइएका विचारधारा छाप्दै छन् । पाठ्यपुस्तक उत्पादन बनेका छन् । सत्य कानुनी दायित्व बनेको छ ।
टेक्सस र फ्लोरिडाजस्ता राज्यले ठुलो सङ्ख्यामा पाठ्यपुस्तक खरिद गर्छन् ।
त्यसैले तिनले अमेरिकी विद्यालय शिक्षाको राष्ट्रिय मानक तय गर्छन् । साना राज्यहरूले लागत घटाउनका लागि प्रायः यिनै ठुला खरिदकर्ताबाट पाठ्यपुस्तकका विषयवस्तु लिन्छन् । खासमा दुईचार राज्यमा चलिरहेको चरम प्रतिक्रियावादी राजनीतिको छाप अहिले समग्र अमेरिकाको पाठ्यक्रममा परेको छ ।यसलाई शैक्षिक सेन्सरसिप मात्र भन्न मिल्दैन । वास्तवमा यो ज्ञानको निजीकरण हो ।
निगरानीमुनि पठनपाठन
आज शिक्षकहरू राज्यको नरम निगरानीमुनि पढाउँदै छन् । प्रशासकहरू लेसन प्लानमा निगरानी गर्छन् । अभिभावकहरूले कक्षाकोठामा हुने छलफलको भिडियो खिच्छन् । रूढीवादी सङ्घसङ्गठनहरूले विचारधारात्मक पूर्वाग्रह भएरनभएको ‘प्रमाण’ खोज्न सामाजिक सञ्जालमा गरिने पोस्टहरू केलाउँछन् ।
‘ब्ल्याक लात्स म्याटर’ का झन्डा देखाएकोमा शिक्षकहरू निकालामा परेका छन् । ‘अत्याचार’ शब्द प्रयोग गरेकोमा शिक्षक निष्कासित भएका छन् । ‘तेस्रो लिङ्गी विद्यार्थी छन्’ भनेकै भरमा शिक्षकले जागिर गुमाउनुपरेको छ ।मानक परीक्षा प्रणाली र लिखित पाठ्यक्रमले गर्दा शिक्षाशास्त्रीय स्वतन्त्रता अझ खुम्चिएको छ ।
सन् २०२१ मा प्रकाशित ‘रान्ड कर्पोरेसन’ को एक प्रतिवेदनमा रोचक तथ्याङ्क आयो । अमेरिकाका ६० प्रतिशत शिक्षकले ‘विवादित अध्याय’ छल्न दबाब महसुस गर्दा रहेछन् । जब कि ती अध्यायलाई राज्यले आधिकारिक रूपमै मान्यता दिएका हुन्छन् ।यो दमन सेन्सरसिपबाट मात्र आउँदैन । बरू पेशागत, कानुनी वा वित्तीय अनुशासनको स्थायी डरबाट यो दमन जन्मिन्छ ।
जनताले अतीत सम्झिँदा सत्ता तर्सिन्छ
ऐतिहासिक सत्यबाट सत्ता किन यतिबिधि तर्सिन्छ रु किनभने, भविष्य बदल्ने दिशामा इतिहासको बुझाइ पहिलो पाइला हो । दासप्रथा अमेरिकी पुँजीवादको गौण पक्ष नभई मूल जग थियो । मजदुर युनियनहरू रगत र विध्वंशबाट जन्मेको थियो ।
काला अमेरिकीलाई खुलेआम झुन्ड्याइने इतिहासलाई आधुनिक जेल व्यवस्थासँग जोड्न मिल्छ । कक्षामा यी यावत पाठ पढेपछि जुनसुकै विद्यार्थीमा बदलाव आउँछ । इतिहासको यो ज्ञानले उसको दृष्टिकोण प्रस्ट बन्छ ।आजका दमनकारीहरूले यहीनिर काम गर्दै छन् । उनीहरू आउँदो पुस्ता इतिहासबारे प्रस्ट नहोस् भनेर उनीहरूले हुनेरनहुने सबथोक गर्दै छन् ।
कक्षाकोठामा प्रतिरोध स् एक सजीव परम्परा
स्थिति जतिसुकै खराब भए पनि शिक्षकहरूले प्रतिरोध गर्दै छन् । देशैभरि शिक्षकहरूले ‘प्रतिबन्धित पुस्तक क्लब’ नामक अभियान चलाइरहेका छन् । शिक्षकहरूले भूमिगत पाठ्यक्रम आदानप्रदान गर्दै छन् । एकअर्कालाई सहायता गर्न उनीहरूले ऐँचोपैँचो सञ्जाल चलाइरहेका छन् । कतिपय शिक्षकले आफ्ना कक्षाकोठालाई मुक्ति क्षेत्रमा फेरेका छन् ।
उनीहरूले कक्षामा (हावर्ड जीनलिखित) ‘संरा अमेरिकाको जन–इतिहास’ पुस्तक पढाउँदै छन् । विद्यार्थीलाई जातीय विभेदबारे बनाइएको वृत्तचित्र ‘ते¥हौँ’ देखाउँदै छन् । भित्री अमेरिकामा सन् १९३० को दशकमा गरिएको माटोको अति–दोहन र आजका जलवायुपीडित शरणार्थीबिच रहेको सिधा सम्बन्धबारे बताउँदै छन् ।
शिक्षकहरूले प्रतिरोध सङ्घर्षको लामो इतिहास खोतल्छन् । पुनःसंरचनाको अवधिमा गोराहरूको अत्याचारबाट मुक्त भएका जनताले मृत्युको नाकैमुनि अनेक पाठशाला खेलेका थिए । जिम क्रोको घटना हुँदा काला शिक्षकहरूले विद्यार्थीहरूलाई सही इतिहास पढाउनका लागि ‘गोप्य पाठ्यक्रम’ तयार पारेका थिए । गोरामुखी विद्यालय बोर्डको निगरानीमुनि यी सबै काम हुँदै छन् ।
हामी जे पढाउँछौँ, त्यसकै लागि सङ्घर्ष गर्छौँ
कक्षाकोठा तटस्थ हुँदैन । कहिल्यै थिएन पनि । कि यो शोषण–दमनको औजार हुन्छ, कि सम्भावना बनाउने थलो हुन्छ । म शिक्षक हुँ । त्यसैले विद्यार्थीलाई थुन्न बनाइएको जाल ९प्रणाली० भित्र म तिनलाई पूर्णतः मुक्त पार्न सक्दिन । तर, म तिनलाई जे भइरहेको छ, त्यो जान्ने भाषा दिन सक्छु । र, दिन सक्छु हिम्मत । एउटा सुन्दर संसारको कल्पना गर्ने हिम्मत । यो कुरामा प्रस्ट छु ।
इमादारीपूर्वक पढाउनु नै लड्नु हो । र, यो लडाइँ दिनदिनै चल्छ । देशैभरि प्रत्येक कक्षाकोठामा चल्छ । शासकहरूको निगरानीमुनि चल्छ । तिनको धम्कीसामु लडाइँ चल्छ । कहिल्यै शान्त हुन्न ।
जो कोलमन अमेरिकाको फ्लोरिडा राज्यमा पढाउने इतिहासका गुरू हुन्, समाजवादी शिक्षक हुन् र हुन् एक लेखक ।उनले दर्शनशास्त्रमा बिए पढेका छन् भने इतिहास विषयमा एमए पढेका छन् । उनका रचनाहरू इतिहासको सम्झना र समकालीन राजनीतिक सङ्घर्षमा केन्द्रित हुँदै आएका छन् । उनी कुनै पनि सङ्घर्षलाई त्यसका ऐतिहासिक जराहरूसँग जोड्न सिपालु छन् ।
मजदुरअनलाइनबाट